birat ribon

भारतीय बजारमा अम्रिसो कुचोको माग बढ्यो

Neuro
भारतीय बजारमा अम्रिसो कुचोको माग बढ्यो

धरान / पहाडी जिल्लामा नगदेबालीका रूपमा रहेको अम्रिसो कुचो भारत निर्यात हुन थालेपछि मूल्य बढेको छ । विगतमा प्रतिवटा ४० रुपैयाँका दरले बिक्री हुँदै आएको अम्रिसो कुचो अहिले बजारमा एक सयदेखि एक सय ३० रुपैयाँसम्म पर्छ ।

अम्रिसो कुचोको मूल्य गत वर्षको तुलनामा तीन गुणा बढेको सुनसरी धरानस्थित कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । उनले भने, ‘नेपाली बजारमा १० प्रतिशत मात्र बिक्री हुने अम्रिसो कुचोको ठूलो बजार भारत हो । अहिले भारततर्फ कम्तीमा पनि ९० प्रतिशत अम्रिसो निर्यात भएको छ ।’

cura insider

पहिले विदेश त्यति निर्यात नहुने गरेको अम्रिसो केही वर्ष यतादेखि भारतीय बजारमा माग बढ्दा यता नेपाली बजारमा मूल्य बढेको बताइएको हो । सामान्य पाखो जमिनमा उत्पादन हुने अम्रिसो कुचोको मूल्य यस वर्ष सोचेभन्दा उच्च भएपछि कृषक भने खुसी भएका छन् । कतिपय किसान अम्रिसो खेतीमा लाग्न थालेका छन् ।

धरान–२० विष्णुपादुकाको तामाखाममा करिब पाँच बिघा जग्गाको पाखो भित्तामा अम्रिसो खेती गर्दै आएका कृषक आइत राई यो वर्ष मूल्य राम्रो पाउँदा खुसी भएका छन् । ‘यसमा धेरै मेहनत हुँदैन । एकपटक रोपेपछि धेरै वर्षसम्म केही गर्नुपर्दैन,’ कृषक राईले भने । एकपटक रोपेपछि करिब २० वर्ष खासै स्याहार, गोडमेल, मल पानी लगाउन नपर्ने भएकाले लागत खर्च कम हुने गरेको छ । यो वर्ष कुचोको भाउ बढेकाले कृषक निराश हुनु नपरेको कुचो व्यवसायी विनोद कुलुङ बताउँछन् ।

कृषि उपज बजारका व्यवस्थापक भट्टराईका अनुसार चालू आर्थिक वर्षको फागुनको पहिलो सातासम्ममा चार हजार पाँच सय मेट्रिकटन अम्रिसो कुचोको कारोबार भएको छ । हालकै मूल्य कायम रहे ५६ करोडभन्दा बढीको आम्दानी हुने अनुमान गरिएको छ । कुचो चैत र वैशाखसम्म बिक्री हुन्छ । गत वर्ष तीन हजार ६ सय ९९ मेट्रिकटन कुचो बिक्री हुँदा १५ करोड मात्र आम्दानी भएको थियो ।

कुचोको मुख्य याम माघबाट सुरु भई वैशाखसम्म आउने गर्छ ।
सामुदायिक वन क्षेत्र वा निजी जग्गामा रोपिएको अम्रिसो खेतीबाट किसानले वार्षिकरूपमा लाखाँैको आम्दानी गर्ने गरेका छन् । सामुदायिक वन क्षेत्रको नाङ्गो डाँडा र आफ्नो बारीलाई सदुपयोग गर्दै यो खेतीलाई आम्दानीको मुख्य स्रोत कृषकले बनाएका छन् ।

अम्रिसोको फूलबाट कुचो प्रयोग गर्न सकिने र अर्कातर्फ पात खुवाउँदा गाई भैँसीको दूध बढ्ने किसानको भनाइ छ । ‘गाईबस्तुका लागि पोसिलो घाँस मानिन्छ,’ कटारी नगरपालिका–१३ की सावित्री राउत भन्छिन्, ‘फूलको कुचो बनाएर बिक्री गर्दा घर खर्च टर्ने पैसा कमाउन सकिन्छ ।’
अम्रिसो कुचोका लागि मात्र नभएर अम्रिसो पर्यटकको आकर्षण पनि बन्न थालेको छ ।

इलामको निस्दी गाउँपालिका–३ झिरुबाँसस्थित काउलेडाँडा कबुलियती वन समूहद्वारा गरिएको अम्रिसो खेतीले पर्यटकलाई लोभ्याउँदै आएको छ । अम्रिसो खेतीले हराभरा बनेपछि यस क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । पहिले उजाड डाँडा क्षेत्र अहिले अम्रिसो खेतीले रमणीय बनेको स्थानीय बताउँछन् । यहाँको दुई सय २५ हेक्टर वन क्षेत्रमा व्यावसायिक अम्रिसो खेती हुँदै आएको छ ।

पूर्वी नेपालका पहाडी धनकुटा, तेह्रथुम, भोजपुर, सङ्खुवासभा, खोटाङ, उदयपुर र पाँचथर तथा तराईका सुनसरीको विष्णुपादुका, सेर्गे, मोरङको उत्तरीक्षेत्रमा उत्पादित कुचो धरानमा सङ्कलन हुन्छ । अम्रिसो कृषकबाट जस्ताको त्यस्तै कच्चा मालको रूपमा थोक मूल्यमा खरिद गरेर झापाको धुलाबारी र मोरङको विराटनगरका व्यापारीलाई बिक्री गरेपछि त्यहाँका व्यापारीहरुले थप ब्रान्डिङ, प्याकेजिङ गर्ने र ५० किलोका बन्डल बनाएर भारतीय व्यापारीलाई बिक्री गर्ने गरेको कृषि उपज बजारका व्यवस्थापक भट्टराई बताउँछन् ।

नेपालको भौगोलिक बनावटअनुसार अम्रिसो कुचो खेती गर्ने प्रशस्त ठाउँ रहेको छ । पहाडी क्षेत्रमा यस कुचोको राम्रो उत्पादन हुने गरेको छ । तर भारतीय बजारमा यसको माग अधिक भएको सूचना नपाउँदा कृषकले उत्पादन गरेको कुचो त्यत्तिकै खेर गएको छ । उत्पादन भएको अम्रिसो कुचोलाई ब्रान्डिङ, प्याकेजिङ, मार्केटिङ र लेबलिङ गर्ने काम नेपालमा व्यवस्थापन गर्ने हो भने यसले राम्रो आम्दानी नेपाल भित्र्याउन सकिने व्यापारीहरू बताउँछन् ।

नेपाली अम्रिसो भारतको पश्चिम बङ्गाल, गुजरात, राजस्थान, पञ्जाब, बेंगलोर, दिल्ली, आन्द्र प्रदेशलगायत राज्यमा जाने गरेको छ । रासस

jackson ribon