birat ribon

कोखामा हतियार, मुखमा शान्ति !

Neuro
कोखामा हतियार, मुखमा शान्ति !

अघि–अघि धामी नाचे पछि–पछि ढोल,
भित्र–भित्र के–के भा’छ सत्य कुरा बोल !

cura insider

हिजो साँझ कन्टिर–बाबू गाउँ चहार्दै थिए, माथ्लो टोलमा ढ्याङ्ग्रो बजिरहेको सुने । त्यसरी ढ्याङ्ग्रो नै ठोक्नुपर्ने के सन्दर्भ परेछ त ? भन्ने कुतूहल बोकेर नजिकै जाँदा कन्टिर–बाबूले देखे त्यहाँ एक जना घुँघुरे धामी र धुपौरे निकै ताहुरमाहुर गर्दै रहेछन् ।

भएको के रहेछ भने त्यो घरमा बाँदर धपाउन राखेको लाइसेन्सवाला एउटा भरुवा रहेछ, हिजो अचानक त्यो हराएछ । कतै त्यो भेटिन्छ कि भन्ने आसमा जोखाना हेर्न धामी बोलाएका रहेछन् ।

लौ परमेश्वरी … हतियार कसले लुकायो ? साँचो–साँचो भनिदिनुपर्‍यो भन्दै धुपौरे पटक–पटक धुप हाल्दो रहेछ, धामी पनि धुँवाको गन्ध जति फैलियो उति उफ्री–उफ्री ठुलोे स्वरले कराउँदा रहेछन् ।

त्यसो त कन्टिर–बाबूलाई धामी–झाँक्रीले ताहुरमाहुर र ठुलो स्वर गर्दैमा हराएको सामान भेटिन्छ वा समस्या समाधान हुन सक्छ भन्ने पत्यार लाग्दैन, तर धामीले रमिताचाहिँ राम्रै प्रदर्शित गर्छन् । रमितेको भिड राम्रै जम्मा हुन्छ ।

संयोग हेर्नुहोस्– हिजै दिउँसो काठमाडौँमा एउटा हतियारधारीसमूहका नेतासँग बसेर हाम्रा ओल्वाले फोटो खिचाए, त्यसको केही मिनेटपछि नै कन्टिर–बाबूको छिमेकी गाउँमा भएको एउटा हतियार स्यालको सिङजस्तै हरायो ।

आखिर सरकारले सशस्त्र द्वन्द्वरत भूमिगत समूहसँग वार्ता र सहमति गर्दैगर्दा त्यो समूहसँग रहेका हतियारबारे किन प्रश्न उठाएन ? यहाँनेर दालमा पक्कै केही कालो छ ।

भला यतिसम्म स्वाभाविकै मानेका कन्टिर–बाबूलाई अस्वाभाविक चाहिँ कहाँनेर लागिरहेको छ भने, जाबो एउटा भरुवा बन्दुक हराउँदा त्यत्रो हल्लीखल्ली हुने समाज एसएलआरसहितका दर्जनौँ अत्याधुनिक हतियार हराउँदा पनि तैँ चुप, मै चुप किन ?

कन्टिर–बाबू माथामा हात राखेर सोचिरहेका छन्– हिजो सशस्त्र द्वन्द्वरत प्रचण्डलगायतको समूह शान्ति प्रक्रियामा आउँदा केही हतियार खोला तर्ने क्रममा बगे भनेर हिसाब हिनामिना गरिएको थियो । तिनैमध्येका केही हतियारमा थपथाप पारेर सशस्त्र द्वन्द्व गरेका हुन् विप्लवले । तर शान्ति प्रक्रियामा आउँदा भने ती हतियारबारे कुनै प्रश्न छैन ।

कन्टिर–बाबू प्रश्न गर्छन्– आखिर सरकारले सशस्त्र द्वन्द्वरत भूमिगत समूहसँग वार्ता र सहमति गर्दैगर्दा त्यो समूहसँग रहेका हतियारबारे किन प्रश्न उठाएन ? यहाँनेर दालमा पक्कै केही कालो छ ।

यता, हिजो संसदीय व्यवस्थालाई दुत्कारेर, यसलाई ध्वस्त पार्न हतियार उठाएका विप्लव हतियार लकाएर आज कसरी सहजै बाहिर आए ? सहमतिसँग हतियार सरकारलाई बुझाउनुपर्ने होइन र ?

यदि होइन भने जबसम्म लुकाएका हतियार बुझाइँदैन, तबसम्म अहिले भयो भनिएको तीन बुँदे सहमति र वार्तालाई केवल समातिएका कार्यकर्ता छुटाउँदै हतियारबद्ध मोर्चा थप सङ्गठित गर्ने रणनीतिक बहानाबाजी मात्र मान्छन् कन्टिर–बाबू ।

कन्टिर–बाबू शान्तिपूर्ण राजनीतिमा आएको भनिएको विद्रोही पक्षलाई सुझाव दिन्छन्– तर, बट, किन्तु, परन्तु केही नलगाई सरक्क आफूसँग भएका हतियार सरकारलाई बुझाएर त्यसको भर्पाइ जनतालाई देखाऊ । अन्यथा कोखामा हतियार लुकाएर मुखले शान्तिको राग अलापेको जनताले निको मान्नेवाला छैनन् ।

jackson ribon