birat ribon

रानी–विराट यातायात सञ्चालन अन्योलमा, दुई सय मजदुर विस्थापित

Neuro
रानी–विराट यातायात सञ्चालन अन्योलमा, दुई सय मजदुर विस्थापित

मोहन ढकाल

विराटनगर / कोरोना महामारीका कारण गत चैतदेखि विराटनगरको रानीमा रोकिएका बस सञ्चालन हुन सकेका छैनन् । कोरोना महामारीसँगै गरिएको लकडाउन खुलिसकेको लामो समय भइसकेको छ । अन्य क्षेत्र पनि पहिलाजस्तै चलायमान भएका छन् । देशैभरको यातायात क्षेत्र सञ्चालनमा रहेको अवस्था छ । तर रानीदेखि ढाटसम्म सञ्चालन हुँदै आएका रानी–विराट यातायात प्रालिका बस सञ्चालनमा भने समस्या देखिएको छ ।

cura insider

विराटनगरसँग जोडिएको जोगवनी नाका बन्द रहेका कारण बस सञ्चालनमा समस्या भएको हो । विराटनगरबाट भारतीय बजार जोगवनीसँग जोडिएका खुला सीमाको दुरुपयोग भइरहेको छ । तर मुख्य नाका सञ्चालन गर्न सम्बन्धित पक्ष मौन छ । दिनहुँ खुल्ला सिमानाको प्रयोग गर्दै हजारौँ मानिस जोगमनी आवतजावत गरिरहेका हुन्छन । तर मुख्य नाका नखोलिँदा यात्रुको अभावमा रानीदेखि ढाटसम्म बस सञ्चालन गर्दै आएका यातायात व्यवसायी मारमा परेका छन् ।

रानी विराट यातायात प्रालिका ६५ वटा बसहरु रानी–देखि विराटनगरसम्म सञ्चालन हुँदै आएको व्यवसायीले बताएका छन् । तर लामो समयदेखि बाटोमा नै रोकिएर राखिएका बसहरु थोत्रिँदै गएका छन् । बसमा काम गर्ने लगभग दुई सय मजदुरको रोजगारीसमेत खोसियो । अझ किस्ता र गाडीको बिमा साथै राजश्व बुझाउन नसकेका कारण व्यवसायी थप समस्यामा परेका छन् । कतिपय व्यवसायीले राजश्व र बिमावापतको रकमसमेत तिर्न सक्ने अवस्था नरहेको गुनासो गरेका छन् ।

केही दिनअगाडि दुई–तीन दिन दिनहुँजसो हुने सभा–सम्मेलनमा पाँच–सातवटा वस रिर्जभमा सञ्चालन भएका थिए । तर, त्यसयता कुनै पनि बस सञ्चालन हुन नसकेको रानी–विराट यातायात प्रालिका प्रबन्धक मजाहिदुल इस्लामले बताए । केही समयअगाडि दैनिक चार–पाँचवटा बस सञ्चालन गर्ने कोसिस गरियो तर मुस्किलले भेटिने दुई–तीनजना मात्र यात्रुले तेलको खर्चसमेत उठ्ने अवस्था नभएका कारण पुनः सञ्चालन गर्न नसकेको उनको भनाइ छ । उनले भने, ‘धेरै बस त सञ्चालन हुन सक्ने अवस्थामा नै छैनन्, कतिपय व्यवसायीसँग गाडी मर्मत गर्ने र राजश्व बुझाउन सक्नेसमेत अवस्था छैन ।’

बस सञ्चालन भएको भए समस्या हुने थिएन तर लामो समय रोकिएका कारण मर्मत पनि गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । सरकारले राजश्वमा अलिकति पनि छुट नगरेको भन्दै इस्लाम भन्छन्, ‘समयमा राजश्व नबुझाएको भन्दै उल्टै फाइन तिर्न पर्‍यो, एउटै गाडीको ५५ हजारसम्म बुझाउनुपर्ने अवस्था आयो, सबैले बुझाउन सक्ने अवस्था नै छैन ।’

शनिवारबाट केही बस सञ्चालनको तयारी गरेको बताउँदै उनले भने, ‘शनिबारबाट १० वटा बस सञ्चालनको तयारी गरेका छौँ, हप्ता दिन सञ्चालनपश्चात् घाटा लाग्ने अवस्था भयो भने फेरि सञ्चालन गर्न नसक्ने अवस्था हुन्छ ।’

नाका बन्द रहेकै अवस्थामा पनि खुला नाकाको प्रयोग भएको छ । तर भित्री सडकखण्डबाट आवतजावत भएका कारण यात्रुहरुले अन्य सवारीका साधनहरु नै प्रयोग गर्ने गरेका छन् । जसबाट व्यवसायी भने अब के गर्ने भन्ने सोचाइमा छन् । नाका खुलेको अवस्थामा समस्या नहुने व्यवसायीको भनाइ छ । उनीहरुले खुला सीमाको आवतजावत रोकेर मुख्यनाका खोल्नुपर्नेमा जोड दिएका छन् ।

नाका सञ्चालन गर्ने भनेर केही समयअगाडि भनिए पनि अझै कहिले सञ्चालन हुन्छ भन्ने अन्योल छ । आइसिपीबाट मालसामान आवतजावतमा समस्या नभएका कारण पनि सरकारले नाका खोल्न चासो नदेखाएको बस व्यवसायीको बुझाइ छ । तीनै तहको सरकारले आफ्ना समस्या सुन्न नचाहेको उनीहरु बताउँछन् ।

मजदुर विस्थापित

रानी–विराट यातायातमा काम गर्दै आएका मजदुर विस्थापित भएका छन् । लामो समयदेखि बस सञ्चालन हुन नसकेपछि केही समय पर्खाइमा बसेका मजदुरमध्ये केहीले अन्य क्षेत्रमा काम गरिरहेका छन् ।

व्यवसायीका अनुसार आफूले पाल्न नसकेका कारण उनीहरुमध्ये केही अन्य क्षेत्रमा नै लागिसकेका छन् । लकडाउनको पहिलो चरणमा केही राहत दिए पनि पछिल्लो समय व्यवसायी नै मर्कामा परेपछि मजदुरहरु अन्य क्षेत्रमा काम गर्न थालेका हुन् ।

केही मजदुरु रिक्सा चलाउन थालेका छन्, केहीले सिटीसफारी चलाउँदै छन् भने कतिपयले दैनिक ज्याला मजदुरीको काम गरेर परिवार चलाइरहेका छन् । केही मजदुर अहिले पनि बस सञ्चालनको पर्खाइमै रहेको मजदुर सङ्गठन रानी इकाइका सह–सचिव जाकिर हुसैनले बताए ।

उनले भने, ‘सरकारले खुला सीमाबाट खुलेआम आवतजावत गर्न दिएको अवस्था छ । तर मुख्यनाका सञ्चालनमा आनाकानी गर्दा दुई सय मजदुरको रोजीरोटी खोसिएको अवस्था छ ।’ यस विषयमा सरकारले चाँडै ध्यान पुर्‍याउनु पर्ने हुसैनले बताए ।

jackson ribon