birat ribon

एमालेभित्रको अन्तरविरोधमा प्रचण्ड खेल्न खोजे : ईश्वर पोखरेल

Neuro
एमालेभित्रको अन्तरविरोधमा प्रचण्ड खेल्न खोजे : ईश्वर पोखरेल

नेकपा एमालेका महासचिव ईश्वर पोख्रेल पार्टीभित्र विभिन्न कारणले सिर्जना भएका अन्तरविरोधमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘सेकताप’ गरेका कारण वर्तमान स्थिति उत्पन्न भएको बताउँछन् । पार्टी अध्यक्ष एवम् महासचिवले भेला नगर्न दिएको निर्देशनविपरीत वरिष्ठ नेता माधव नेपाल र नेता झलनाथ खनाल पक्षले राष्ट्रिय कार्यकर्ता आयोजना गरेको सन्दर्भमा उनले यस्तो टिप्पणी गरेका छन् ।

अन्तरविरोधहरूमा खेलेर ढाडमा टेकेर टाउकोमा हान्न अभ्यस्त दाहालले एमालेभित्रका अन्तरविरोधलाई प्रयोग गरेको दाबी उनको छ । मुलुकको पछिल्लो राजनीति सबैभन्दा ठूलो संसदीय दल नेकपाभित्रको अन्तरकलहमा नै अल्झिरहेका बेला महासचिव पोख्रेलसँग एमालेमा अहिले उत्पन्न परिस्थितिका बारेमा गरिएको कुराकानी :

cura insider

नेकपा एमालेभित्र के भएको हो अहिले ?

नेकपा एमालेभित्र भएका कुरा सार्वजनिक नै भइरहेको छ । हिजो नेकपा एमाले र माओवादी केन्द्रको बीचमा जुन किसिमले पार्टी एकीकरण भएको थियो, स्वरूपमा हेर्दा त्यो अत्यन्तै राम्रो थियो किनभने जनता र कार्यकर्ताले चाहेको, राष्ट्रिय आवश्यकता पनि पूरा हुने । राजनीनिक स्थायित्वका लागि त्यसले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने हाम्रो अनुमान थियो । तर सारमा विचारलाई व्यवस्थित गर्ने काम भएको थिएन । संगठनलाई व्यवस्थित गर्ने काम भएको थिएन र नेतृत्व व्यवस्थित गर्ने काम पनि भएको थिएन ।

किन त्यस्तो आलोकाँचो निर्णय भयो त ?

पार्टी एकीकरण गर्ने सन्दर्भमा जुन नेतृत्व केन्द्रहरू थिए, ती केन्द्रहरूमा रहेका आग्रहहरू हावी भए, त्यस कारण त्यो महान् र पवित्र एकता परिपक्व हुन नपाई सम्पन्न भएको थियो । यो एकताका बेला जुन भ्रुणहरूमा समस्या थिए, तिनै समस्या प्रकट भए अहिले । त्यसको उत्कर्षमा पुगेको हो अहिले ।

अर्को कारण भनेको नेकपा एमालेभित्र हिजोदेखि नै लोकतान्त्रिक अभ्यास गर्ने नाममा पक्षधरता, गुटबन्दीको स्थिति थियो । त्यो गुटबन्दी माथिदेखि तलसम्म नै थियो । त्यसलाई व्यवस्थित गरिसकेका थिएनौँ । त्यही व्यवस्थित गरिनसकेकै अवस्थामा हामी एकताबद्ध भयौँ । एकताबद्ध भए पनि पूर्वघटकहरूभित्र रहेका अन्तरविरोधहरू चलायमान नै थिए । त्यही अन्तरविरोध दुरुपयोग भयो र अहिले यो स्थिति आएको हो । यो कारण ठीक ढङ्गले नबुझ्ने हो भने समाधान के हुन्छ भनेर भन्न सकिँदैन ।

केही कमजोरीका कारण आज यो अवस्था सिर्जना भयो । अब कसरी समाधान गर्नुहुन्छ ?

