birat ribon

एपेन्डिसाइटिसको सङ्केत र यसको उपचार

Neuro
एपेन्डिसाइटिसको सङ्केत र यसको उपचार

विराटनगर / एपेन्डिसाइटिस आपत्कालीन शल्यक्रिया गर्नुपर्ने रोगमध्ये एक हो । पेटमा ठूलो र सानो आन्द्राको बीचमा हुने एउटा सानो अङ्ग एपेन्डिक्सको प्वाल बन्द भएमा लाग्ने रोगलाई एपेन्डिसाइटिस भनिन्छ ।

पेटको दाँयातिरको तल्लो भागमा हुने एपेन्डिसमा रोगविरुद्ध लड्न सक्ने क्षमता बढाउने केही तत्व हुने बताइए पनि यो शरीरका लागि काम नलाग्ने अङ्ग भनेर चिनिन्छ ।

cura insider

बाल्यकालदेखि २५ वर्षसम्म उमेर समूहका मानिसमा एपेन्डिसाइटिस धेरै हुने पाइएको छ । किशोर अवस्था कटेपछि महिलाको तुलनामा पुरुषमा एपेन्डिसाइटिस हुने समस्या धेरै पाइएको छ ।

शरीरमा भएको कुनै पनि सङ्क्रमणको कारण एपेन्डिक्स सुन्निएमा, एपेन्डिक्सको प्वालमा दिसा गएर बसेमा, कुनै खाना अड्किएमा, क्यान्सरको कारण, जुकाको कारण वा त्यहाँको चिज बाहिर निस्कन नसक्ने हुँदा एपेन्डिक्स बन्द हुन्छ । जसका कारण एपेन्डिक्स सुन्निन थाल्छ र यसको आकार पनि बढ्दै जाने हुन्छ र अन्ततः एपेन्डिसाइटिस हुन्छ ।

पेट दुख्नु एपेन्डिसाइटिसको सबैभन्दा प्रमुख लक्षण हो । सुरुमा नाइटोको वरिपरि दुख्छ अनि त्यो बिस्तारै सरेर दाहिनेतिरको तल्लो पेट (एपेन्डिक्स भएको ठाउँ)मा पुगेमा वा सुरुमै पनि एपेन्डिक्स भएको दाहिनेतिरको तल्लो पेट एक्कासि दुख्ने हुँदा एपेन्डिसाइटिस भएको सङ्केत हुनसक्छ ।

दुखाइसँगै वाकवाकी हुने, वान्ता हुने, ज्वरो आउने, सङ्क्रमण बढेर पिप जम्न थालेमा आन्द्रा बन्द हुने, पिसाबमा सङ्क्रमण हुने, सेप्सिस हुने, दिसा पातलो हुने, झाडापखाला हुनेजस्ता लक्षण देखापर्न सक्छ । एपेन्डिसाइटिसको समस्या पत्ता लाग्नेबित्तिकै यसको उपचार गर्नुपर्ने हुन्छ ।

समयमा उपचार नभएमा एपेन्डिक्स डल्लो हुने, एपेन्डिक्स वरिपरि पिप जम्ने तथा एपेन्डिक्सको बाटो बन्द भएको कारण एपेन्डिक्स फुट्ने र सङ्क्रमण शरीर भरि फैलन पनि सक्छ ।

एपेन्डिसाइटिसको समस्या भएका सबै बिरामीमा यसको उपचार शल्यक्रियामार्फत हुन्छ भन्ने पनि हुँदैन । बिरामीको अवस्था, दुखाइ तथा देखिएका लक्षणको गम्भीरता, रगतमा सङ्क्रमण भएको छ वा छैन छ भन्ने कुराको आधारमा एपेन्डिसाइटिसको उपचार शल्यक्रियामार्फत वा औषधिबाट गरिने भनेर निर्धारण गरिन्छ ।

jackson ribon