birat ribon

एपेन्डिसाइटिस भएको हरेक बिरामीको अपरेसन गर्नै पर्छ भन्ने हुँदैन

Neuro
एपेन्डिसाइटिस भएको हरेक बिरामीको अपरेसन गर्नै पर्छ भन्ने हुँदैन

डा. रविन्द्र तामाङ
कन्सल्ट्यान्ट जनरल सर्जन, कोसी अस्पताल, विराटनगर
विराटनगर / शल्यक्रिया गरिने तथा शल्यक्रिया नगरिने विभिन्न शल्य चिकित्सासम्बन्धी रोगहरूको उपचार गर्ने क्षेत्रलाई जेनेरल सर्जरी भनिन्छ ।

cura insider

खानाको नली, आमाशय, पित्तथैली, पित्तनली, कलेजो, प्यान्क्रियाज, एपेन्डिक्स, हर्नियालगायतका पेटसम्बन्धी रोग र पाइल्स, फिस्टुलालगायतका मलद्वारसम्बन्धी रोगको उपचार यस क्षेत्रअन्तर्गत पर्दछन् । त्यस्तै, छालामा सङ्क्रमण, स्तनसम्बन्धीको रोग, काटेको, पोलेको तथा दुर्घटना भएमा बिरामीको पनि उपचार गरिन्छ । यससँग सम्बन्धित विभिन्न रोगको शल्यक्रिया गरेर वा शल्यक्रिया नगरी औषधि दिएर उपचार गरिन्छ ।

यदि शल्यक्रिया गरेर बिरामीको उपचार गर्नुपरेमा दुई तरिका एउटा आपतकालीन (इमर्जेन्सी) शल्यक्रिया र आपतकालीन नहुने शल्यक्रिया (इलेक्टिभ सर्जरी) बाट गरिन्छ । एपेन्डिसाइटिस, हर्निया, आन्द्रा तथा नलीहरू बन्द भएमा तत्काल अपरेसन गर्नुपर्ने हुन्छ । तर, पित्तथैलीमा पत्थरी, मासुको डल्लो पलाएमा वा केही अन्य आपतकालीन नहुने अवस्थामा बिरामीलाई केही समय पर्खाएर वा एक निश्चित समयपछि शल्यक्रिया गर्ने गरिन्छ ।

त्यस्तै, असामान्य अवस्थामा सम्बन्धित चिकित्सा क्षेत्रका विशेषज्ञ उपल्ब्ध नहुँदा स्त्री रोग (गाइनोकोलोजी), मुत्रनलीसम्बन्धी रोग(युरोलोजी) सम्बन्धी शल्यक्रियासमेत जेनरल सर्जनले गर्नसक्ने बताइएको छ ।

आपतकालीन शल्यक्रिया गर्नुपर्ने रोगहरूमध्ये सबैभन्दा कमन एपेन्डिसाइटिस

आपतकालीन शल्यक्रिया गर्नुपर्ने रोगहरूमध्ये सबैभन्दा कमन वा परिचित रोग एपेन्डिसाइटिस हो । पछिल्लो समय थुप्रैलाई एपेन्डिसाइटिसले सताएको छ । पेटको एपेन्डिक्समा लाग्ने रोगलाई एपेन्डिसाइटिस भनिन्छ । एपेन्डिसाइटिसको समस्या पत्ता लाग्नेबित्तिकै यसको उपचार गर्नुपर्ने हुन्छ । एपेन्डिसाइटिसको समस्या मौसमअनुसार अलि बढी देखापर्ने हुन्छ ।

एपेन्डिसाइटिसको समस्या भएका बिरामी वैशाख महिनादेखि भाद्र महिनाको बीचमा धेरै हुने पाइएको छ । मौसम परिवर्तनको कारण हुने रुघाखोकीले विशेषगरी बच्चाहरूमा सङ्क्रमण भएर एपेन्डिक्सको प्वाल बन्द गराउँन सक्छ । अस्पतालमा पनि दैनिकजसो दुईदेखि तीन जना एपेन्डिसाइटिसका बिरामीहरू आउने गरेको पाइन्छ । यो इमर्जेन्सी अवस्था हो । त्यसैले बिरामी धेरैजसो पेट दुखाइ सहन नसकेको कारण इमर्जेन्सीमै जान्छन् । त्यसपछि विभिन्न जाचँ गरेपछि एपेन्डिसाइटिस भएको पत्ता लगाइन्छ । उक्त प्रकारका बिरामीको सङ्ख्या वैशाख महिनादेखि भाद्र महिनाको बीचमा भने केही बढ्ने गर्छ ।

