birat ribon

बिना लाइसेन्स गाडी चलाउँदा आउनसक्छ यस्तो विपत्ति !

Neuro
बिना लाइसेन्स गाडी चलाउँदा आउनसक्छ यस्तो विपत्ति !

विराटनगर / मोरङको सुन्दरहरैँचा नगरपालिका–३ त्रिजुगाका ३१ वर्षीय देवकुमार चौधरीसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) थिएन ।

cura insider

काम विशेषले उनी विराटनगर आउनुपर्ने भयो । भतिज २० वर्षीय अजित चौधरीलाई प्र १–०२–०४२ प ६३९२ नम्बरको मोटरसाइकलमा पछाडि राखेर बुधबार राति उनी विराटनगर आउँदै थिए । भित्री सडक खण्ड हुँदै विराटनगर आउने क्रममा बिना लाइसेन्स देवकुमारले चलाएको मोटरसाइकल राति ९ बजेतिर सुन्दरहरैँचा–३ लोचनीमा दुर्घटनामा पर्यो ।

पैनीको ड्रेनमा ठोक्किएर भएको दुर्घटनामा उनले भतिज नै गुमाए । दुर्घटनामा घाइते भएका अजितलाई उपचारका लागि देवकुमारले सुन्दरहरैँचाको गछियास्थित २४ घण्टे नामक क्लिनिक पुर्याए । अवस्था गम्भीर बन्दै गएपछि परिवारका सदस्यले थप उपचारका लागि बिहीबार बिहान २ बजेतिर विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याएको पाइएको छ । उपचारकै क्रममा बिहान ५ बजेतिर अजितको मृत्यु भयो ।

तर दुर्घटनामा भएको मृत्युलाई ढाकछोपको प्रयास गर्दै घटनाका बारेमा प्रहरीलाई कुनै जानकारी दिइएन । ढिलो गरेर जानकारी पाएको प्रहरीले दुर्घटना भएको १० घण्टापछि मात्रै घटनास्थल मुचुल्का तयार पार्दै दुर्घटनाग्रस्त मोटरसाइकललाई नियन्त्रणमा लिनसक्यो । घटना खुल्ने र बाहिर आउने डरले दुर्घटनामा घाइते भएका अजितलाई बसेकै ठाउँमा स्वास्थ्य अवस्था बिग्रिएका कारण ल्याएको भन्दै परिवारका सदस्यले ढाँटेर अस्पताल भर्ना गरेको पाइएको प्रहरीको भनाइ छ । पछि चिकित्सकले दुर्घटनामा परेको हुनसक्ने जानकारी दिएपछि प्रहरीले अनुसन्धान थाल्दा घटना पत्ता लागेको हो ।

आफन्त र परिवारका सदस्यले ‘सुटुक्क’ शव अस्पतालबाट निकालेर अन्त्येष्टिका लागि लैजाने तयारी गर्दै गर्दा घटनाका बारेमा थाहा प्रहरीले थाहा पायो । त्यसपछि शव नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि कोसी अस्पताल लैजाँदै मोटरसाइकल चालक देवकुमारलाई प्रहरीले पक्राउ गर्यो । उनीविरुद्ध सवारी ज्यान मुद्दामा अनुसन्धान अघि बढाउन प्रहरीले म्याद थप गर्दै घटनाका बारेमा कानुनी प्रक्रिया अघि बढाइसकेको छ ।

‘कुनै पनि दुर्घटना वा घटनामा परेर कसैको मृत्यु भएमा शवको पोस्टमार्टम गर्नुपर्छ । घटनाको मुचुल्का तयार पार्ने लगायत अनुसन्धानका विभिन्न कानुनी प्रक्रिया पूरा गर्नुपर्छ,’ मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले भने, ‘तर दुर्घटनामा परेर भएको मृत्युलाई गोप्य राख्न खोजिए पनि प्रहरीले थाहा पाएकाले त्यो सम्भव भएन । यदि पोस्टमार्टम नगरिकन अन्त्येष्टि भइसकेको भए दुर्घटनाको सबै प्रमाण नष्ट हुने थियो ।’ उनले प्रहरीलाई जानकारी नदिइ दाहसंस्कारका लागि ‘सुटुक्क’ शव लग्दै घटनालाई ढाकछोप गर्न खोजिएको विषयमा पनि अनुसन्धान अघि बढाइने जानकारी दिए ।

