birat ribon

युभेन्टसले भन्यो : रोनाल्डो अब २९ मिलियन युरोमै उपलब्ध

Neuro
युभेन्टसले भन्यो : रोनाल्डो अब २९ मिलियन युरोमै उपलब्ध

विराटनगर / लगातार दोस्रो सिजन च्याम्पियन्स लिगमा अन्तिम १६ भन्दा माथि बढ्न नसकेको युभेन्टसले आफ्ना फरवार्ड क्रिस्टियानो रोनाल्डो बेच्ने योजना बनाएको छ ।

इटालियन मिडियाका अनुसार युभेन्टसले च्याम्पियन्स लिगकै लागि अनुबन्ध गरेको भए पनि रोनाल्डोबाट अपेक्षाअनुरुप प्रदर्शन नपाएको भन्दै उनलाई बेच्ने योजना बनाएको हो ।

cura insider

अघिल्लो सिजन लियोनसँग च्याम्पियन्स लिगको अन्तिम १६ मा पराजित भएको युभेन्टसले यस सिजन पोर्टोसँग हारेको थियो । २०१८–१९ को सिजन भने युभेन्टस क्वार्टरफाइनलमा आयाक्ससँग पराजित भएको थियो ।

युभेन्टसले २०१८ मा पाँच पटकका रोनाल्डोलाई च्याम्पियन्स लिग जित्ने लक्ष्यका साथ महँगो रकम खर्चिएर अनुबन्ध गरेको थियो । तर च्याम्पियन्स लिग मात्र नभएर यो सिजन घरेलु लिगमा पनि युभेन्टस सङ्घर्षरत छ ।

युभेन्टसले रोनाल्डोलाई अरू खेलाडीभन्दा महँगो तलब दिँदै आएको छ । सय मिलियन युरोमा इटालियन क्लबमा भित्रिएका रोनाल्डोले करबाहेक वार्षिक ५४ मिलियन तलब थाप्छन् । रोनाल्डो र युभेन्टसबीच सन् २०२२ सम्मको सम्झौता छ ।

तर पछिल्ला केही सिजनयता रोनाल्डोको प्रदर्शनबाट निराश भएको युभेन्टसले रोनाल्डोलाई बेच्ने मनसाय बनाएको ‘कोर्रियर डेले स्पोर्ट्स’ले जनाएको छ । खबरका अनुसार युभेन्टसले रोनाल्डोको मूल्य मात्र २९ मिलियन युरो तोकेको छ ।

क्लबमा परेको आर्थिक प्रभावका कारण आन्द्रे पिर्लो नेतृत्वको क्लबले उनलाई २९ मिलियन युरोमै बेच्न चाहेको खबरमा जनाइएको छ । तथापि, यसबारे युभेन्टस र रोनाल्डोले आधिकारिक धारणा भने सार्वजनिक गरेका छैनन् ।

३६ वर्षीय रोनाल्डोमाथि फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) र इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडका साथै एमएलएस क्लबले नजर लगाएको बताइन्छ । तर रोनाल्डोले भने आफ्नो व्यवसायिक करिअरको अन्त्यतिर पूर्वक्लब स्पोर्टिङ लिस्बोन जाने मन बनाएको बताइएको छ ।

त्यसबाहेक रोनाल्डोका एजेन्ट जर्ज मेन्डेसले भने उनी पूर्वक्लब रियल मड्रिड फर्किन सक्ने सम्भावना छ ।

jackson ribon