birat ribon

एपिएफ मेयर कप क्रिकेटको फाइनलमा

Neuro
एपिएफ मेयर कप क्रिकेटको फाइनलमा

काठमाडौँ / विभागीय टोली एपिएफ काठमाडौँ मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार एपिएफले काठमाडौँ ११ लाई सात विकेटले हराउँदै फाइनल यात्रा तय गरेको हो ।

यसअघि पुलिसको चार खेलमा छ अङ्कका साथ शीर्ष स्थानमा बस्दै बुधबार नै फाइनलमा प्रवेश गरिसकेको थियो । एपिएफले पनि चार खेलमा छ अङ्क जोडेपनि रनरेटमा पछि पर्दै दोस्रो स्थानमा बस्दै फाइनल यात्रा पक्का गरेको हो ।

cura insider

वाग्मती चार अङ्कका साथ तेस्रो स्थानमा रहँदा आर्मी र मेयर ११ समान २ अङ्कका साथ क्रमशः चौथो र पाँचौ स्थानमा रहे । मेयर ११ ले प्रस्तुत गरेको १ सय ७८ को लक्ष्य एपिएफले ४४.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्दा अन्तिम दुईको यात्रा सम्भव भएको थियो ।

१ रन जोड्दा ओपनर आसिफ शेखलाई गुमाएसँगै एपिएफले सुखद सुरुआत भने गर्न सकेन । आसिफलाई पहिलो ओभरको अन्तिम बलमा अनुज चुनाराले बोल्ड गरेका थिए । दोस्रो विकेटका लागि अर्को ओपनर शङ्कर राना र कप्तान शरद भेषावकरले ४३ रनको साझेदारी गर्दै एपिएफको इनिङ सम्हाल्ने प्रयास गरेका थिए ।

शङ्करले अनिल खरेलबाट एल्बीडब्लुको शिकार हुनुअघि ४९ बलमा पाँच चौका मद्दतमा ३१ रन जोडे । शङ्कर पभेलियन फर्किएपछि ब्याटिङका लागि आएका भुवन कार्कीले पनि मात्र ११ रन जोडे । भुवनलाई मेयर ११ का कप्तान सन्दीप लामिछानेले बोल्ड गरेका थिए । चौथो विकेटका लागि शरद र सन्दीप जोराले अविजित एक सय २१ रनको साझेदारीका साथ एपिएफको फाइनल यात्रा पक्का गरेका थिए ।

शरदले एक सय १८ बलमा पाँच चौका र एक छक्का मद्दतमा अविजित ६१ रनको योगदान गर्दा सन्दीप जोराले ७९ बलमा नौ चौका मद्दतमा अविजित ६२ रनको योगदान गरे । मेयर ११ का सन्दीप, अनुज र अनिलले समान एक विकेट लिएका थिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मेयर ११ ले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ७७ रनको योगफल तयार पारेको थियो ।

मेयर ११ का लागि सन्दीप रजाइलीले सर्वाधिक ४८ रनको योगदान गर्दा हरिशङ्कर शाहले ३६ र विक्रम भुषालले २० रन जोडे । एपिएफका अविनाश बोहोरा र कमलसिंह ऐरीले समान तीन विकेट लिएका थिए । भुवन कार्की, शरद र वसन्त रेग्मीले समान एक–एक विकेट लिएका थिए ।

बुधाबर नै भएको अर्को खेलमा वाग्मती प्रदेशले प्रतियोगितामा सुखद अन्त्य गर्ने क्रममा आर्मीलाई १० रनले हराएको हो । वाग्मतीले प्रस्तुत गरेको दुई सय ६७ रनको लक्ष्य पछ्याएको आर्मीले ४८.१ ओभरका सबै विकेट गुमाउँदै दुई सय ५६ रन मात्र जोड्न सक्यो ।

आर्मीका कप्तान विनोद भण्डारीले एक सय १९ रन जोडेपनि टोलीको हार भने टार्न सकेनन् । ओपनर लोकेश बमले ४६ रन जोडे भने करण केसीले २४ रन जोडे । विनोदले एक सय १४ बलमा ८ चौका र ७ छक्का प्रहार गरेका थिए ।

वाग्मतीका ओरियो पौडेलले पाँच विकेट लिए भने रामनरेश गिरीले एक तथा नन्दन यादव, सोनु देवकोटा र पारसले समान एक–एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको वाग्मतीले ४९.४ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ६६ रनको योगफल तयार पारेको थियो । वाग्मतीका लागि पारसले एक सय ३३ बलमा ११ चौका र दुई छक्काको मद्दतमा एक सय १९ रन प्रहार गरे । आर्मीका सोमपाल कामीले पाँच विकेट लिए ।

jackson ribon