birat ribon

हात्ती आक्रमणबाट बच्न गणेशको पूजा

Neuro
हात्ती आक्रमणबाट बच्न गणेशको पूजा

झापा / भद्रपुर नगरपालिका–१ दशरथपुरमा बाँसका बेरा र टिनको छानो भएको सानो घरमा बस्दै आएका छन् पवित्रा राई र पदमबहादुर राई दम्पती ।

६६ वर्षीय पदमबहादुरले हात्तीसँगको मुठभेडमा कालको मुखबाट उम्किएको कथा सुनाए । ‘लामो दाह्रा हल्लाउँदै एउटा हात्ती मेरो अघि उभिएको थियो । म पूर्वतिर सास नफेरी भागेँ । बीस फड्को मारिनसक्दै हात्तीले लखेटेर समायो । सुँढले बेरेर पहिले लडायो, अनि खाँबो जत्रो खुट्टा र भालुबास जत्रो सुँढले लतार्न थाल्यो । म खेतको आली मुन्तिर ढुन्मुनिएर पछारिएँ ।’

cura insider

पदमबहादुर भन्दै थिए, ‘उसले मलाई टाङमुनि हालेर कुल्चेर मार्न खोजिरहेको थियो । मैले बाँच्ने आश मारिसकेको थिएँ । तैपनि मर्ने नै भइसकेपछि किन नभिड्नु भन्ने सोचेर हातमा भएको फगी लाइटले उसको सुँढमा लगातार बेस्मारी हिर्काइरहेँ । मलाई सँुढले बेर्न खोजिरहेको थियो । दाह्राले मलाई भुइँमा धस्न खोज्यो । उसको दाह्रा आलीको डिल भत्काउँदै छलिएर गयो । उसले खुट्टाले कुल्चिन खोज्यो, मैले सर्पले झैँ जीउ बटारेर छलेँ । भुइँको माटोको धुलो मुठ्याएर हात्तीको आँखैमा फ्याँकिदिएँ । फेरि मैले फगी लाइट र मुड्कीले उसको सँुढको टुप्पो र निधारमा हिर्काइरहेपछि हात्ती क्वाँ गर्दै कराएर पछाडि हट्यो ।’

घरजत्रो भीमकाय जङ्गली हात्तीलाई भिडन्तमा यसरी पराजित गर्न सकुँला भन्ने उनले कल्पनासम्म गरेका थिएनन् । माघ महिनामा चारैतिर बाक्लो हुस्सु लागेका कारण नजिकैको वस्तु देख्न मुस्किल थियो । मुठभेडमा हात्ती हच्किएर ५० मिटर जति पर भागेपछि पदमबहादुरले लामो सास फेर्दै परालको माचमा छलिएर बँचेखुँचेको तागत निकाल्दै पूर्वैतिर घस्रिएर भागेको बताए ।

‘म पल्लो गाउँको छेउमा पुग्दा गाउँलेहरू मतिरै आउँदै गरेजस्तो लाग्यो । ‘श्रीमान्लाई हात्तीले मा¥यो, बचाउ बचाउ’ भन्दै मेरी श्रीमतीले गाउँलेहरूलाई गुहारेर ल्याउँदै गरेको भेटेँ । जब मलाई उनीहरूले जिउँदै देखे, अनि त सबैजना छक्क परे,’ राइले भने । श्रीमती पवित्रा राई भने हात्तीले आफ्नो पतिलाई आक्रमण गरेर मारेको ठानी गुहार माग्दै पल्लो गाउँ पुगेकी थिइन् ।

पदमबहादुर बस्ने भद्रपुर–१ मा विगत तीन वर्षमा तीनजनाले हात्तीको आक्रमणमा मृत्युवरण गरिसकेका छन् । मुठभेडमा बाँच्नेमा उनी एक्लो हुन् । प्रायः हात्तीले मानिसमाथि आक्रमण गर्दा सुँढले बेरेर भुइँमा पछार्ने, बलिष्ठ खुट्टाले कुल्चिने र तीखो दाह्राले शरीरमा धस्ने गर्दछ । हात्तीले पदमबहादुरलाई आक्रमण गर्दा मार्नका लागि सक्दो प्रयास गरेको थियो ।

हात्तीको ज्यानमारा आक्रमणबाट बाँच्नुलाई अर्को जन्म ठानेका उनले त्यसपछिका रातहरू पनि ढुक्कले निदाउन सकेका छैनन् । हात्तीको आक्रमणमा उनको ढाड, खुट्टा र हातमा चोट लागेको थियो । अहिले पनि चोट दुखिरहने उनले बताए । उपचारका लागि एक दिन मेची अञ्चल अस्पतालमा बिताएपछि पदमबहादुर दम्पतीले १३ दिनसम्म घरमा दैलो लगाएर पल्लो गाउँका चन्द्रबहादुर सुब्बाको घरमा शरण लिएर रात बिताउनुप¥यो ।

मुठभेडमा बाँचेपछि एक दिन भद्रपुरका नगरप्रमुख जीवनकुमार श्रेष्ठले फोन गरेर ‘पदम दाइ म भेट्न आउन सकिनँ, नयाँ जीवनको शुभकामना छ’ भनेको उनले सुनाए । एक दिन बाँचे पनि हरेक दिन हात्ती गाउँ पस्ने गरेका कारण पदमबहादुरको मनमा त्यस्तै घटना फेरि दोहोरिने हो कि भन्ने चिन्ता बाँकी नै छ ।

