birat ribon

मधुमेह भए पनि आलु छोड्नु पर्दैन

Neuro
मधुमेह भए पनि आलु छोड्नु पर्दैन

विराटनगर / मधुमेह भएका बिरामीलाई आलु खान नहुने सुझाव दिइन्छ । मधुमेह पीडितले आलुको सेवन गरेमा रगतमा चिनीको मात्रा अत्यधिक बढ्न जाने मान्यता वा भ्रम छ ।

cura insider

आलुमा हुने उच्च कार्बोहाइड्रेटको मात्राका कारण यसले चिनीको स्तरलाई बढाउन सक्ने हुँदा मधुमेह रोगीहरूले आलु खान छोड्ने गर्छन् । एक मधुमेहपीडित व्यक्तिका लागि आलु खानै नहुने भन्दा पनि आफूले दैनिक खाइने खानामा कार्बोहाइड्रेटको मात्रालाई ध्यानमा राख्न जरुरी हुने आहारविद् तथा पोषण विशेषज्ञ ओमप्रकाश शाह बताउँछन् ।

खानामा ७० वा सोभन्दा बढी जिआई भएमा हाई ग्याइसेमिक इन्डेक्स (रगतमा चिनी बढाउने तत्त्व)युक्त खाना भएको मानिन्छ । र, आलुमा ग्याइसेमिक इन्डेक्स (जिआई) करिब ७४ हुन्छ, जसअनुसार मधुमेहपीडितले आलु खान हँुदैन भन्ने भ्रम सत्य भएको जस्तो देखिन्छ । तर, दैनिकजसो खाइने भातको जिआई ७० देखि ७५, ब्राउन राइसको ६५ देखि ७० र गहुँको आटाको रोटीको जिआई पनि ७० सम्म हुन्छ ।

जुन आलुको जिआईसँग लगभग मिल्न जान्छ । यसको अर्थ, एउटा रोटी वा आधा कचौरा भात वा ठूलो भए एउटा र सानो भए दुईटा आलुको सेवन गर्दा रगतमा चिनीको मात्रा उत्तिकै तरिकाले बढ्ने हुन्छ । मधुमेहपीडित व्यक्तिले भात तथा रोटीको सेवन गर्न मिल्छ भने त्यसकै साटो कार्बोहाइड्रेटको मात्रालाई ध्यानमा राख्दै मध्यम आकारको आलु पनि सेवन गर्न सकिन्छ ।

कार्बोहाइड्रेटको मात्रालाई मिलाएर खाएको खण्डमा आलुको सेवन मधुमेहपीडितको लागि समाजमा फैलिएको भ्रम वा सोचेजस्तो हानिकारक हँुदैन । आलुलाई अन्य कम जिआई भएको तरकारीसँग मिसाएर पकाउन सकिन्छ । यसले पाचन प्रक्रियालाई ढिलो गरेर रगतमा चिनीको स्तर बढ्ने क्रमलाई रोक्ने गर्छ । कुनै पनि कुराको सेवनलाई रोक्नुभन्दा पनि खानेकुराको भागलाई नियन्त्रण गरेर खानु नै महत्त्वपूर्ण हुन्छ ।

jackson ribon