birat ribon

विधिको प्रयोग

Neuro
विधिको प्रयोग
सनत सापकोटा

शान्तिपुर सामुदायिक वनमा एकाएक आगलागी सुरु भयो । आगलागीबाट त्यहाँका उपभोक्ता अत्यन्तै आतङ्कित बन्न पुगे । आगो नियन्त्रण गर्न उनीहरूले हारगुहार गरे तर उनीहरूको हारगुहारलाई कसैले सुनेनन् । वनको पश्चिम मोहडाबाट सल्किएको आगो शान्तिपुरलगायत तमाम बस्तीहरूलाई नियन्त्रणमा लिँदै क्रमशः पूर्वतर्फ बढ्दै गयो । यसरी निर्वाध अघि बढेमा यसले तमाम पूर्वी बस्तीहरूलाई पनि आफ्नो नियन्त्रणमा लिने निश्चित थियो । किनकि आगोको स्वभाव नै फैलनु हो । अझ यसलाई फैलन चैते हुरीले निकै मद्दत पुर्‍याइरहेको थियो ।

cura insider

यसबाट पूर्वतर्फ रहेको सुन्दर नगरका बासिन्दा पनि निकै चिन्तित बन्न पुगे । त्यसैले सुन्दर नगरका बासिन्दाले तुरुन्त यसको नियन्त्रणका लागि उपाय सोच्न आफ्ना अगुवाहरूलाई दबाब दिन थाले ।

नगरवासीहरूको दबाबमा अगुवाहरूको बैठक बस्यो । बैठकमा आगलागीका सम्भावित कारणहरूदेखि नियन्त्रणका उपायबारे छलफल भए । तर्कवितर्क गरियो । सहभागीमध्येको एउटाले भन्यो– ‘आगोलाई निभाउने भरपर्दो साधन पानी नै हो । त्यसैले तुरुन्त दमकल बोलाउनुपर्‍यो ।’ अर्कोले तुरुन्तै उसको भनाइको खण्डन गर्‍यो र आफ्नो तर्क अघि सार्‍यो– ‘होइन, आगो निभाउन आगोकै प्रयोगको विधि अपनाउनुपर्छ ।’

‘अरू कुनै विधि पनि त अपनाउन सकिन्छ नि !’ तेस्रोले भन्यो ।

अन्ततः आगोद्वारा आगो निभाउने विधिको प्रयोग गर्ने निर्णय बैठकले गर्‍यो । त्यसपछि हतास र भयभीत मनस्थितिमा निर्णयको प्रतीक्षामा रहेका नगरवासीहरूलाई पश्चिमको आगो फैलिन नदिन तुरुन्त यो विधिको प्रयोग गर्न आदेश दिइयो । उनीहरूले आदेशको पालना गर्दै अन्धाधुन्ध आगो लगाउन सुरु गरे । किनकि उनीहरूलाई न त यो विधिको सही प्रयोगका बारेमा केही बताइएको थियो, न त यसको दुरूपयोगबाट निस्कने भयङ्कर परिणामका बारेमा नै सचेत गराइएको थियो । फलतः पूर्व र पश्चिमबाट अन्धाधुन्ध सल्काइएको आगोले गर्दा न त सुन्दर नगर नै सुन्दर रह्यो न त शान्तिपुर नै शान्त । बरु बीचमा बचेखुचेका वन र बस्तीहरू पनि आगोले क्रमशः जल्न थाले ।

jackson ribon