विराटनगर / विराटनगर महानगरपालिका–३ गोग्राहा चोकस्थित ऐलानी जग्गामा झण्डै ४० बर्षदेखि बस्दै आएका सुकुमबासी परिवारलाई महानगरपालिकाले जबर जस्ती हटाउन खोजेपछि स्थानीय विरोधमा उत्रिएका छन् ।
शुक्रबार साँझ विराटनगर महानगरपालिका–३ गोग्राहा चोकका सुकुमबासीले जबर्जस्ती घर भत्काउन खोजेको भन्दै महानगरविरुद्ध नाराबाजी गर्दै विरोधमा उत्रिएका हुन् ।
शुक्रबार उनीहरूलाई घर खाली गरिदिनु भन्दै पत्र पठाएको महानगरपालिकाले अपरान्ह नगर प्रहरीलाई डोजरसहित घर भत्काउन पठाएको थियो । तर जबरजस्ती घर भत्काउन लागेको भन्दै स्थानीयले मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीविरुद्ध नाराबाजी गरेपछि महानगरको टोली फिर्ता भएको हो ।
महानगरको टोलीले आइतबार महानगरपालिकामा छलफलमा आउन आग्रहसमेत गरेकाे छ । स्थानीयले प्रदर्शनका क्रममा स्थानीयले महानगर प्रमुख भीम पराजुलीको राजीनामा माग गरेका थिए ।
‘भीम पराजली राजीनामा दे,’ ‘इन्दिरा कार्की मूर्दावाद’, सुकुम्बासी आवास ग्यारेन्टी गर्’लगायतका नारा लगाउँदै स्थानीयले विरोध गरेका हुन् ।