birat ribon

जसपाले भन्यो : प्रधानमन्त्रीसँगको छलफल सकारात्मक रह्यो

Neuro
जसपाले भन्यो : प्रधानमन्त्रीसँगको छलफल सकारात्मक रह्यो

काठमाडौँ / जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार भएको छलफल सकारात्मक रहेको प्रतिक्रिया दिएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र जसपाका शीर्ष नेताबीच छलफल भएको थियो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै जसपा नेता लक्ष्मणलाल कर्णले आजको छलफल सकारात्मक दिशामा केन्द्रित रहेको र आइतबार कार्यदल तहमा थप विचार विमर्श हुने जानकारी दिए ।

cura insider

जसपाले कैदीबन्दीको रिहाइ, मुद्दा फिर्ता एवं संविधान संशोधनको माग राख्दै आएको छ । आजको छलफलमा प्रधानमन्त्रीले ती मागका विषयमा आफू सकारात्मक रहेको बताएको नेता कर्णको भनाइ छ ।

कार्यदलस्तरमा थप छलफल गर्ने गरी आजको बैठक सकिएको हो । जसपासँग छलफलका लागि नेकपा (एमाले)का तर्फबाट नेताहरु सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल र राजन भट्टराई सम्मिलित कार्यदल गठन गरिएको छ । यस्तै जसपाका तर्फबाट नेताहरू सर्वेन्द्रनाथ शुक्ल र कर्ण सम्मिलित कार्यदल गठन भएको छ ।

सो कार्यदलमा केही नेताहरु थप गर्ने तयारी छ । प्रधानमन्त्रीसँगको छलफलका लागि अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव तथा नेताहरू राजेन्द्र महतो र अशोक राई प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

यसअघि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि उक्त भेटघाट सकारात्मक रहेको जनाएका थिए ।

jackson ribon