birat ribon

त्यो दृश्यले ल्याएको नतिजा : जसले भर्दै छ मुसहर बालबालिकाको भोको पेट

विद्यालय जानै नमान्ने बच्चा अहिले समयअगावै पुग्छन्

Neuro
त्यो दृश्यले ल्याएको नतिजा : जसले भर्दै छ मुसहर बालबालिकाको भोको पेटविद्यालय जानै नमान्ने बच्चा अहिले समयअगावै पुग्छन्

काठमाडौं । सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका–३ मिर्जापुरका मुसहर समुदायको गरिबीको आँकलन जोकोहीले गर्न सक्छन्  । तराईबासी समुदायमध्ये बढी पिछडिएकोमा पर्छ डोम–मुसहर समुदाय । पहिलो कुरा गरिबी, त्यही गरिबीका कारण शिक्षाको ज्योतिबाट वञ्चित हुँदाको पीडा । गरिबीका कारण खान लाउनकै समस्या, त्यसमाथि शिक्षा अभावमा सरसफाइ, स्वास्थ्य चेतना यो समुदायका लागि दूरको कुरा । यसबाटै अनुमान लगाउन सकिन्छ कि– यहाँको अवस्था कति विकराल छ भनेर ।

भोको पेट पाल्न र आङ ढाक्नकै लागि यो समुदायका मानिस साहु–महाजनको घरमा काम गर्ने, ज्याला मजदुरी गर्नैपर्ने बाध्यता छ । सरकारले अल्पसंख्यक र पिछडिएको समुदायका लागि विभिन्न कार्यक्रम घोषणा गरे पनि यहाँका मानिसले न सरकारको कुनै सुविधा पाएका छन्, न सुविधा माग्न कहाँ जाने भन्ने नै थाहा छ । 

cura insider

यस गाउँमा बस्ने डोम, मुसहर जातिका बालबालिकालाई देख्नेहरू तर्केर हिँड्छन् । उनीहरूको छेउमा पुग्दा कतिपयलाई घीन लाग्दो हो । कतिपयले भन्छन् पनि– कति फोहोरी । 

तर, यस गाउँको समस्या भने आममानिसले सोचेभन्दा बेग्लै रहेको बताउँछिन्– वार्मिङ हार्टस् नेपालकी संस्थापक अनामिका अर्याल । सामाजिक सेवामा क्रियाशील गैरसरकारी संस्था वार्मिङ हार्टस्ले सो गाउँमा रहेको सहिद प्रमोद माविमा अध्ययनरत १ सय ४० जना छात्रछात्रालाई विगत १ महिनादेखि खाना खुवाइरहेको छ ।

विगत १० वर्षदेखि यस्तै सामाजिक कार्यमा सक्रिय अर्याल कामकै सिलसिलामा सिरहाको मिर्जापुर पुगिन् । त्यहाँ उनी अर्कै कामले गएकी थिइन् । तर त्यहाँको अवस्था देखेर उनले मन थाम्न सकिनन् । त्यहाँका बालबालिकाको अवस्था यति दयनीय थियो कि– उनीहरूको परिवारमा २ छाक खान पुग्ने अन्न पनि थिएन । गाउँका कतिपय विद्यार्थी विद्यालय त जान्थे, तर उनीहरूसँग न पोशाक थियो, न कापीकिताब नै । 

कतिपय बालबालिका भने काममा गएका बाबुआमा घर आएर खाना बनाऊलान् र खाउँला भनेर प्रतीक्षामा हुन्थे । तराईको ठाउँ, बिहान ८ बजे काममा गएका बाबुआमा दिउँसो १२ बजे घर आउँथे । उनीहरू खाना खाएर स्कुल जान पाउँदैनथे । अलि ठूला भएका बच्चा आमाबाबुसँगै साहु–महाजनका घरमा वा अन्तै काममा जानुपथ्र्यो । 

‘मुसहर समुदायमा जति बढी बच्चा भयो त्यति नै काम गरेर कमाउँछन् भन्ने मान्यता रहेछ’, अर्यालले भनिन्, ‘त्यसैले उनीहरू बच्चा बढी जन्माउँदा रहेछन्, अर्को कुरा– उनीहरूमा परिवार नियोजनसम्बन्धी ज्ञान नभएर पनि जन्मदर उच्च पाइयो ।’

…अनि बन्यो खाना खुवाउने अभियानको योजना

यो अवस्था देखेपछि उनलाई लाग्यो– यो समुदायका बालबालिकालाई जसरी पनि पढ्ने वातावरण बनाउनुपर्‍यो । पढाउन त पढाउने, तर कसरी ? खाना छैन, पोशाक छैन, पाठ्यपुस्तक छैन । सबै व्यवस्था गरेर पढाउन समस्या देखियो । कारण थियो– उनको संस्थामा सो कामका लागि पुग्ने रकम अभाव ।

No description available.

