birat ribon

पिसिओएसले महिलामा बाँझोपन ल्याउन सक्छ

Neuro
पिसिओएसले महिलामा बाँझोपन ल्याउन सक्छ

विराटनगर / पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पिसिओएस) महिलामा हुने हर्मोलन गढबढी हो । पिसिओएसका कारण महिलामा महिनावारीमा समस्या हुने, महिनावारी अनियमित हुने, गर्भधारणमा समस्या हुने तथा महिलामा पुरुषको आकृति आउनेजस्ता समस्या निम्तिनेगर्छ ।

पिसिओएसको कारण पत्ता लागेको छैन । तर, शरीरमा एन्ड्रोजेन अर्थात् पुरुष हर्मोन वृद्धि हुनुलाई यसको मुख्य कारण मान्न सकिन्छ । शरीरमा एन्ड्रोजेनको स्तर बढेसँगै प्रजनन स्वास्थ्यमा अति आवश्यक हर्मोनहरूको स्तर घट्दै जान्छ । यसले गर्दा अण्डाशयमा सानो पानीको फोका (सिस्ट) पलाउने र हरेक १४ दिनमा हुनुपर्ने ओभुलोसन (अण्डा बन्ने कार्य) लाई रोक्ने गर्छ । पिसिओएसमा पुरुष हर्मोन बढेर शरीरमा विभिन्न परिर्वतन आउने हुनसक्छ । जसले मुख्य गरेर महिलामा ओभुलेसन प्रक्रियालाई रोकेर बाँझोपन निम्त्याउन सक्छ ।

cura insider

कतिपयमा वंशाणुगत गुणका कारण, शरीरमा इन्सुलिनको मात्रा धेरै हँुदा तथा मोटोपनाका कारण पनि पिसिओएस हुन सक्छ । पिसिओएस भएमा महिनावारी अनिमियत हुने, महिनावारीको समयमा अत्यधिक रक्तश्राव हुने, मोटोपना, पुरुष हर्मोन बढेको कारण अनुहार तथा शरीरमा धेरै रौँ आउने, कपाल झर्ने वा टाउको दुख्नेजस्ता विभिन्न लक्षण देखापर्न सक्छन् ।

पिसिओएस महिनावारीसँग सम्बन्धित भएका कारण यसले निःसन्तानको समस्या हुने सम्भावना बढ्ने, बाँझोपन, पाठेघरको क्यान्सरको जोखिम बढाउनुका साथै मधुमेह, कोलेस्ट्रोल, मेटाबोलिक सिन्ड्रोम, निद्रामा घुर्ने समस्या र डिप्रेसनको समस्या निम्त्याउन सक्छ । महिलामा पिसिओएसको समस्या महिनावारी गडबडीको आधारमा, रगत परीक्षण, ओभरीमा सिस्ट भए–नभएको, अल्ट्रासाउन्डको माध्यमबाट थाहा पाउन सकिन्छ ।

पिसिओएस औषधिको सेवनबाट निको पार्न सकिन्छ । साथै, जीवनशैलीमा परिवर्तन ल्याइ तौल घटाउने, खानपानमा ध्यान दिने, व्यायाम गर्ने, प्रशस्त मात्रामा पानी पिउने, शरीरमा इन्सुलिनको मात्रा नियन्त्रणमा राख्नेलगायतका उपायले पिसिओएसको समस्याबाट केही हदसम्म छुट्कारा पाउन सकिन्छ ।

jackson ribon