समाधान के हो भने अहिले जुन उचाइमा हामी पुगेका छौँ । यही उचाइमा चुनौति पनि आए । जुन उचाइमा चुनौति आए, यही उचाइमा चुनौतिको सामना गर्ने सामथ्र्य पनि हामीले आर्जन गर्नुपर्छ । विगतमा हामी जो जसले कमिकमजोरी गरेको भए पनि त्यसलाई एउटा बस्तुनिष्ठ भएर त्यसको आत्मसमीक्षा पनि हुनुपर्छ । आत्मसमीक्षा गर्दा आफ्ना कमिकमजोरी रियलाइज गर्दा सानो भइँदैन । कमजोर भइँदैन । झन त्यसले शक्ति प्राप्त हुन्छ ।

म सबै साथीहरूलाई के भन्न चाहन्छु भने आज यतिबेला नेकपा एमालेको नाममा जे जस्ता कुरा भइरहेका छन् । ती बडो दुखद् छन् । जनता र कार्यकर्ताले मन नपराउने कुरा हुन् ती । जनताले मन नपराउने ती कुरा हामीले बन्द गर्नुपर्छ र नयाँ स्तरमा एकताका लागि पहल र प्रयत्न गर्नुपर्छ ।
यसमा कुनै एउटा पक्ष निरन्तर गलत र कुनै एउटा पक्ष निरन्तर सही कदापि हँुदैन होला नि त ? वैज्ञानिक हिसाबले हेर्दा ।

यो गल्ती कमजोरीको कुरा मात्रै होइन । पार्टीलाई वा नेतालाई, निर्णयलाई, नीतिलाई, जुनसुकै कुरालाई पनि सतप्रतिशतमा बुझ्नु हँुदैन । सापेक्षतामा बुझ्नुपर्छ । प्रतिशतमा बुझ्नुपर्छ । कमिकमजोरी भएका हुनसक्छन् । कहीँ धेरै मात्रामा कमजोरी भएका हुनसक्छन् । कहीँ कम होलान् तर गम्भीर कमजोरी के हुन् भनेर बुझ्नुपर्छ । गम्भीर कमजोरी भए पनि त्यो नेकपा एमालेभित्रकै साथीहरूबाट भएका हुन् । त्यसलाई सच्याउने आँट गर्नुपर्छ । त्यो साहस गर्नुपर्छ । अध्यक्ष निर्वाचित भएर केपी ओली आउनुभयो । पूर्व पार्टीको महाधिवेशनमा निर्वाचित भएको अध्यक्षको नाताले एकीकृत पार्टीको अध्यक्षको रूपमा उहाँ आउनुभयो । नेकपा माओवादी केन्द्रको अध्यक्ष भएको नाताले प्रचण्ड आउनुभएको थियो । यो दुईवटा अध्यक्षको विशेष व्यवस्था हामीले गर्यौँ ।

महाधिवेशन चैतमा गर्ने भनेको छ । छिटै गर्ने हो भने विशेष महाधिवेशन फागुनमै गरौँ । त्योभन्दा पनि अझै छिटो हो भने माघमा नै गरौँ । महाधिवेशनको तयारी गरौँ । तर महाधिवेशन नगरिकन बीचमै अध्यक्ष हट्नुपर्छ भनेर धक्का मारेर हटाउने खालको कुरा भो भने त्यो कस्तो देखिन्छ ? त्यो कुनखालको कमजोरी ? त्यो कुन खालको गल्ती ? त्यो हामीले बुझ्नु जरुरी छ ।

एउटा पार्टीको दुईवटा समूहले आ–आफूलाई वैधानिक भनिरहेका बेला आमजनताले कसलाई के हेरेर सही मूल्याङ्कन गर्ने ?
देशभरिका पार्टी कार्यकर्ताले यी विगतमा भएका कुराहरूलाई कसरी मूल्याङ्कन गर्ने ?

