विराटनगर / नेकपा विप्लव समूहले हत्या गरेका शिक्षक राजेन्द्र श्रेष्ठको परिवारले अझै राहत पाएको छैन । नेकपा विप्लव समूहले गत मंसिर २३ गते उत्तरी मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेका शिक्षक श्रेष्ठको अपहरणपछि घाँटी रेटेर हत्या गरेको थियो ।
हत्याको ८६ दिनपछि विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आएको छ । शुक्रबार सरकारसँग लिखित सहमति हुँदैछ । तर सो समूहको आक्रमणमा ज्यान गुमाएका निर्दोष शिक्षक श्रेष्ठको परिवारले न राहत पाएको छ न त सरकारबाट क्षतिपूर्ति नै । राहत र क्षतिपूर्तिको आश्वाशन दिने सरकारका प्रतिनिधिहरूले वास्ता गर्न छोडका छन् ।
मृतक श्रेष्ठकी श्रीमती धनकुमारीले श्रीमान्लाई सहिद घोषणा गरी आफूलाई क्षतिपूर्ति दिनुपर्ने बताइन् । विप्लव समूहसँग सरकार मिलेका कारण आफूले न्याय नपाउने हो कि भन्ने चिन्ता पनि धनकुमारीको छ । सहमति गरे पनि आफ्नो न्याय नमार्न उनले आग्रह गरिन् ।
श्रीमान हत्यापछि वियोगमा रहेकी धनकुमारी बर्खे बस्ती छाडेर मिक्लाजुङ–२ मा रहेको मधुमल्ला बजारमा बस्छिन् । छोराबुहारीसँगै बसोबास गरिरहेकी उनले आफूलाई राहत र क्षतिपूर्ति दिन सरकारले ढिलाइ गरेको बताइन् ।
‘मेरो श्रीमान्लाई चाँडो सहिद घोषणा गर्नुपर्छ, मलाई जीविकोपार्जनका लागि क्षतिपूर्ति दिनुपर्छ,’ धनकुमारीले भनिन्, ‘उहाँ बितेपछि तीनवटी नातिनी पढाइलेखाइको जिम्मेवारी ममाथि सरेको छ ।’
सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठकी श्रीमती धनकुमारीले तीन महिना पुगे पनि हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गर्न नसकेको बताइन् । ‘प्रहरीले हत्या गर्ने एक जनालाई मात्रै पक्राउ गरेको छ,’ धनमायाले भनिन्, ‘निर्दाेष श्रीमान् मार्ने सबैलाई कारबाही गरी हामीलाई न्याय दिनुपर्छ ।’
शिक्षक श्रेष्ठलाई २३ मंसिरमा बिहान विप्लव समूहका ६ जनाले जङ्गल लिएर गएका थिए । केही समयपछि खोज्दै गएका स्थानीयले घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला पारेका थिए । लगत्तै विप्लव समूहले विज्ञप्ति जारी गर्दै घटनाको जिम्मा लिएको थियो ।
हत्या आरोपमा पक्राउ परेका विप्लव समूहका मोरङ इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विश्वकर्मा जिल्ला अदालत मोरङको फागुन १० को आदेशपछि पूर्पक्षका लागि थुनामा छन् ।
अदालतमा दर्ता भएको अपहरण तथा कर्तव्य ज्यान मुद्दामा नेकपा महासचिव कपिलवस्तु शिवराज नगरपालिका–९ का ५३ वर्षीय नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता कालिकोट नरहरिनाथ गाउँपालिका–६ का ५२ वर्षीय खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित ३४ जना फरार छन् ।