उनले आफ्नो संस्थाका अन्य साथीहरूसँग समस्या सुनाइन् । छलफल गरे । उनीहरूको निष्कर्ष निस्कियो– रंगशाला बनाउन वा कोही १ व्यक्तिको उपचारका लागि त दाताहरूले सहयोग गरेका छन्, यो त एउटा समुदायको कुरा छ, गाउँकै कुरा छ, यसमा पनि कसो दाता नभेटिएलान् ।

उनीहरूले आफूसँग सम्पर्कमा भएकाहरूलाई योजना सुनाए । केहीले सहयोग गर्ने आशा देखाए । तर त्यसबाट पनि उनीहरूको योजना सफल हुने देखिएन । अनि निर्णय गरे– कमसेकम बच्चाको भोको पेट भरियो भने कपडा र अन्य कुराले त्यस्तो असर गर्दैन । 

‘भोको पेटको बच्चा स्कुल गयो भने पनि उसले कसरी पढ्न सक्छ, बरू पोशाक त नभए पनि उसको पेट भरियो भने शिक्षकले पढाएको पढ्न सक्छ’, अर्यालले सुनाइन् । अनि उनीहरूले सुरुमा सहिद प्रमोद माविमा अध्ययन गर्ने विद्यार्थीहरूलाई खाना खुवाउने निर्णय गरे । 

विद्यालयमै खाना, मुसहर समुदायका व्यक्तिलाई रोजगारी

त्यसपछि उनीहरूले खाना कसरी कहाँ खुवाउने भन्नेमा पनि लामै छलफल गरे । उनीहरूले खाद्यान्न सामग्री घरघरमा दिँदा सम्भव नहुने देखे । त्यसपछि उनीहरूले विद्यालय परिसरमै खाना खुवाउने र विद्यालय आउने बच्चालाई मात्र खान दिने निधो गरे । ‘यसो गर्दा एक त हाम्रो खर्च कम लाग्यो, अर्को बच्चाहरू पनि नियमित विद्यालय आउने भए’, अर्यालले भनिन्, ‘बाबुआमा काममा गए पनि बच्चाहरू विद्यालय आउने र त्यहीँ खाना खाएर पढ्छन् भन्ने मान्यताले त्यहीँ खाना खुवाउने निर्णय गर्‍यौं ।’ 

यसरी खाना बनाउन र वितरण गर्नका लागि उनीहरूले मुसहर समुदायकै २ जनालाई जिम्मा दिएका छन् । यसबाट त्यहाँका २ जनालाई प्रत्यक्ष रोजगारी पनि भएको उनले सुनाइन् । भनिन्– ‘हामीले धेरै पैसा त दिन सकेका छैनौं, तर श्रम गराएबापत केही रकम दिएका छौं । यसबाट उनीहरू पनि खुसी छन् ।’

महिनाकै सवा लाख खर्च, निरन्तरता दिन सकिँदैन कि भन्ने चिन्ता

उनीहरूले काम त सुरु गरे । तर यसलाई दिगो रूपमा अगाडि लान समस्या देखिरहेका छन् । कारण हो– उनीहरूको अभियानमा नियमित दाता छैनन् । आफ्ना साथीभाइ र उनीहरूकै लिंकबाट केही संस्थाले केही रकम सहयोग गरेका छन् । 

उनीहरूको यस अभियानमा हाल मासिक १ लाख २५ हजार रुपैयाँ खर्च भइरहेको छ । सुरुमा आफैँले केही रकम खर्च गरे पनि सधैं नसकिने भएपछि दाताहरूको खोजीमा लागेका हुन् उनीहरू । बच्चाहरूको उचाइ र तौल लिएर खाना खुवाउने अभियान सुरु गरेका उनीहरू ती बच्चाहरूलाई सम्पूर्ण आधारभूत कुराहरू उपलब्ध गराउने तयारीमा छन् ।

‘कम्तीमा ५ वर्ष उनीहरूको अध्ययनमा सपोर्ट गर्ने लक्ष्य छ’, अर्यालले भनिन्, ‘त्यसका लागि मनकारी दाताहरू खोजिरहेका छौं ।’

चन्दा उठाएर समाजसेवा (?)