यो आज वस्तुनिष्ट समीक्षा गर्नुपर्छ । आत्मालोचना गरिरहनुपर्छ भनिरहँदा यी विगतका कुरा हेर्न जरुरी छ ।
अर्को कुरा निर्वाचनका बेलामा नेकपालाई भोट दिने भनेर हामीले बामगठबन्धन बनायौँ । त्यसबेला हामीले तात्कालीन नेकपा एमालेको तर्फबाट र माओवादी केन्द्रको तर्फबाट पनि प्रधानमन्त्री केपी ओली भनेरै लडियो । विभिन्न कारणले केपी ओलीको प्रतिष्ठा र लोकप्रियताको कुरा थियो । त्यसैले पनि उहाँ विजयी बन्नुभयो । हाम्रो पार्टी विजयी बन्यो । संसदीय दलको नेता सर्वसम्मत हुनुभयो । संसदीय दलको नेता भएपछि प्रधानमन्त्री बन्नुभयो । माओवादी केन्द्रले पनि प्रधानमन्त्रीको रूपमा उहाँलाई नै प्रस्तुत गर्यो । दुई वर्ष बित्न पाएको छैन बीचैमा प्रधानमन्त्री छोड्नुपर्छ भनेर धक्का मारेर हटाउने जस्तो खालको कुरा गर्यो भने कस्तो देखिन्छ ? यो कुरा कुन तहको बदनियतपूर्ण कुरा हो भनेर भन्नुपर्छ ।

वरिष्ठ नेता माधव नेपाल पक्षले त नेपाल कम्युनिस्ट पार्टी माओवादीको एकता बिथोल्ने काम पनि प्रधानमन्त्री ओलीबाट भएको भन्ने दाबी गर्दै आएको छ नि । त्यसलाई स्वीकार्नुहुन्छ ?

कात्तिक २८ गते एउटा अध्यक्ष पुष्पकमल दाहालको तर्फबाट अर्को अध्यक्ष केपी ओलीलाई अभियोग लगाइयो । त्यो अभियोग अत्यन्तै सङ्घीन छ । केपी ओली पार्टी अध्यक्ष र प्रधानमन्त्रीका लागि मात्रै नालायक होइन पार्टी सदस्य पनि रहन नसक्ने, अझ फौजदारी अभियोग लगाएर दण्डित गर्नुपर्ने खालको सङ्घीन अभियोग लगाइयो । यस्तो अवस्थामा एकताको जग कसरी कायम रहन सक्थ्यो ? त्यो जग कसरी टिक्न सक्थ्यो ? त्यस्तो बेलामा प्रधानमन्त्री पार्टी अध्यक्ष केपी ओलीले आफै खुमलटारमा गएर पुष्पकमल दाहालाई भन्नुभयो तपाईले जुनखालको अभियोग लगाउनुभएको छ यो अभियोगलाई म अस्वीकार गर्छु तपाईले फिर्ता लिनुहोस् । पार्टीका आन्तरिक समस्याका बारेमा छलफल गरौँ । यदि गर्नुहुन्न भने आधा शताब्दीको मेरो राजनीतिक जीवनमाथि धावा बोलेपछि मैले प्रतिवाद गर्नुपर्छ । जनता न्यायाधीश हुन् । न्याय दिने जनतासँग मैले जानुपर्छ भनेर उहाँले भन्नुभयो । तर त्यसलाई गम्भीरताका साथमा लिइएन ।

अन्तरविरोधहरूमा खेलेर ढाडमा टेकेर टाउकोमा हान्न अभ्यस्त हुनुभएका पुष्पकमल दाहाल हुनुहुन्थ्यो । पूर्वएमालेभित्र विभिन्न कारणले सिर्जना भएका अन्तरविरोधहरू थिए । त्यही अन्तरविरोधलाई प्रयोग गरेर उहाँ अगाडि बढ्न चाहनुभयो । दुर्भाग्यले त्यसबेलाका नेकपा एमालेका नेताहरू पनि हिजोदेखिका सञ्चित अन्तरविरोधहरूलाई पुष्पकमल दाहालजीको सेकताप प्राप्त गरेर अगाडि बढाउन खोजे ।

गाउँघरतिर घरझगडा धेरै हुन थाल्यो भने मानो छुट्याउने चलन छ । अहिले मानो छुट्याएर घर झगडा मिलाउन सकिँदैन ?

