birat ribon

समयमै रोग पहिचान गरी उपचार गरे निको हुन्छ क्षयरोग

Neuro
समयमै रोग पहिचान गरी उपचार गरे निको हुन्छ क्षयरोग

विराटनगर / आज विश्व क्षयरोग दिवस ।

हरेक वर्ष २४ मार्चका दिन क्षयरोगको बारेमा जनचेतना बढाउन र विश्वव्यापी रुपमा क्षयरोगको महामारी हटाउनका लागि विश्व क्षयरोग दिवस मनाइँदै आएको छ । शरीरमा माइको व्याक्टेरियम ट्युबरक्लोसिस नामको व्याक्टेरियाको सङ्क्रमण भएमा मानिसलाई क्षयरोग अर्थात् टिबी लाग्ने गर्छ । रोकथाम तथा उपचार गर्न सकिने क्षयरोग विश्वको सबैभन्दा घातक सङ्क्रामक रोगमध्ये एक हो ।

cura insider

प्रत्येक दिन, लगभग चार हजार मानिस क्षयरोगका कारण आफ्नो ज्यान गुमाइरहेका छन् भने लगभग २८ हजार मानिसहरू क्षयरोगबाट बिरामी हुन्छन् । क्षयरोग हावाको माध्यमबाट एक व्यक्तिदेखि अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो । कुनै पनि क्षयरोगबाट सङ्क्रमित मानिसले खोक्दा, बोल्दा वा हाच्छ्युँ गर्दा यसको किटाणु वातावरणमा निर्भर गर्दै हावामा केही समयसम्म रहिरहन सक्छ ।

क्षयरोगका किटाणुहरू भएको हावामा सास फेर्ने व्यक्तिहरू सङ्क्रमित हुन सक्छन् । क्षयरोगले सामान्यतः फोक्सोलाई प्रभाव पार्छ । तर, दिमाग, मिर्गौला वा मेरुदण्डलगायतका शरीरका अन्य भागमा पनि यसले असर गर्न सक्छ । समयमा र उचित उपचार नपाएका कारण क्षयरोगको बिरामीको ज्यानसमेत जान सक्छ ।

अधिकांश परिवारको सदस्य, बिरामीको हेरचाह गर्ने र नजिकको व्यक्तिलाई क्षयरोग सर्ने सम्भावना उच्च रहन्छ । बिरामी भएको जस्तो महसुस हुने, थकान वा कमजोरी, तौल घट्दै जाने, ज्वरो र रातको समयमा पसिना धेरै आउने टिबी रोगका सामान्य लक्षण हुन् । फोक्सोमा लागेको टिबी रोगका लक्षणहरूमा खोकी लाग्ने, छाती दुख्ने, खोक्दा वा खकारमा रगत आउने हुनसक्छ ।

शरीरका अन्य भागहरूमा हुने टिबी रोगका लक्षण प्रभावित क्षेत्रमा निर्भर हुन्छ । बच्चाहरूमा पनि क्षयरोगको समस्या देखिन सक्छ । लगातार खोकी लाग्नु, खकारमा रगत देखा पर्नु, ज्वरो आउनु, काम्नु, खान मन नलाग्नु, तौल घट्नु वा उमेरअनुसार तौल नबढ्नु, श्वास फेर्न गाह्रो हुनु, निमोनिया, मेनिन्जाइटिस हुनेजस्ता लक्षण देखापर्न सक्छ ।

बच्चाहरूलाई क्षयरोगबाट बचाउनका लागि जन्मनेबित्तिकै वा केही दिनभित्रै क्षयरोगविरुद्धको बिसिजी खोप लगाउने, भिडभाड भएको ठाउँमा नलाने, क्षयरोग लागेका अन्य व्यक्तिबाट टाढा राख्ने, पोषिलो खाने, चिसोबाट बचाउने तथा समय समयमा बच्चाको स्वास्थ्य परीक्षण गराउने गर्नु पर्छ । क्षयरोग लागेका मानिस निको हुने सम्भावना अधिक रहन्छ ।

लामो समयसम्म खोकी लागिरहेमा, खोक्दा रगत देखा परेमा टिबी जाँच गर्न सल्लाह दिइन्छ । रोग पहिचान गरेर नियमित ६ देखि १२ महिनासम्म औषधिको सेवन गरेमा सजिलै क्षयरोगबाट निको हुन सकिन्छ । औषधि लामो समय खानुपर्ने, यसले निम्त्याउन सक्ने साइड इफेक्टका कारण बिरामीहरू प्रायः औषधिको सबै डोज पूरा गर्दैनन् । जसले फेरि रोग लाग्ने, रोग बल्झिने वा रोगलाई प्रतिरोध गर्ने जोखिम पैदा हुन्छ ।

रोगप्रतिरोध गरेका बिरामीका लागि प्रायः कडा डोजको औषधि लामो समयसम्म दिनुपर्ने हुन्छ । रोगलाई समयमै पहिचान गरेर प्रभावकारी उपचार सुरु गरेमा उपचार गर्न सम्भव छ । उपचारबाट निको हुन सक्ने भए पनि क्षयरोगसँग जोडिएका धेरै मान्यता र गलत धारणाका कारण धेरै मानिसले क्षयरोगबाट हरेक दिन ज्यान गुमाइरहेका छन् । यस्ता गलत धारणाका कारण मानिसहरू प्रभावकारी उपचार खोज्न र पाउन नसकिने तथा आफ्नो उपचारसमेत पूरा गर्ने गर्दैनन् ।

jackson ribon