विराटनगर / म्यानमारमा भएको नरसंहारको चौतर्फी विरोध भइरहेका बेला नेपालमा पनि त्यसको विभिन्न पक्षबाट विरोध भएको छ । नेपालका नागरिक अगुवाहरूले म्यानमारको नरसंहारको भ्रत्र्सना गर्दै त्यस्तो कार्य तत्काल रोक्न माग गरेका छन् ।
म्यानमारमा भएको नरसंहारको विरोधमा शुक्रबार नागरिक अगुवाहरुले ‘प्रतिगमन विरुद्ध बृहत् नागरिक आन्दोलन’ को ब्यानरमा ललितपुरस्थित म्यानमारको दूतावासअघि प्रदर्शन गरेका हुन् । प्रदर्शनमा नागरिक आन्दोलन जारी छ, म्यानमार नरसंहार बन्द गर, हामी म्यानमारका जनताको साथमा छौँ, म्यानमार नरसंहारबारे अन्तर्राष्ट्रिय समुदाय बोल, म्यानमार सरकार नागरिक हत्या बन्द गर लगायत लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए
प्रदर्शनमा नागरिक अगुवाहरू खगेन्द्र सङ्ग्रौला, डा. गोविन्द केसी, नारायण वाग्ले, युग पाठकलगायतको सहभागिता रहेको थियो । प्रदर्शनलाई सम्बोधन गर्दै नागरिक अगुवा खगेन्द्र सङ्ग्रौलाले स्वतन्त्रताप्रेमी, लोकतन्त्र र स्वायत्तताप्रेमी नागरिकहरू म्यान्मारका नागरिकहरूलाई ऐक्यबद्धता जनाउन सडकमा आएको बताए । अहिलेको समय लोकतन्त्र, नागरिक स्वतन्त्रता र मुक्तिको समय भन्दै सङ्ग्रौलाले म्यानमारका नागरिकले जित्ने पनि बताए ।
विरोध प्रदर्शनमा म्यानमारको सैनिक दमनलाई सांकेतिक रूपमा देखाउन कलाकारहरूले प्रस्तुति पनि देखाएका थिए । म्यानमारम फेब्रुअरी १ मा सेनाले आफ्नो हातमा सत्ता लिएपछि त्यसको विरोधमा निरन्तर आन्दोलन हुँदै आएको छ ।