‘घाइते भएको हात्ती बदला लिन फेरि आउँछ भनेर गाउँलेहरूले डर देखाउँछन् । रातभरि निद्रा लाग्दैन । उहाँ (पदमबहादुर) पनि राति हात्ती आएको सपना देखेर झस्किएर ब्युँझिने गर्नुहुन्छ,’ पदमबहादुरकी पत्नी पवित्राले भनिन् ।

हात्तीको आक्रमण फेरि नहोस् भनेर उनीहरूले घरको पहिलो ढोकानेर गणेशको मूर्ति राखेर दैनिक पूजापाठ गर्न थालेका छन् । ‘हात्तीलाई मैले सुँढ र निधारमा हिर्काएर चोट लगाएको छु । त्यो चोटको बदला दिन नआउनुहोस् भन्दै गणेश भगवानसँग माफी माग्दै पाठपूजा गर्दैछु । गाउँलेहरूको सल्लाह मानेर यसो गरेको हुँ,’ गणेशको मूर्ति राखेको स्थान देखाउँदै पदमबहादुरले भने ।

उनको घरसँगै सडक जोडिएको छ । सडकसँगै जलथलको घना चारकोशे जङ्गल टाँसिएको छ । वरिपरिका सात घर हात्तीको त्रासले बसाई हिँडेर अन्यत्रै गएपछि अहिले पदमबहादुरको घर एक्लै भएको छ । अर्को जन्म पाएसरहका उनको अवस्था बुझ्न स्थानीय सरकार र सम्बद्ध निकायबाट आजसम्म कोही पुगेका छैनन् ।

पच्चीस वर्षदेखि यही स्थानमा बसोबास गर्दै आएका उनले सरकारबाट पुनर्वास परियोजनामार्फत् पाएको १५ कठ्ठा पाखो जग्गा छाडेर बसाइँ हिँड्न चाहेका छैनन् । ‘बेचौँ भने जग्गा कसैले किन्दैन, छाडेर जान मनले मान्दैन,’ उनी भन्छन्, ‘लगाएको मकै, कोदो, धान र तोरी बाली पनि हात्तीले नै खाइदिन्छ । बाँच्न गाह्रो भएको छ हामीलाई ।’ दिनभरि जङ्गलमा आराम गर्ने हात्ती रात परेपछि गाउँमा पसेर बाली खाएर र कुल्चेर क्षति पु¥याउने गरेका छन् ।

घर माया मार्न नसकेपछि पदमबहादुरले हात्तीबाट बच्न घरवरिपरि बिजुलीको तार टाँगेका छन् । राति ८ बजेपछि त्यो तारमा बिजुलीको करेन्ट प्रवाह गरिन्छ । बिहान ४ बजे मात्र करेन्ट बन्द गरिन्छ । उनले आफ्नो घर चारपटक हात्तीले भत्काउने प्रयास गरिसकेको बताए । हात्तीको डरले साँझ परेपछि घरभित्र पसेर दैलो लगाउने गरेका उनी बिहान उज्यालो भएपछि मात्र ढोका खोलेर बाहिर निस्कने गरेको बताउँछन् ।

एक दशकअघिसम्म झापाको उत्तरी क्षेत्रका बाहुनडाँगी, बुधवारे, मेचीनगर र खुदुनाबारीमा मात्र हात्तीको आक्रमण हुन्थ्यो । तर अचेल जिल्लाको दक्षिणी क्षेत्रका भद्रपुर, कचनकबल, हल्दिबारी र बाह्रदशी पालिकामा जङ्गली हात्तीको आक्रमण र त्यसबाट हुने क्षति बढिरहेको छ । मानवीय क्षति पनि बढेको बढ्यै छ ।

ग्यास्ट्रिक, प्रेसर, दम, प्रोस्टेटलगायतका विभिन्न रोगका बिरामी पदमबहादुर दम्पतीलाई रोग र भोकले भन्दा हात्तीको आक्रमणबाट अचानक मरिएला कि भन्ने त्रास छ । आफूसँग रहेको एउटा फगी लाइट हात्तीसँगको भिडन्तमा फुटेर बिग्रिएपछि उनीसँग अहिले राति बाहिर हेर्ने उज्यालोकोसमेत कुनै प्रबन्ध छैन । सरकारका कुनै निकायले पनि उनलाई हात्तीबाट बचाउन सहयोग गरेका छैनन् ।

पदमबहादुर हात्तीको जतिसुकै त्रास भए पनि थातथलो छाडेर नजाने बताउँछन् । उनका ३५ वर्षीय जेठो छोरा किशोर र ३० वर्षीय कान्छो छोरा मनकुमार छन् । जेठो छोरा ब्रेन ट्युमरको बिरामी भएपछि बुहारीले पनि छाडेर गइसकेको र उपचारमा १६ लाख खर्च भइसकेको उनले जानकारी दिए । दुवै छोरा वैदेशिक रोजगारीमा गएर फर्किए पनि सबै कमाई उपचारमै सकिएको उनले बताए । रासस

jackson ribon