काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षकी नेतृ पम्फा भुसालले महिलाहरुले ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुपर्ने बताएकी छन् ।
सोमबार एक सय ११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा अनेरास्ववियुले आयोजना गरेको टेम्पोचालक महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ भुसालले ५० प्रतिशतभन्दा बढी सङ्ख्यामा रहेका महिलाहरूले सबै क्षेत्रमा ५० प्रतिशतभन्दा बढी अधिकार प्राप्तिको निम्ति आन्दोलन गर्नुपर्ने बताएकी हुन् ।
संविधानतः महिलाहरुले धेरै अधिकार पाएको भए पनि कार्यान्वयनको चुनौती रहेको भन्दै उनले त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘आज संविधानतः, कानुनतः नेपाली जनता र नेपाली महिलाले धेरै अधिकार पाएको हामी मान्छौँ । तर कार्यान्वयनको तहमा चुनौती छ, समस्या छ ।’
नेतृ भुसालले राजनीतिक अधिकारले मात्रै नपुग्ने भन्दै अधिकारहरुको कार्यान्वयनको आधार आर्थिक समानता भएकाले महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिइन् । महिलालाई पैतृक सम्पतिमाथिको अधिकार सुनिश्चित गर्नुपर्ने, घरेलु कामलाई आर्थिक उत्पादनको काममा गणना गरिनुपर्ने तथा बेरोजगार महिलाहरुलाई भत्ता दिई संविधानले प्रदान गरेको अधिकारलाई सरकारले कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।