तनावका साथ छलफल गर्नुपर्ने विषय नै हो जस्तो लाग्दैन मलाई । सामान्य निजी पारिवारिक विषयमा पनि आजकल श्रीमान्–श्रीमतीबीच सम्बन्ध राम्रो भएन भने सल्लाह गरेरै अब तिम्रो हाम्रो यो जोडी नचल्ने भो अब हामी अलग–अलग रहौँ भनेर भन्छन् रे । त्यो अभ्यास पनि प्रारम्भ भएको छ । राजनीतिमा त के भो र ? राजनीति यही समाजमा गर्ने हो । हाम्रा योग्यता र अयोग्यता यही समाजका मानिसले जज गर्ने हुन् । त्यसकारणले यदि सम्बन्ध कायम नरहन सक्दा त सल्लाहले नै गर्दा भइहाल्छ, केही पनि फरक परेन ।
नेकपा एमालेको महासचिवको नाताले म के भन्न चाहन्छु भने हामीले त्यसो गर्नुभन्दा पनि अहिलेको अवस्थामा भरसक आफ्ना कमिकमजोरी के हुन् ती सच्याउने, आत्मसमीक्षा गर्ने र मिलेर अगाडि बढ्ने हो । यसलाई जीत र हारको विषय बनाउनु हँुदैन । हामीले गल्ति गर्यौँ । हामीले नै गर्यौँ । लाभ हानिका अंसियार पनि हामी आफैँ हौँ ।

दुई समूहको आ–आफ्नो अडानले आफ्ना कार्यकर्ता कतै भड्किएलान् कि भन्ने चिन्ता छैन ? के बुझ्ने एमालेको सामान्य मतदाताले ?

हामीले अनेक उतार–चढाव झेलेका छौँ । हामीसँग एकता, फुट अनि जुटका पनि अनुभव छन् । अनि ती अनुभव प्राप्त गरेका नेता साथी पनि हुनुहुन्छ हामीसँग । हामीले यस्तो अप्ठ्यारो अवस्थामा धैर्य राख्नुपर्छ । संयमता राख्नुपर्छ । एकले अर्कालाई आरोप लगाउने जस्तो मात्रै कुरा गर्नुहँुदैन । यतिबेला पार्टी आन्दोलनलाई अगाडि बढाउने विषयमा नयाँ ढङ्गले छलफल गर्नुपर्ने जरुरी छ ।

नेकपा एमालेभित्र अहिले देखिएको अन्तरसङ्घर्षको निकासले कसरी होला । महासचिवको हैसियतले के भन्नुहुन्छ ?

देशभरिका कार्यकर्ता र नेकपा एमालेलाई माया गर्ने सबै साथीहरूलाई भन्न चाहन्छु यतिबेला उत्तेजना र आवेशबाट होइन, संयम, धैर्यका साथ हामी अगाडि बढ्नुपर्छ । र विगतका अनुभवहरूलाई पनि सम्झना गर्नुपर्छ । पार्टी एकता सबैभन्दा ठूलो चीज हो । एकतामा आँच नपुगोस् भन्नका लागि हामी सबैले अब नयाँ ढङ्गले सोच्नुपर्छ । चुनौतिका गर्भभित्र अवसर पनि लुकेका हुन्छन् । त्यो अवसरलाई सदुपयोग गरेर अगाडि बढ्नुपर्छ ।

jackson ribon