birat ribon

मोरङको सुन्दरहरैँचामा भएको दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

Neuro
मोरङको सुन्दरहरैँचामा भएको दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

विराटनगर / मोरङको सुन्दरहरैँचामा आज (आइतबार) बिहानका राति भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।

cura insider

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सुन्दरहरैँचा नगरपालिका–८ र ७ को सिमानास्थित मध्याली पुलनजिक हायस माइक्रो र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेर मोटरसाइकलमा सवार मोरङको बेलबारी नगरपालिका–११ का २१ वर्षीय अर्जुन न्यौपाने र मनोज कटुवालको मृत्यु भएको हो ।

मृतक दुवै जनाको बिहान ७ बजेतिर पहिचान खुलेको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा बिहान १ः४० बजेतिर विराटनगरको कोसी अस्पतालमा ज्यान गएको एसपी शर्माले बताए । उनका अनुसार ढिलो गरेर दुवै मृतकको पहिचान खुले पनि उनीहरुमध्ये कसले मोटरसाइकल चलाएको थियो भनेर यकिन हुन सकिरहेको छैन ।

दुर्घटनामा हायसका चालक काठमाडौं बस्ने २८ वर्षीय गणेश थापा र सह–चालक मोरङ बेलबारीका अन्दाजी १८ वर्षीय उत्सव गिरी घाइते भएका छन् । गम्भीर अवस्थाका दुवै जनाको विराटनगरस्थित विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको जानकारी शर्माले दिए । उनीहरुमध्ये सह–चालकको दाहिने हातको पञ्जा र कपाल जलेको छ । दुवै जनाले मादक पदार्थ सेवन (मापसे) गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

एसपी शर्माका अनुसार दुर्घटना भए पनि हायसमा यात्रा गरिरहेका १२ जना यात्रु भने सकुशल रहेका छन् । उनीहरु आफ्नो गन्तव्यतर्फ लागिसकेका छन् । हायसका चालकले मापसे गरेका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । मृतक दुई जनाले मापसे गरे–नगरेको खुल्न बाँकी छ ।

दुर्घटनामा परेर अगाडिको भागमा क्षति पुगेको हायस माइक्रो ।

काठमाडौंबाट यात्रु लिएर झापाको बिर्तामोडतिर जाँदै गरेको बा ४ ख ६९६ नम्बरको हायस माइक्रो र विपरीत दिशा (पूर्वबाट पश्चिमतर्फ) बाट आउँदै गरेको प्रदेश २–०२–००१ प ३८७८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । तीव्र गतिमा रहेको मोटरसाइकल एक्कासि हायसको अगाडिको भागमा बिहान १२ः४० बजेतिर सुन्दरहरैँचा–८ स्थित मध्याली पुलनजिक ठोक्किएको घटनाका प्रत्यक्षदर्शी यात्रुले प्रहरीलाई बताएका छन् ।

दुर्घटनापछि आगो लागेर पूर्ण रुपमा जलेको मोटरसाइकल ।

मोटरसाइकल ठोक्किएपछि अनियन्त्रित बनेको हायसले सवार रहेका दुई जनासहित मोटरसाइकललाई घिसारेर दुई सय मिटर पर सडकको दक्षिणतर्फ सुन्दरहरैँचा–७ स्थित खेतमा पुर्याएको जानकारी एसपी शर्माले दिए । दुर्घटनापछि भएको आगलागीमा परेर मोटरसाइकल पूर्ण रुपमा जलेको छ । दुर्घटनामा हायसको अगाडिको भागमा क्षति पुगेको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ ।

jackson ribon