birat ribon

दुई दशक बित्दा पनि भएन चक्रपथ निर्माण

Neuro
दुई दशक बित्दा पनि भएन चक्रपथ निर्माण

विराटनगर / विराटनगर चक्रपथ निर्माण योजना सुरु भएको दुई दशक बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । यसले कहिले पूर्णता पाउला भन्ने पनि अझै टुङ्गो छैन । यति लामो समयसम्म पनि चक्रपथ निर्माण हुनु त कता–कता बरु पूर्वाधार निर्माणकै कामले गति लिन सकेको छैन ।

विराटनगर महानगरपालिकाको बाहिरी क्षेत्रमा निर्माण गर्न यसको सुरुआत भएको २२ वर्ष पूरा भएको छ । छिट्टै तयार हुने भनिएको चक्रपथ केही स्थानमा कालोपत्रे पनि भइसकेको पूर्वाधार विकास कार्यालय विराटनगरले जनाएको छ ।

cura insider

कार्यालयका अनुसार गएको वर्षमा विराटनगरमा पछाडि परेको भनिएको क्षेत्रमा काम भएको भए पनि अहिले आएर भने रोकिएको बताइएको छ । सरोकारवाला बजेट अभावले नै निर्धारित काम पनि पूर्ण हुन नसकेको बताउँछन् । एकातर्फ बजेटको अभाव देखिन्छ भने अर्कातर्फ चक्रपथको बाटो खोल्न नै अझ केही समय लाग्ने अनुमान कार्यालयको छ ।

यसका निम्ति छुट्ट्याइएको जग्गासमेत अतिक्रमित हुने समस्या उब्जन सक्ने कतिपयको भनाइ छ ।
दिन प्रतिदिन बस्ती बाक्लो हुँदै जानु र छुट्ट्याइएको जग्गामा बाटो नबन्नुले विराटनगरको विकासमा केही समस्या थपिएको अनुमान लगाउन सकिन्छ । बाटोसँगै बन्ने पुलपुलेसा, नाला पनि बन्ने आयोजनामा थियो । जसका कारण विगतमा डुबानमा पर्ने विराटनगरका केही क्षेत्रको समस्या पनि समाधान हुने अनुमान गरिएको थियो ।

विसं २०५४ मा भएको स्थानीय निकायको निर्वाचनको २० वर्षपछि २०७४ सालमा स्थानीय तहको निर्वाचन भयो । त्यसपछि बनेको स्थानीय सरकारको समयमा यो चक्रपथ विराटनगर महानगरपालिकाको मातहतमा नभएर अहिले पूर्वाधार विकास कार्यालय विराटनगरअन्तर्गत राखिएको छ । यसअघि चक्रपथको काम सहरी विकास तथा भवन डिभिजन कार्यालयको मातहतमा थियो । जिम्मेवारी पूर्वाधारमा गए पनि अहिलेसम्म चक्रपथका निम्ति बनाइएको आधार, विवरण, नक्शाजस्ता कागजपत्र डिभिजन कार्यालयमै रहेको पूर्वाधार विकास कार्यालयको भनाइ छ ।

विराटनगर चक्रपथ कुल लम्बाइ ४२ किलोमिटर छ । यसको ३७ किलोमिटर ट्रयाक खोल्ने काम मात्रै सकिएको छ । पाँच किलोमिटर ट्रर्याक खन्न अझै बाँकी रहेको बताइएको छ । चक्रपथ बजेट अभाव र राजनीतिक इच्छाशक्ति नभएकाले पनि निर्माण नभएको हो । चक्रपथको ठूलो उपभोक्ता रहेको विराटनगर महानगरपालिकासँग पर्याप्त बजेट छैन । पहलकदमी भइरहेको छ तर सम्बन्धित निकायले चासो नदेखाएर विराटनगरको चक्रपथ अलपत्रमा परेको विराटनगर महानगरपालिकाले जनाएको छ ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सरकारले विराटनगर महानगरपालिकालाई अन्य महानगरपालिकालाई जति पनि बजेट नदिने गरेको बताए । विराटनगरको विकासमा धेरै ठूलो महत्त्व राख्ने विराटनगर चक्रथले छिट्टै पूर्णता पाओस् भनेर आफूले सरकारसँग माग गरिरहेको उनले बताए ।

सुरुमा भौतिक योजना मन्त्रालयमातहत रहनेगरी सरकारले २०५४ सालमा सुरु गरेको यो आयोजना सहरी विकासदेखि स्थानीय विकास मन्त्रालय हुँदै प्रदेश सरकारमातहत आइपुगेको छ भने यो आयोजना पुनः सङ्घीय सरकारतर्फ फर्किने अवस्थामा रहेको पूर्वाधार विकास कार्यालय विराटनगरका प्रमुख राजन रेड्डीले जानकारी दिए । उनले भने, ‘यो आयोजना सम्पन्न गर्न दुई चार करोड रुपैयाँले हुँदैन, अर्बांै रुपैयाँ चाहिन्छ । यसका लागि स्थानीय तह, प्रदेश सरकार सक्षम छैनन्, त्यसैले यो आयोजना केन्द्रतर्फ फर्किने सम्भावना रहेको मैले देखेको छु ।’