एपेन्डिक्स र यसको भूमिका

एपेन्डिक्स भनेको ठूलो र सानो आन्द्राको बीचमा हुने एउटा सानो अङ्ग हो । सानो आन्द्रा र ठूलो आन्द्रा जोडिने ठाउँमा निस्किएको सानो अङ्ग एपेन्डिक्स हो । जुन दाहिनेतिरको तल्लो पेटको भागमा बसेको हुन्छ । यो लगभग साढे सातदेखि १० सेन्टिमिटर जति लामो हुन्छ । तर, यो दुई सेन्टिमिटरदेखि २० सेन्टिमिटरको लम्बाइको पनि हुनसक्छ ।

एपेन्डिक्स भेस्टिजियल अङ्ग भनिन्छ । पहिला पहिला प्रायः घासँपात खाने जनावरहरूमा यसले पाचण प्रणालीको रूपमा काम गर्ने बताइन्छ । तर, अहिले मानिसहरूमा पेटको दाँयातिरको तल्लो भागमा हुने एपेन्डिक्सलाई शरीरका लागि काम नलाग्ने भनेर भनिन्छ । यसमा रोगविरुद्ध लड्नसक्ने क्षमता बढाउने केही तत्व हुन्छ । त्यसकारण सङ्क्रमणसँग लड्ने क्षमतामा भएको अङ्गको रूपमा चिनिए पनि यसको देखिने भूमिका केही हुँदैन ।

एपेन्डिसाइटिस हुने कारण

अधिकांशमा वा ७० देखि ८० प्रतिशतमा एपेन्डिक्सको प्वाल बन्द भएमा एपेन्डिसाइटिस हुन्छ । शरीरमा भएको कुनै पनि सङ्क्रमणको कारण एपेन्डिक्स सुन्निएमा यो बन्द हुन्छ सक्छ । एपेन्डिक्सको प्वालमा दिसा गएर बसेमा, कुनै खाना एपेन्डिक्समा गएर अड्किएमा, क्यान्सरको कारण, जुकाको कारण पनि एपेन्डिक्स बन्द हुन्छ र त्यहाँको चिज बाहिर निस्कन नसक्ने हुँदा सुन्निन थाल्छ र आकार पनि बढ्दै जाने हुन्छ । जसकारण एपेन्डिसाइटिस हुन्छ ।

एपेन्डिसाइटिस प्रायः बच्चा र युवा वयस्कहरूमा धेरै देखापरेको पाइन्छ । एक वर्षभन्दा कम उमेरका बच्चामा एपेन्डिसाइटिस खासै हुँदैन । उमेर बढेसँगै यसको जोखिम पनि बढ्दै जान्छ । २५ वर्षको उमेर समूहका मानिसमा एपेन्डिसाइटिस धेरै हुने पाइएको छ । त्यस्तै, किशोर अवस्थामा महिला र पुरुषमा एपेन्डिसाइटिस हुने सम्भावना उत्तिकै हुन्छ । तर किशोर अवस्था कटेपछि महिलाको तुलनामा पुरुषमा एपेन्डिसाइटिस हुने समस्या धेरै पाइएको छ ।

एपेन्डिसाइटिसको लक्षण

एपेन्डिसाइटिस हुँदा सुरुमा पेट दुख्ने हुन्छ । र, पेट दुख्नु नै एपेन्डिसाइटिसमा सबैभन्दा प्रमुख लक्षण हो । तर, यसमा हुने पेटको दुःखाइ पनि फरक किसिमको हुन्छ । सुरुमा नाइटोको वरिपरि दुख्छ (जुन छ देखि १२ घण्टासम्म रहन सक्छ) अनि त्यो विस्तारै सरेर दाहिनेतिरको तल्लो पेटमा पुग्छ । जहाँ एपेन्डिक्स हुन्छ । वा, सुरुमै पनि एपेन्डिक्स भएको दाहिनेतिरको तल्लो पेट एक्कासि दुख्ने हुनसक्छ ।

दुखाइसँगै वाकवाकी हुने, उल्टी आउने र ज्वरो एपेन्डिसाइटिसमा सबैभन्दा धेरै देखिने लक्षण हो । यसबाहेक सङ्क्रमण बढेर पिप जम्न थालेमा आन्द्राहरू बन्द हुनसक्ने, एपेन्डिक्सले पिसाब थैलीमा छोएमा पिसाबमा सङ्क्रमण हुने, सेप्सिस हुने, दिसाको बाटोलाई छोएमा दिसा पातलो हुने, छिटो–छिटो जानुपर्ने वा झाडापखाला हुनेजस्ता लक्षण बिरामीमा देखा पर्न सक्छ ।

