birat ribon

रियल मड्रिडलाई अटलान्टाको चेतावनी

Neuro
रियल मड्रिडलाई अटलान्टाको चेतावनी

विराटनगर / च्याम्पियन्स लिगअन्तर्गत रियल मड्रिडविरुद्ध खेल्नुअघि इटालियन क्लब अटलान्टाले फराकिलो जित निकाल्दै चेतावनी दिएको छ । सिरी ‘ए’मा बुधबार राति अटलान्टाले क्रोटोनमाथि ५–१ गोलको फराकिलो जित निकाल्दै रियललाई चेतावनी दिएको हो ।

cura insider

रियल र अटलान्टाले १६ मार्चमा च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लेगको खेल खेल्दैछन् । रियलको मैदानमा हुने उक्त खेलमा घरेलु टोली क्वार्टरफाइनल पुग्नका लागि सहज अवस्थामा छ ।

पहिलो लेगमा अटलान्टालाई उसैको मैदानमा १–० गोलको जित निकालेका कारण ऊ सहज अवस्थामा छ । तर गए राति फराकिलो जित निकाल्दै अटलान्टाले रियललाई सोच्न बाध्य तुल्याएको छ ।

आफ्नै मैदानमा अटलान्टालाई जिताउन रोबिन गोसेन्स, जोसे लुइस पालोमिनो, लुइस फर्नान्डो फ्रुटो, जोसिप इलिसिस, एलेक्सेयी मिरान्चुकले समान एक–एक गोल गरे । क्रोटोनका सिमोन टोचुक्वा न्वान्कोले एक गोल गरे ।

जितसँगै चौथो स्थानको अटलान्टाले साविक विजेता युभेन्टससँग अङ्क बराबरी गरेको छ । उसले २५ खेलमा ४९ अङ्क बनाएको छ । २४ खेल खेलेको युभेन्टस समान अङ्कसहित तेस्रो स्थानमा छ । ऊ गोलान्तरको आधारमा अटलान्टाभन्दा अगाडि छ ।

jackson ribon