निर्माण सुरु भएको लामो समय बितिसक्दा बनेका संरचना पनि खण्डहर हुन लागेको छ । दीर्घकालीन कार्ययोजना र विस्तृत अध्ययन अनुसन्धानबिना नै ट्रर्याक खोलेर कालोपत्र गरिएकाले सडकमा गुणस्तर कायम नभएको हो । यसैकारणले अहिले पूर्वाधार विकास कार्यालयले डिपिआर तयार गरेको छ । यसअनुसार यो आयोजना सम्पन्न गर्न करिब दुई अर्ब ५० करोड लागत लाग्ने देखिएको प्रमुख रेड्डीको भनाइ छ ।

उनले विगतमा बनेको यो बाटो भन्दा निकै फराकिलो, गुणस्तरीय अर्थात चार लेनको हुने जानकारी पनि दिए । पूर्ववत् अवस्थाको यो चक्रपथको काम ८० प्रतिशत बाटोमा कालोपत्र भइसकेको बताइएको छ । विराटनगर महानगरपालिका तथा आसपास क्षेत्रका जनताको जीवनस्तर उकास्न यो बाटोले निकै ठूलो महत्व राख्ने भएकोले यसको निर्माणमा सक्दो पहल गर्ने कुरामा प्रमुख रेड्डी सहमत हुनुहुन्छ । सङ्घीय शहरी विकास योजना अन्तर्गत रहेको यो चक्रपथ अहिले प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयमा आएको छ । चक्रपथको जिम्मेवारी पाएको यो कार्यालयले गएको वर्षमा केही रकमको काम गरेको छ ।

चक्रपथ निर्माणको काम पैसा अभावले मात्र नभइ कामै गर्न नसकेर पनि आएको रकम पनि फ्रिज भएको शहरी विकास कार्यालयको भनाइ छ । कार्यालयका अनुसार गएको १० वर्षको अवधिमा यो चक्रपथका लागि ५० करोड बजेट आएको हो । तर काम हुन नसक्दा बजेट फिर्ता भएको बताइएको छ । देशका अन्य आयोजना जस्तै यो चक्रपथमा पनि मुआब्जा विवाद नै प्रमुख समस्या देखिएको छ । ४२ किलोमिटरमध्ये करिब पाँच किलोमिटरमा यस्तो विवाद पनि देखिएको छ ।

मुआब्जा विवाद तत्काल हल हुने छाँटकाट देखिएको छैन । स्थानीयवासीले मुख्य मागका रूपमा जग्गाको मुआब्जालाई नै अघि सारेका छन् । जसका कारण चक्रपथ निर्माण सकिन अझै निकै समय लाग्ने देखिन्छ । निर्माणको कामले गति नलिनुमा बजेट अभावदेखि स्थानीयवासीको अवरोध मूल कारण रहेको देखिएको छ ।

विराटनगर–१६ का रुपेशकुमार गुप्ताको गुनासो उस्तै छ । उनले पनि दुई दशकदेखि निरन्तर जग्गाको कर तिर्दै आएका छन् । योजना अलपत्र बनाएर छोडिदिँदा जग्गाको मोलभाउ पनि नबढेको र पानीको निकास नहुँदा वर्षायाममा डुबानको अर्को समस्या भएको उनको गुनासो छ ।

विराटनगर चक्रपथ निर्माणले गति नलिएपछि कटहरी क्षेत्रमा ट्र्याक खोलेको चार किलोमिटर सडकमा स्थानीयवासीले पुनः जोतभोग गरिरहेको पाइएको छ । तत्कालीन विराटनगर उपमहानगरपालिका र आसपासका कटहरी, भौडाहा, बैजनाथपुर, झोराहाट, लखन्तरी, हात्तीमुडा र टङकिीसिनुवारी गाविसलाई जोड्ने गरी जग्गा विकास योजनासहितको चक्रपथ निर्माण थालिएको थियो ।

यीमध्ये अधिकांश गाविस अहिले विराटनगर महानगरपालिकामा समेटिएका छन् । सार्वजनिक निजी साझेदारीमार्फत् सरकारले स्थानीयवासीको जग्गा लिएर चक्रथ बनाउने र सडकका दुवैतिर १०० मिटर प्लानिङ गरी स्थानीयवासीलाई नै फिर्ता गर्ने योजना अघि सारेको थियो ।

विराटनगरका युवा राजेश ढङगेलले विकास निर्माणमा कहिले पनि ढिलो गर्न नहुने र ढिलो हुँदा समस्या र लागत दुबै बढ्ने भएकोले यसलाई समयमै सम्पन्न गर्न सम्बन्धित निकायले बल गर्नुपर्ने धारणा राखे । रासस

jackson ribon