पछिल्लो समय नेपालमा सबैभन्दा बढी चर्चाको विषय बनेको छ– सहयोग उठाएर समाजसेवा । समाजसेवा गर्ने मान्छेले आफूसँग भएको खर्च गरेर वा आफूले श्रम गरेर गर्छ, चन्दा उठाएर समाजसेवा हुँदैन भन्नेको जमात पनि छ । 

हामीले पनि अर्याललाई यही प्रश्न तेस्र्यायौं– अरूसँग पैसा मागेर पनि समाजसेवा हुन्छ ?’

यो प्रश्न सुन्नासाथ उनी केही रिसाएको भावमा प्रस्तुत भइन् । ‘कुरा गर्नु र काम गर्नुमा फरक छ । हामीले आफैँले खर्च गर्ने अवस्था नभए के पहल पनि नगर्ने ?’ अरूसँग पैसा उठाएरै भए पनि आफूहरूले गरिब र अशिक्षित मुसहर बालबालिकाको शिक्षा र स्वास्थ्यका खातिर काम गरिरहेको उनले बताइन् ।

भनिन्– ‘चन्दा उठाएर समाजसेवा हुँदैन भन्नेहरूले खै ती बालबालिकाका लागि के गरे ? खाली चिया दोकानमा बसेर आदर्श छाँटेर मात्रै हुँदैन । हामीले पहलकदमी लिएका छौं, यसमा हामीलाई हजारौं मनकारीहरूले साथ दिनुहुने छ भन्ने विश्वास छ ।’

आफूले गरेको सानो सुरुआतले विद्यार्थीहरू विद्यालयप्रति आकर्षित भएको देख्दा उनी दंग छिन् । ‘यसले पनि मलाई यो काम निरन्तर गर्न हौसला प्रदान गरिरहेको छ’, उनी भन्छिन्, ‘मैले सक्ने समयसम्म म यो काम गरिरहन्छु, कसैले के भन्छ भन्ने कुराले केही मतलब राख्दैन ।’

पारदर्शितामा प्रश्न

कोसी अनलाइनले अर्यालसँग दाताहरूबाट संकलन भएको रकमको पारदर्शिताका बारेमा प्रश्न राखेको थियो । यसमा उनले भनिन्, ‘हामीले दाताले सहयोग गरेको र हामीले गरेको खर्चको एक–एक हिसाब राखेका छौं । हाम्रो गैरनाफामूलक संस्था भएकाले हामीले कुनै पनि हिनामिना गर्ने छैनौं । सबै रकमको हिसाबकिताब राखेका छौं । र अब मासिक रूपमा सोको विवरण सार्वजनिक गर्ने योजना पनि बनाइरहेका छौं ।

खानाको गुणस्तरमा प्रश्न

नेपालमा यसरी समाजसेवाका नाममा गरिने सहयोग, राहत सामग्रीको गुणस्तरमा जहिले पनि प्रश्न उठ्ने गरेको छ । भूकम्पको बेला होस्, वा बाढी पहिरो वा लकडाउनको समय नै किन नहोस्, राहतका रूपमा बाँडिएका सामान म्याद गुज्रेको, कुहिएको हुने गरेको समाचारहरू यत्रतत्र नै आएका थिए । 

हामीले पनि अर्याललाई प्रश्न गर्‍यौं– ‘तपाईहरूले खुवाउने खानाको गुणस्तरमा कसरी विश्वास गर्ने ?’

जवाफमा उनले विद्यार्थीहरूलाई खुवाइने खानाका लागि चामल र अन्य सामग्री राम्ररी जाँच गरेर, म्याद नगुज्रेको र नकुहिएको प्रयोग गर्ने गरिएको बताइन् । ‘हामीले तरकारी त किसानको खेतबाटै किनेर ल्याउँछौं । त्यसैले त्यस्तो हुने सम्भावना हुँदैन । चामल र अन्य सामान पनि त्यसरी लापरबाही गर्दैनौं । त्यसका लागि नियमित मोनिटरिङ गर्ने मानिस हामीले खटाएका छौं ।’

कतिन्जेल खुवाउने खाना ?

