birat ribon

प्रधानमन्त्री ओलीको फेरिँदै गएको बोली

Neuro
प्रधानमन्त्री ओलीको फेरिँदै गएको बोली

समाचार टिप्पणी

cura insider

विराटनगर / पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली निकै सक्रिय भएर कुदिरहेका छन् । उनको सक्रियतालाई हेर्दा कहिलेकाहीँ विरोधीहरूले भन्ने गरेझै ‘निभ्ने बेलाको दीयो’ (सरकारका सन्दर्भमा) त होइन भनेझैँ पनि देखिन्छ ।

यतिबेला उनी स–साना कुराहरूलाई पनि महत्त्व दिइरहेका छन् । यतिबेलाको उनको सक्रियता र उनले प्रयोग गर्ने भाषालाई केलाउने हो भने यसको भिन्न अर्थ निकाल्न सकिन्छ । उनी नेतृत्त्वको सरकार अब कति टिक्ला त्यो त निकट भविष्यले नै बताउला तर प्रधानमन्त्री ओलीको सक्रियता देख्दा लाग्छ उनले भर्खरै शपथ लिएका हुन् र उनले आफ्नै कार्यकालमा गर्नु धेरै बाँकी छ । त्यही उत्साहले उनी कुदिरहेजस्ता देखिन्छन् ।

हिजो बेलुकी उनी नेकपा उपाध्यक्ष तथा पार्टी विभाजनपछि राष्ट्रिय एकता अभियान भन्दै हिँडिरहेका वामदेव गौतमलाई भेट्न उनकै निवास भैंसेपाटी पुगे । घरमै लडेर सामान्य घाइते भएका गौतमलाई बोलाउन मात्र उनी आफ्नो दलबलसहित त्यहाँ पुगेका थिए । त्यहाँ उनीहरूबीच राजनीतिक विषयमा शब्दोच्चारण नै नभएको वामदेवको सचिवालयले जनाएको छ । भैंसेपाटीमा प्रधानमन्त्रीले धेरै समय पनि गुजारेनन् । गौतमको स्वास्थ्य अवस्था बुझेर उनी फर्किए । वामदेव बोलाउनै जानुपर्ने गरी घाइते पनि थिएनन् । तर, ओलीले वामदेवलाई बोलाउनुलाई महत्त्व दिए ।

कुनै बेला आफ्नै पार्टीका बैठक छल्न खोज्ने, पार्टीका वा मन्त्रिपरिषद्का बैठक बस्नै परे पनि वालुवाटारमै बोलाउने प्रधानमन्त्री ओली हिजोआज उद्घाटन, शिलान्यास, कार्यकर्ता भेलाका लागि कहिले पूर्व त कहिले पश्चिम कुदिरहेका छन् । अन्य भेटघाट र वार्तालापलाई पनि उनले उत्तिकै प्राथमिकताका साथ सम्पन्न गरिरहेका छन् । धार्मिक अनुष्ठानहरूमा उनको लगाव अझ बढी देखिन्छ ।

उनले तीन दिनभित्र नेकपा विप्लवसँग वार्ता गरेर उनीहरूलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराए । कुनै बेला माओवादीका कटूआलोचक रहेका र आफैँले विप्लव समूहलाई राजनीतिक प्रतिबन्ध लगाएका प्रधानमन्त्री ओलीले किन वार्ता चाहे ? यति छोटो समयमै वार्ता कसरी सम्भव भयो ? यो मात्र प्रधानमन्त्री ओलीको चाहनाको प्रतिफल हो ।

प्रधानमन्त्री ओलीले पशुपतिमा क्षमा पूजा गरेर धेरैको आलोचना पनि खेपे । एउटा कम्युनिस्ट प्रधानमन्त्री मन्दिरमा गएर पूजा गरेको केहीलाई मन परेन । तर, त्यहाँबाट ओलीले दिन खोजेको सन्देश के थियो ? उनी आफ्नो सन्देश प¥याउनुपर्ने ठाउँमा पु¥याउन सफल भएका छन् ।

हिजोआज हरेक मञ्चमा प्रधानमन्त्री ओलीले गर्ने भाषणमा उनले प्रयोग गर्ने भाषाको विवेचना गर्ने हो भने पनि उनी अलि भिन्न लाग्छन् । प्रत्येक भाषणमा उनी नेपाली उखान, टुक्का, चुट्किलालगायतका कुरा गरेर दर्शक हँसाउँछन् । तर, हिजोआज उनको सम्बोधनमा अर्को एउटा कुरा पनि अनिवार्य थपिने गरेको छ । त्यो हो, धार्मिक ग्रन्थहरूको उदाहरण, उद्धरण वा श्लोकहरू । ओली हिजोआज आफ्ना भाषणहरूमा इतिहास, भूगोल, राष्ट्र, राष्ट्रियता, विकास, समृद्धिका अलावा धर्म–संस्कृतिका कुरा गर्न पनि छुटाउँदैनन् ।

ओली वास्तममा वाचाल मात्र होइन, कूटील पनि देखिन्छन् । उनी राजनीतिका अब्बल खेलाडी हुन् । उनले बोल्ने एक–एक शब्द मात्र नभएर उनका हरेक क्रियाकलाप अर्थपूर्ण लाग्छन् । नजानिँदो गरी फेरिँदै गएको उनको बोली र कार्यशैलीले उनलाई बेग्लै कित्तामा उभ्याउने त होइन ? धेरैका मनमा पलाएको आशङ्का हो यो ।

jackson ribon