विराटनगर / प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकारबाट हटाए अर्को निर्वाचनमा दुई तिहाइ बहुमत ल्याएर सिंहदरबार फर्कने बताएका छन्।
प्रधानमन्त्री ओलीले मंगलबार झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनपछि देश बनाउन अझै बाँकी रहेकाले जस्तै चुनौती आए पनि सामना गरेर सिंहदरबार फर्कने बताएका हुन्। ‘नेपालमा काम गर्नेलाई टिक्न दिइँदैन। मेरो नेतृत्वको सरकारले विकासको बाटो खनेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘यो बाटोमा तगारो हाल्ने काम भए र मलाई हटाए पुनः फर्किएर सुरु गरेको काम सक्नेछु।’
ओलीले आफ्नो नेतृत्वको सरकारलाई घेरामा पार्ने र हटाउने चलखेल भएको लामो समय भएको स्मरण गर्दै अझै पनि हटाउलान् कि भनेर आफूले खुट्टा भने नकमाएको बताए। ‘म पहिले त हटाएर देखाउन चुनौती दिन्छु’, ओलीले भने, ‘यदि हटाए भने पनि छोटो समयमा बहुमत ल्याएर सिंहदरबार फर्केर काम गरेर देखाउँछु।’
प्रधानमन्त्री ओलीले झापाको बी एन्ड सी अस्पतालले छिट्टै मेडिकल कलेजको मान्यता पाउने बताएका छन्। यो विषय झापाको लागि मात्रै नभएर छिमेकी देशका लागि पनि गौरवको कुरा हुने उनको भनाइ थियो। ‘बी एन्ड सी मेडिकल कलेजको अहिलेसम्म मान्यता पाएको छैन’, उनले भने, ‘यो माग छिट्टै पूरा हुन्छ।’ अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