मुसहर बस्तीका बालबालिकालाई वार्मिङ हर्टस्ले खाना खुवाए पनि कतिन्जेल यो अभियान सम्भव छ भन्ने प्रश्न उठ्छ । सधैंभरि खुवाउन नसकिने र खुवाउन छोडेपछि उनीहरूको अवस्था पुनः के हुने भन्ने जिज्ञासामा अर्यालले भनिन्– ‘पक्कै पनि हामीले सधैँ खाना खुवाउन सक्दैनौं । हाम्रो त्यो लक्ष्य पनि होइन । हामीले उनीहरूको पठनपाठन र स्वास्थ्यमा दीर्घकालीन प्रभाव गर्ने गरी काम गर्ने योजना बनाएका छौं ।’

त्यसका लागि उनीहरूले मुसहर बस्तीकै लागि उपयोगी हुने योजना बनाएका छन् । कोसी अनलाइनसँगको कुराकानी क्रममा अर्यालले सामूहिक कृषि फार्मको योजना अगाडि ल्याउन लागिएको बताइन् । 

तर, तत्कालका लागि भने विद्यालयमा अध्ययनरत बालबालिकाका अभिभावकलाई बाख्राका पाठा उपलब्ध गराइएको उनले बताइन् । ती खसीबाख्रा ठूला भएपछि बेचेको पैसाबाट आधा रकम उनीहरू खर्च गर्न पाउने र आधा रकम उनीहरूको संस्थामार्फत गरिब बालबालिकाकै लागि खर्च गरिने उनले जनाइन् । 

पछिका लागि भने सो समुदायका लागि एउटा साझा कृषि फार्म स्थापना गरिदिने र त्यसबाट आएको आधा आम्दानी उनीहरूको परिवार पाल्न र आधा रकममध्ये बालबालिकाको पढाइ, स्वास्थ्य र केही अंश संस्थाकै नाममा फन्डिङ गर्ने योजना छ । 

पिछडिएको समुदायका लागि निरन्तर लागिपर्ने प्रतिबद्धता

विगत १० वर्षदेखि समाजसेवामा रहेकी अर्यालले करिब ६ महिना अघिदेखि चेपाङ समुदायका विद्यार्थीहरूलाई पनि सहयोग गरिरहेको बताइन् । यसैगरी अर्को संस्था हर्टबिटसँग सहकार्य गरेर विभिन्न विद्यालयमा शैक्षिक सामग्री, कपडा, किचनका लागि आवश्यक सामग्रीहरू पनि सहयोग गरिरहेकी छिन् । 

सरकारी तवरबाट छैन सहयोग

उनले यो अभियान सुरु गरिन् । खासमा यो कार्य सरकारले आफैँ गर्नुपर्ने हो । तर सरकारले गर्नु त परको कुरा, उनीहरूको अभियानमा पनि कुनै सहयोग नगरेको उनको गुनासो छ । ‘कार्यक्रममा सरकारी तहका व्यक्तिहरू पनि आउनुभयो, राम्रो काम भन्नुभयो । तर यो सरकारको काम हो, यसमा हामी यसरी सहयोग गर्छाैं भनेर भन्नुभएन । यसले हाम्रो सरकार दीनदुःखीका लागि कति उत्तरदायी छ भनेर छर्लंग हुन्छ ।’

अहिले उनलाई विदेशमा भएका आफन्त र साथीहरूले सहयोग गरिरहेका छन् । भन्छिन्, ‘सरकारको बाटो हेरेर बस्दा साना बालकालिकाको पेट कति दिनसम्म भोकै रहन्छ, थाहा छैन । त्यसैले हामी आफैँ लागिपरेका छौँ ।’

अपेक्षित सुधार भइरहेको छ

फिल्डमा मोनिटरिङ गरिरहेका संस्थाका बब्लु गुप्ताका अनुसार अभियानले सकारात्मक नतिजा दिइरहेको छ । ‘पहिले विद्यालय नआउने बच्चाहरू नियमित विद्यालय आइरहेका छन् । अभिभावक पनि यस अभियानबाट एकदमै खुसी छन्, हामी उत्साहित छौं ।’

उनका अनुसार अभियान सुरु गर्दाको तुलनामा बच्चाहरूको स्वास्थ्यमा पनि अपेक्षित सुधार भइरहेको छ । सुरुमा तौल नापेर अभियान सुरु गरिएकामा प्रायः सबै बच्चाको तौल बढेको उनले बताए । 

यसैगरी विद्यालयका प्रधानाध्यापक कुन्देश्वर यादवका अनुसार यस अभियानले विद्यार्थीहरूको पठनपाठनमा सकारात्मक प्रभाव परेको छ । उनले भने, ‘पहिले विद्यालय आउन नमान्ने बच्चा पनि अहिले समयमै विद्यालय आउँछन् । यो राम्रो कुरा हो ।’

jackson ribon