birat ribon

कलेजोमा बोसो जम्मा हुने समस्याको कारण यस्तो

Neuro
कलेजोमा बोसो जम्मा हुने समस्याको कारण यस्तो

विराटनगर / अव्यवस्थित जीवनशैली तथा खानपानमा गर्ने गरेको लापरवाहीका कारण फ्याटी लिभर अर्थात् कलेजोमा बोसो जम्मा हुने समस्या देखापरिरहेको छ ।

कलेजोमा बोसो जम्मा हुने समस्या कलेजोको कोशिकामा बढी मात्रामा बोसो उत्पन्न हुने स्थिति हो । विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका ग्यास्ट्रिक तथा कलेजो रोग विशेषज्ञ डा. मोहन खड्काका अनुसार कलेजोमा पाँच प्रतिशत वा सोभन्दा कम मात्रामा बोसो जम्मा हुनुलाई सामान्य मानिए पनि योभन्दा बढ्दै गएमा फ्याटी लिभर रोग भएको मानिन्छ ।

cura insider

कलेजोमा बोसो जम्दै जाँदा कलेजोले गर्दै आएको सबै कार्य तथा प्रक्रियामा अवरोध उत्पन्न हुन थाल्छ । धेरै र लामो समयसम्म बोसो जम्मा भएमा यसले कलेजोलाई बिगार्ने काम गर्छ । कलेजोले काम गर्न छोडेपछि जन्डिस हुने, पेटमा पानी जम्ने, दिमागको प्रेसर बढ्ने, आन्द्रा, खाना नली तथा रगतका नली फुल्ने, रक्तश्राव हुने, मुखबाट रगत आउने, दिसाबाट रगत आउने, मृगौला ड्यामेज हुने तथा बिरामीको मृत्युसमेत हुनसक्छ ।

कलेजोमा सानोसानो घाउ बन्दै कलेजो कडा (फाइब्रोसिस) हुँदै जान्छ र कलेजोमा दाग बस्दै जान्छ । फाइब्रोसिसको अवस्थामा समेत रोगलाई रोक्ने प्रयास गरिएन भने सिरोसिस हुने गर्छ जुन कलेजो क्षति हुने अन्तिम अवस्था हो । जसकारण कलेजो प्रत्यारोपण गर्नुपर्ने स्थितिसमेत उत्पन्न हुनसक्छ ।

अत्यधिक रक्सीको सेवन, मधुमेहको समस्या, मोटोपना, कोलेस्टेरोल, शारीरिक गतिविधिको कमी, जङ्क फुड तथा चिल्लो बोसोजन्य पदार्थको अत्यधिक सेवन, ब्लड प्रेसर, टिबी, छारे रोग तथा पिनकिलरलगायतका विभिन्न उपचारका लागि खाइने औषधिका कारण पनि कलेजोमा बोसो जम्ने समस्या हुन सक्छ । फ्याटी लिभर भएमा सामान्यतः कुनै लक्षण नदेखाउन पनि सक्छ ।

अवस्था गम्भीर भएपछि मात्रै लक्षण देखिन थाल्छ । रक्सी–चुरोटको सेवन नगर्ने, खानेकुरालाई नियन्त्रण गर्ने, शारीरिक गतिविधिमा ध्यान दिँदा र माथि उल्लेखित जोखिम रोगलाई नियन्त्रण गर्न सके कलेजोमा बोसो जम्ने समस्यालाई सहजैसँग रोकथाम गर्न सकिन्छ ।

jackson ribon