birat ribon

विराटनगरबाट ट्याङ्करमा भारत डिजल तस्करी, तस्करीको आरोपमा दुई पक्राउ

Neuro
विराटनगरबाट ट्याङ्करमा भारत डिजल तस्करी, तस्करीको आरोपमा दुई पक्राउ

विराटनगर / विराटनगरबाट भारततर्फ ट्याङ्करमा नै इन्धन तस्करी हुने गरेको पाइएको छ । डिजल लोड गरी भारततर्फ जान लागेको ट्याङ्कर नियन्त्रणमा लिएसँगै भारतबाट आयात गरिएको इन्धन भारत नै तस्करी हुने गरेको पाइएको हो ।

प्रहरीले इन्धन तस्करीमा संलग्न रहेको आरोपमा भारत अररिया जिल्ला मिरगन्जका २६ वर्षीय मोहमद सजाद र २१ वर्षीय इमरोज आलमलाई पक्राउ गरेको छ ।

cura insider

शनिबार पेट्रोल लिनका लागि भारत जाने तयारीमा रहेको को१ख ५९१२ नम्बरको ट्याङ्कर जाँच गर्दा दुई हजार छ सय ६० लिटर डिजल बरामद भएको थियो । ट्याङ्करको दुई नम्बर च्याम्बरमा आधा लोड गरिएको अवस्थामा डिजेल भेटिएपछि आयल निगम विराटनगरले प्रहरीलाई खबर गरेकाे थियाे ।

नेपालमा भन्दा भारतमा इन्धन महँगो छ । भारतको बरौनी डिपोबाट शुक्रबार आयल निगम विराटनगरका लागि पेट्रोल लिएर आएको सो ट्याङ्करले डिलरहरुमा पेट्रोल अनलोड गरेपछि पुनः इन्धन लिनका लागि भारत जाने लाइनमा थियो ।

भारतमा इन्धन महँगो भएका कारण निगमले भारत जाने खाली ट्याङ्करमा पनि लक लगाउने गरेको थियो । शनिबार लक लगाउने क्रममा डिजेल लोड गरेको अवस्थामा भेटिएको आयल निगम विराटनगरका सूचना अधिकारी दिवस बिष्टले जानकारी दिए ।

‘शुक्रबार बरौनीबाट आएको ट्याङ्करले सोही दिन डिपोमा ढुवानी गरी शनिबार निगममा आएको थियो,’ उनले भने, ‘हामीले भारत जाने खाली ट्याङ्करमा पनि लक गर्ने गरेका थियौँ, जसको चाबी विराटनगर र बरौनी डिपोमा मात्रै हुन्छ, तर लक गर्ने क्रममा शङ्का लागेर हेर्दा ट्याङ्करमा डिजल भेटियो ।’

डिजल भेटिएपछि कारवाहीका लागि प्रहरी हुँदै राजस्व अनुसन्धान कार्यालयलाई जिम्मा लगाइएको उनले बताए ।

वीरगञ्जपछि विराटनगरमा, मिलेमतोको आशङ्का

दुई महिनाअघि वीरगञ्जमा ट्याङ्करबाटै भारत तेल तस्करी हुने गरेको फेला परेको थियो । शनिबार भने विराटनगरमा नै भेटिएको हो ।

‘भारतमा महँगोमा बेच्नका लागि चोरी गरी लैजाँदारहेछन्,’ आयल निगम स्रोतले भन्यो, ‘नेपालको तुलनामा भारतमा इन्धन धेरै महँगो छ ।’

सो ट्याङ्कर ढुवानी व्यावसायी सङ्घ सचिव चरणप्रित सिंहको हो । शुक्रबार राति सिंहको ट्याङ्करले बुढीगङ्गाको नेमुवामा रहेको नितेश आयलमा इन्धन भरेको थियो । नितेश आयलका सञ्चालक महेश अग्रवाल हुन् ।

‘ड्राइभरले मात्रै चोरी गर्ने आँट गर्दैन, यहाँ गाडी मालिक सिंहकै हात छ,’ स्रोतले भन्यो, ‘मिलेमतोमा इन्धनको तस्करी हुँदैछ ।’

निगमले विराटनगर र बरौनीमा मात्रै लक खोल्ने चाबी रहेको बताउँदै आएको छ । लक खोलेर डिलर (पम्प) सम्म खन्याउन पठाउँदा खाली भएपछि निगममा फर्काइने ट्याङ्करले बीचैमा अरु पम्पबाट तस्करीका लागि डिजेल भरेर आउने गरेको पुष्टि भयो । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईका अनुसार इन्धन तस्करीको घटना बाहिर आएपछि प्रहरीले पनि अनुसन्धान सुरु गरेको बताए ।

भारतमा डिजेल, पेट्रोल लगायतका पेट्रोलीयम पदार्थको मूल्य धेरै भएकाले नेपालबाट तस्करी भएकाे हाे । प्रदेश १ मा डिजेलको मूल्य प्रति लिटर ९७ रुपैयाँ ५० पैसा र पेट्रोलको एक सय १४ रुपैयाँ ५० पैसा तोकिएको छ । नेपालमा भन्दा भारतमा डिजेल प्रति लिटर ३५ रुपैयाँ ९३ पैसा र पेट्रोल ४२ रुपैयाँ महँगोे छ ।

jackson ribon