birat ribon

रोनाल्डोको कीर्तिमान, युभेन्टसको उपाधि आशा कायमै

Neuro
रोनाल्डोको कीर्तिमान, युभेन्टसको उपाधि आशा कायमै

विराटनगर / पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाएका छन् । मङ्गलबार राति इटालियन सिरी ‘ए’मा साविक विजेता युभेन्टसले स्पेजियामाथि ३–० गोलको जित निकाल्दा एक गोल गरेका स्ट्राइकर रोनाल्डोले नयाँ कीर्तिमान बनाएका हुन् ।

घरेलु मैदानमा युभेन्टसलाई जिताउन अल्भारो मोरटा, फेडेरिको चिसा र क्रिस्टियानो रोनाल्डोले समान एक–एक गोल गरेका थिए । रोनाल्डोले खेल सकिन एक मिनेटमा मात्र बाँकी छँदा गोल गरेका थिए ।

cura insider

यस गोलसँगै रोनाल्डो युरोपका शीर्ष पाँच लिगमा लगातार १२ सिजन कम्तिमा २० गोल गर्ने पहिलो खेलाडी बने । उनले गए राति आफ्नो करिअरको ६००औँ खेल खेलेका थिए ।

रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट प्रिमियर लिग खेलेका थिए भने रियल मड्रिडबाट ला लिगा खेलेका थिए । आफ्नो करिअरको थालनी स्पोर्टिङ सिपीबाट गरेका उनले जम्मा छ सय ६५ गोल गरेका छन् ।

उपाधि आशा कायमै

युभेन्टसका मुख्य प्रशिक्षक आन्द्रे पिर्लोले अझै पनि युभेन्टस उपाधि दौडमै रहेको उल्लेख गरेका छन् ।

स्पेजियासँगको जितसँगै युभेन्टसले शीर्ष स्थानको इन्टर मिलान र दोस्रो स्थानको एसी मिलानसँग अङ्क दूरी छोट्याएको छ । युभेन्टसले २४ खेलमा ४९ अङ्क जोडेको छ । ऊ तेस्रो स्थानमा छ ।

समान खेल खेलेको इन्टरसँग ५६ अङ्क छ भने मिलानसँग ५२ अङ्क छ । स्पेजिया भने २५ अङ्कका साथ १५औँ स्थानमा छ । उसले २५ खेल खेलेको छ ।

‘अङ्क दूरी भनेको एउटा अङ्क मात्र हो,’ पिर्लोले भने, ‘हामीलाई थाहा छ, यो ठूलै चुनौती हो । इन्टरले पछिल्ला दुई वर्ष हामीसँगै खेलिरहेको छ । हाल ऊ अगाडि देखिएको छ । त्यै पनि हामी उपाधि दौडमै छौँ ।’

jackson ribon