चालकले लाइसेन्सबिनानै चलाउँदा दुर्घटनामा परेको मोटरसाइकल ।

यो घटना लाइसेन्स प्राप्त नगरिकन भएको सवारी दुर्घटनाको एउटा उदाहरण हो । काकाले चलाएको मोटरसाइकल दुर्घटनामा भतिजको ज्यान गएपछि चालकलाई कारबाही नहोस् भनेर पारिवारिक सल्लाहमै अन्त्येष्टिका लागि अस्पतालबाट ‘सुटुक्क’ शव लैजान खोजेको पाइएको एसपी खड्काले जानकारी दिए । ‘एकातिर चालकको लाइसेन्स नै रहेनछ । अर्कातिर दुर्घटनामा परिवारका सदस्य गुमाउनु पर्यो,’ उनले भने, ‘लाइसेन्स बिना सवारी चलाउँदा भएको दुर्घटनामा कारबाही पनि बढी हुन्छ । लाइसेन्स होल्डरलाई थोरै सजायको व्यवस्था छ ।’

बिना लाइसेन्स सवारी चलाउनु अपराध हो : एसपी खड्का
लाइसेन्स प्राप्त नगरिकन सवारी साधन चलाएर गराएको दुर्घटनामा ज्यानै गएपछि प्रहरीले गम्भीर ढंगले अनुसन्धान थालेको छ । यसरी सवारी चलाउँदा दुर्घटना भएर कसैको मृत्यु भएमा ज्यान मारे सरह थप सजाय हुने कानुनी व्यवस्था रहेको एसपी खड्काले बताए । ‘लाइसेन्स प्राप्त नगरिकन सवारी चलाउन कानुनले नै रोकेको छ,’ उनले भने, ‘यदि चलाएर दुर्घटना भई कसैको मृत्यु भएमा ज्यान मारे सरह कारबाही हुन्छ ।’

घटना सवारी ज्यानसँग सम्बन्धित भए पनि थप सजाय हुने भएकाले लाइसेन्स प्राप्त नगरिकन सवारी चलाउन नहुने सुझाव उनले दिएका छन् । एसपी खड्काले बिना लाइसेन्स सवारी चलाउनु पनि अपराध भएको बताए । लाइसेन्स प्राप्त नगरिकन सवारी चलाउने चालकलाई ट्राफिक प्रहरीले नियम उल्लंघनको कसूरमा एक हजार पाँच सय रुपैयाँसम्म जरिवाना गर्ने गरेको छ । उनले लाइसेन्स लिएर आधिकारिकता प्राप्त गरेपछि मात्रै सवारी चलाउन सबैमा आग्रह गरेका छन् ।

बिना लाइसेन्स सवारी चलाउनेलाई सडकमा कसरी गाडी कुदाउने भन्ने थाहा नहुने र अनुभव पनि नहुने बताउँदै खड्काले थप जेल सजायबाट बच्न, ट्राफिक नियमको पालना गर्न र कारबाहीबाट बच्न पनि लाइसेन्स प्राप्त गरेर मात्रै सवारी चलाउनुपर्ने बताए । ‘बिना लाइसेन्स गाडी चलाउँदा कुनै दुर्घटना भयो भने त्यसले दुर्घटना गराउनेका लागि ठूलै विपत्ति निम्त्याउँछ,’ उनी भन्छन्, ‘जसले जेल बस्नुपर्ने अवस्थाको सिर्जना गर्छ ।’

