birat ribon

३२ मिनेटभित्र रोनाल्डोको ह्याट्रिक गोल : आलोचना गर्नेलाई जवाफ

Neuro
३२ मिनेटभित्र रोनाल्डोको ह्याट्रिक गोल : आलोचना गर्नेलाई जवाफ

विराटनगर / पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक गोलको सहयतामा इटालियन सिरी ‘ए’मा साविक विजेता युभेन्टसले सहज जित निकाल्यो । आइतबार राति युभेन्टसले क्याग्लिआरीलाई उसैको मैदानमा ३–१ गोलले हराउँदा रोनाल्डोले ह्याट्रिक गोल गरे भने क्याग्लिआरीका जियोभानी सिमेवनले एक गोल फर्काए ।

रोनाल्डोले खेलको ३२औँ मिनेटभित्र ह्याट्रिक पूरा गरेका थिए । खेलको दसौँ मिनेटमा गोल गर्दै रोनाल्डोले युभेन्टसलाई सुरुआती अग्रता दिलाएका थिए । २५औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै रोनाल्डोले युभेन्टसको अग्रता दोब्बर बनाए । ३२औँ मिनेटमा गोल गर्दै रोनाल्डोले ह्याट्रिक पूरा गरे ।

cura insider

यससँगै रोनाल्डोले ब्राजिलियन लिजेन्ड पेलेको कीर्तिमान भङ्ग गरे । ह्याट्रिकसँगै रोनाल्डोले आधिकारिक खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाए । रोनाल्डोले आधिकारिक खेलमा सात सय ७० गोल पूरा गरे । पेलेको नाममा सात सय ६७ गोल छ । पेलेले सामाजिक सञ्जालमार्फत रोनाल्डोलाई बधाईसमेत दिएका छन् ।

यता, जितसँगै तेस्रो स्थानको युभेन्टसले २६ खेलमा ५५ अङ्क जोडेको छ । ऊ शीर्ष स्थानको इन्टर मिलानभन्दा दस अङ्कले पछि परेको छ । इन्टर भने ६२ अङ्कसहित शीर्ष स्थानमा छ । उसले युभेन्टसभन्दा एक खेल बढी खेलेको छ ।

दोस्रो स्थानको एसी मिलानसँग ५६ अङ्क छ । उसले पनि २७ खेल नै खेलेको छ । क्याग्लिआरी भने २२ अङ्कका साथ १७औँ स्थानमा छ ।

यसैगरी च्याम्पियन्स लिगमा अन्तिम १६ बाटै बाहिरिएपछि आलोचनाको सिकार बनेका रोनाल्डोले ह्याट्रिकबाटै जवाफ दिएका छन् । युभेन्टस पोर्चुगिज क्लब पोर्टोसँग अवे गोलका आधारमा पराजित हुँदै च्याम्पियन्स लिगबाट आउट भएको थियो ।

गत मङ्गलबार राति अन्तिम १६ अन्तर्गत पोर्चुगिज क्लब पोर्टोसँगको दोस्रो लेगमा जित निकाल्दा पनि अवे गोलका कारण युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरिएको थियो । पहिलो लेगमा २–१ गोलले पराजित युभेन्टसले दोस्रो लेगमा ३–२ गोलको जित निकाल्दा समग्रमा ४–४ को नतिजा बनाएको थियो । तर, अवे गोलका आधारमा युभेन्टस बाहिरिएको हो ।

पोर्टोविरुद्धको खेलमा रोनाल्डो गोल गर्न असफल भएका थिए । पछिल्ला तीन सिजन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा युभेन्टस पछि परेको दोस्रो लेगमा कमब्याक गरेको देखिएको थियो । युभेन्टसलाई पुनरागमन गराउन क्रिस्टियानो रोनाल्डोको मुख्य भूमिका देखिएको थियो ।

रोनाल्डो इटाली आएकै सिजन एथ्लेटिको मड्रिडसँगको पहिलो लेगमा युभेन्टस २–० गोलले पछि परेको थियो । दोस्रो लेगमा रोनाल्डोले ह्याट्रिक गर्दै एथ्लेटिकोसँगको अग्रता उल्टाएका थिए ।

यस्तै अघिल्लो सिजन लियोनविरुद्धको अग्रता उल्टाउँदा पनि रोनाल्डोले दुई गोल गरेका थिए । पहिलो लेगमा युभेन्टस लियोनसँग १–० गोलले पछि परेको थियो । तर दोस्रो लेगमा युभेन्टसले २–१ गोलको जित निकाल्दा रोनाल्डोले नै दुवै गोल गरेका थिए । तथापि अवे गोलका कारण युभेन्टस अन्तिम १६ बाट नै बाहिरिएको थियो ।

तर, पोर्टोविरुद्ध कमब्याक गर्न नसकेको भन्दै उनको आलोचना भएको थियो ।

jackson ribon