birat ribon

मृगौलाको विशेषज्ञ सेवा छिट्टै सुरु : प्रधानमन्त्री ओली

Neuro
मृगौलाको विशेषज्ञ सेवा छिट्टै सुरु : प्रधानमन्त्री ओली

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मृगौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने बताएका छन् । विश्व मृर्गौला दिवसका अवसरमा आज यहाँ आयोजित चेतनामूलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले छिट्टै त्यस्ता सेवा स्थापना गर्न मृगौलाविद् एवं चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्राडा दिव्यासिंह शाहसहितका विज्ञ क्रियाशील रहेको जानकारीसमेत दिए ।

‘मृगौलालाई रोगबाट कसरी बचाउन सकिन्छ र रोग लागिहालेमा प्रत्यारोपणसहितको सम्पूर्ण उपचार सेवा स्वदेशमै कसरी उपलब्ध गराउने समेत गरी मुख्य दुई कुरामा ध्यान केन्द्रित गर्नुपर्छ,’ उनले भने । प्रधानमन्त्री ओलीले समेत दुईपटक मृगौला प्रत्यारोपण गराइसकेका छन् ।

cura insider

‘हाम्रो खानपिन वा दैनिकीमा मृगौलालाई असर पार्ने खानपिन वा व्यवहार के हो ? त्यसबाट कसरी जोगिनेजस्ता कुरालाई ध्यान दिन जरुरी छ,’ उनले भने । उपचार, प्राथमिक परीक्षण, प्रयोगशाला र विशेषज्ञ चिकित्सकका लागि धेरै टाढा जान नपरोस् भन्ने सरकारको ध्येय रहेको जनाउँदै उनले मृगौला रोग जसलाई पनि हुन सक्ने भएकाले सबै सजग हुनुपर्ने बताए ।

पहिलोपटक मृगौला प्रत्यारोपण गर्दा स्वदेशमा त्यससम्बन्धी विशेषज्ञ सेवा नभएका कारण आफू विदेश जानुपरेको कुरालाई पनि प्रधानमन्त्रीले स्मरण गराए । ‘केही मानिसले मलाई बाहिर गएर उपचार गरायो भने तर म रहरले वा बाहिर पैसा बुझाउनका लागि गएको थिइन, यहाँ सुविधा नहुँदा गएको थिएँ,’ उनको भनाइ थियो ।

वरिष्ठ मृगौला रोगविशेषज्ञ डा. ऋषिकुमार काफ्ले बर्सेनि नेपालमा तीन हजार व्यक्तिको मृगौला बिग्रने गरेको बताउँछन् । उनले जीवनशैली, खानपान ख्याल नगर्दा मानिसको मृर्गाला बिग्रने गरेको बताए । अस्वस्थकर जीवनशैली, पानीको कमी, मानसिक तनाव, मिर्गौलाको नियमित स्वास्थ्य जाँच नराउनुजस्ता कारणले मृगौला रोग लाग्ने गर्छ ।

उनका अनुसार मृगौला रोगबाट बचाउनका लागि मानिसमा जनचेतना जगाउन आवश्यक छ । ‘बिग्रँदो जीवनशैली र खानपान सन्तुलन नराख्दा मानिसको मृगौला बिग्रने गरेको छ,’ उनले भने, ‘उपचारभन्दा पनि मिर्गौला बिग्रन नदिनका लागि मानिसलाई जनचेतना जगाउन आवश्यक छ ।’

विश्वको जनसङ्ख्यामध्ये १० प्रतिशत मानिसलाई मृगौला रोग लाग्छ । मिगौला बिग्रिएपछि प्रत्यारोपण र रक्त शुद्धिकरण दुईमात्र विकल्प हुन्छ । नेपालमा मृगौला प्रत्यारोपण वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्र, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, सुमेरु अस्पताल र निदान अस्पतालमा गरिन्छ ।

सरकारले मृर्गौला प्रत्यारोपण र रक्त शुद्धिकरणको निःशुल्क व्यवस्था गरेको छ । डा. काफ्लेका अनुसार बर्सेनि पाँच हजारले डायलासिस र दुई हजार पाँच सय जनाले मृगौला प्रत्यारोपण गर्ने गरेका छन् । ‘मृगौला रोगका साथमा स्वस्थ्य जीवन’को नारासहित आज नेपालसहित विश्वभर मृगौला दिवस मनाइँदैछ । रासस

jackson ribon