उनले सवारी धनीले लाइसेन्स प्राप्त व्यक्तिलाई मात्रै सवारी चलाउन दिनुपर्ने पनि बताए । ‘लाइसेन्स नहुँदा गाडी कुदाउन जो कोहीले पनि बल गर्न हुँदैन,’ एसपी खड्काले भने, ‘जसले विभिन्न कानुनी कारबाही र अरु विपत्तिबाट जोगिन ठूलो मद्धत गर्छ । गाडी कुदाउनेले पनि पछि के कारबाही हुन्छ भन्ने कुरा विचार गर्नुपर्छ ।’ पछिल्लो समय विद्यार्थी र युवा वर्गमा बिना लाइसेन्स मोटरसाइकल लगायतका सवारी चलाउने क्रम बढेको उनको भनाइ छ । खड्काले सबै अभिभावकदेखि लिएर सवारी चालकसम्मले सचेत हुँदै नियमको पलनामा जोड दिए दुर्घटना भएर अकालमा ज्यानै गुमाउनुपर्ने जोखिम नहुने पनि बताए ।

डीआईजी कार्कीको कडा निर्देशन
पछिल्लो समय लाइसेन्स प्राप्त नगरिकन सवारी साधन चलाउने र दुर्घटना भएर मानवीय क्षति निम्तने क्रम बढेपछि प्रहरीले सडकमा कडाई गरिरहेको छ । प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले बिना लाइसेन्स गाडी चलाउनेलाई तत्काल कारबाहीको दायरामा ल्याउन कडा निर्देशन दिएका छन् ।

निर्देशन अनुसार सडकमा ट्राफिक र नेपाल प्रहरीको संयुक्त टोलीले चेकजाँच एवं कारबाहीलाई तीव्र बनाएर लगेको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले बताए । ‘कस्ता चालकले सवारी चलाउन पाउँदैनन् भन्ने कुरा कानुनमै स्पष्ट व्यवस्था छ । सवारी ऐनले गाडी चलाउने गलत तरिकालाई अस्वीकार गर्छ,’ शर्मा भन्छन्, ‘नियमको पालना सबैले गर्नुपर्छ । यसले अकालमा हुने मृत्युदेखि लिएर दुर्घटनाको जोखिमको अन्त्य गर्छ ।’

नियमविपरीत सवारी चलाउनेलाई नियन्त्रणमा लिने, जरिवाना गर्ने लगायतका कारबाही भइरहेको उनको भनाइ छ । शर्माले लाइसेन्स प्राप्त चालक पोख्त र अनुभवी हुने तथा लाइसेन्स साथमा हुँदा सवारी चलाउनलाई आत्मविश्वास पनि बढ्ने बताए । अझ दुर्घटना हुँदा लाइसेन्स होल्डरलाई कानुनले सीमित सजायको व्यवस्था गरेको उनको भनाइ छ ।

डीआईजी कार्कीले बिना लाइसेन्स गाडी कुदाउँदा दुर्घटना भएर मानवीय क्षति हुँदा दुर्घटना गराउने र क्षति बेहोर्ने दुवै पक्ष पीडामा पर्ने बताए । ‘दुर्घटनाका कारण पीडित बनेका तनावमा हुने नै भएन,’ उनले भने, ‘अर्कोतिर बिना लाइसेन्स चलाएर दुर्घटना हुँदा चालकलाई थप कारबाही हुन्छ नै ।’ अटेर गरेर नियमको उल्लंघन गर्दै सवारी चलाउँदा दुर्घटना भए कानुनले नछाड्ने हुँदा उज्वल भविष्य बोकेका युवा वर्ग लगायतले जेलमा बसेर आफ्नो भविष्य अन्धकार बनाउनुपर्ने भएकाले सवारी साधन सञ्चालनका सवालमा सबै सचेत र सजग हुनुपर्नेमा डीआईजी कार्कीको जोड छ ।

jackson ribon