birat ribon

ग्यास्ट्रिक लामो समय रहे क्यान्सरसमेत निम्त्याउन सक्ने

Neuro
ग्यास्ट्रिक लामो समय रहे क्यान्सरसमेत निम्त्याउन सक्ने

विराटनगर / जीवनकालमा कुनै न कुनै बेला सबै मानिसलाई ग्यास्ट्रिकको समस्याले सताएकै हुन्छ ।

सामान्य भाषामा ग्यास्ट्रिक भनेर चिनिने रोगलाई ग्यास्ट्राइटिस भनिन्छ । पेट तथा आमाशयको भित्री झिल्लीमा कुनै पनि कारण इन्फ्लामेसन हुने (सुजन वा सुन्निने), रातो हुने, साधारण वा भित्री घाउ भएमा ग्यास्ट्राइटिस हुने हुन्छ । चिल्लो, अमिलो, पिरो, धेरै मासु खाने वा खानपान गर्ने तरिका र तालिका नमिल्दा ग्यास्ट्रिकको समस्याले सताउने गर्छ ।

cura insider

चिल्लो पिरो धेरै नखाई, ठिक्क मात्रा र सही समयमा खाँदा ग्यास्ट्रिक नहुने मान्यता छ । यो केही हदसम्म सत्य हो । तर, ग्यास्ट्रिक खानपानले भन्दा पनि व्याक्टेरियाको सङ्क्रमणको कारणले गर्दा हुने कुरा अधिकांशलाई थाहा नभएको विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा कार्यरत ग्यास्ट्रिक तथा कलेजो रोग विशेषज्ञ डा. मोहन खड्का बताउँछन् ।

हेलोकोब्याक्टर पाइलरी (एच. पाइलरी) नामक व्याक्टेरियाका कारण ग्यास्ट्रिक हुने गर्छ । खानेबित्तिकै पेट फुल्ने, थोरै खाँदा पनि अघाएको जस्तो हुने, खाएपछि पेट दुख्ने, वाकवाकी लाग्ने, लामो समयसम्म पेट खाली हुँदा पनि दुख्ने, पेट फुल्ने लगायतका लक्षण देखिन सक्छ ।

नेपालमा अधिकांशलाई ब्याक्टेरिया ग्यास्ट्रिकको कारण भएको थाहा नहुने हुँदा धेरैले आफूखुसी ग्यास्ट्रिकको औषधिको सेवन गर्ने गर्छन् । यस्ता औषधिले पेटमा भएको एसिड केही मात्राले घटाउने हुँदा तत्कालका लागि केही आराम गरेको वा ग्यास्ट्रिक निको भएको जस्तो हुन्छ । तर, खान छोडेपछि पुनः समस्या दोहोरिएर बल्झिने गरिएको पाइएको छ ।

पेटमा भएको ब्याक्टेरिया नमरेसम्म ग्यास्ट्रिक निको हुँदैन । समयमा उपचार नगरेको खण्डमा हेलोकोब्याक्टर पाइलरी ब्याक्टेरिया लामो समयसम्म पेटमा भइरहे यसले अल्सर तथा क्यान्सरसमेत निम्त्याउन सक्छ । सामान्य सोचिएको ग्यास्ट्रिक घातकसमेत हुनसक्ने हुँदा ग्यास्ट्रिक के कारणले भएको पहिचान गर्न जरुरी भएको डा. खड्काको भनाइ छ ।

आफूखुसी औषधिको सेवन गर्नुभन्दा पनि अस्पताल गएर डाक्टरको परामर्श लिएर ग्यास्ट्रिकको जाँच गरी उपचार गराउनु पर्छ ।

jackson ribon