एपेन्डिसाइटिसको उपचार

एपेन्डिसाइटिस भएको पत्ता लागेपछि शल्यक्रिया गर्नुपर्छ वा पर्दैन भनेर हेर्नुपर्ने हुन्छ । सबैमा एपेन्डिसाइटिसको उपचार शल्यक्रियामार्फत हुन्छ भन्ने पनि हुँदैन । यो बिरामीको अवस्था, दुखाइको गम्भीरता, कति दिनदेखिको दुखाइ हो, औषधिले कत्तिको वा के कस्तो काम गरेको छ, रगतमा सङ्क्रमण भएको छ वा छैन, रगतमा भएको सङ्क्रमणको मात्रा कतिको छ भन्ने कुरामा निर्भर हुन्छ । यी सबै कुराको आधारमा बिरामीलाई औषधिको उपचार गर्नुपर्छ वा गर्दा राम्रो हुन्छ भनेर छुट्याइन्छ । तर, अत्यधिक दुखाइ भएमा, छोटो समयको दुखाइ तथा ज्वरो आएको छ भने यस अवस्थामा बिरामीको शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

समयमा उपचार नभए एपेन्डिक्स फुट्छ

कहिलेकाँही एपेन्डिसाइटिडको समस्या भएका एकदम कम मानिसमा रोग आफैँ ठिक भएर पनि जान सक्छ । तर धेरैमा यसको उपचार गर्न जरुरी हुन्छ । समयमा उपचार नभएमा एपेन्डिक्स डल्लो हुनसक्छ । एपेन्डिक्स सुन्निएपछि त्यसको वरिपरिको भागलाई बचाउनका लागि आन्द्रा, पेटमा भएको झिल्लीसबै एपेन्डिक्सतर्फ गएर वरिपरि घेरेर एक प्रकारको डल्लो (एपेन्डिकुलर लम्प) बनाउने हुन्छ ।

जसकारण सङ्क्रमण उक्त डल्लोबाट बाहिर जान पाउँदैन । लम्प बनिसकेपछि यसबाहेक शरीरको भन्दा पनि एपेन्डिक्समा भएका किटाणु धेरै शक्तिशाली भएको कारण एपेन्डिक्सवरिपरि पिप जम्न सक्छ । कहिलेकाँही एपेन्डिक्सको बाटो बन्द भएको कारण एपेन्डिक्ट फुट्न पनि सक्छ । जसकारण पेटवरिपरि दिसा रहने समस्या पनि हुनसक्छ । साथै, एपेन्डिक्सको कारण भएको सङ्क्रमण रगतको नसाबाट कलेजोमा पनि जान सक्छ । कजेलोमा सङ्क्रमण भएपछि त्यहाँ पनि पिप जम्न सक्छ ।

एपेन्डिसाइटिसको रोकथाम

एपेन्डिसाइटिस एपेन्डिक्सको कारणले भएको हुने हुँदा यसको खासै कुनै रोकथाम छैन । यो कसलाई हुन्छ वा हुँदैन भनेर पनि भन्न सकिँदैन । प्रायः सागपात बढी खाने मानिसमा एपेन्डिक्सको समस्या कम हुने बताइन्छ । सम्भावित कारणबारे थाहा नहुने भएकाले सागपात कम खाने तथा माछामासु धेरै खानेलाई एपेन्डिसाइटिसको जोखिम हुनसक्छ । तर यसलाई रोकथाम कसरी गर्न सकिन्छ भनेर पत्ता लगाइएको छैन ।

एपेन्सिडाइटिससँग जोडिएका गलत मान्यता

अस्पताल आउने धेरैजसो बिरामीमा एपेन्डिसाइटिस भएमा, एपेन्डिसाइटिस भएको थाहा हुनेबित्तिकै शल्यक्रिया गरेन भने मान्छे मरिहाल्छ भन्ने धेरैमा भ्रम छ । जुन एकदमै गलत हो । एपेन्डिसाइटिस भएको हरेक बिरामीको अपरेसन गर्नै पर्छ भन्ने पनि हुँदैन । कोही बिरामीलाई अपरेसन गर्नै पर्ने हुन्छ भने कोहीलाई औषधि उपचार पनि सम्भव हुनसक्छ ।

साथै, पेट दुख्नेबित्तिकै एपेन्डिसाइटिस पो भएको हो कि भनेर मानिस डराउने गर्छन् । तर हरेक पेट दुखाइ वा देव्रेतिर दुख्ने पेट एपेन्डिसाइटिसको कारण नहुन सक्छ । एपेन्डिक्स पेटको दाहिनेतिर तल्लो भागमा हुन्छ । र, एपेन्डिसाइटिस भएको छ भने त्यही भागतिर दुख्नुपर्ने हुन्छ । पेट विभिन्न कारणले समेत दुख्नसक्ने हुँदा भ्रम पाल्नुभन्दा पनि चिकित्सककोमा गएर जाँच गराउन उचित हुन्छ ।

jackson ribon