birat ribon

भरतमोहनकी छोरी भन्छिन्– ‘ठूलो जमात राजनीतिबाट कमाउन लागेको छ, नयाँ पुस्ताले तोड्नुपर्छ’

Neuro
भरतमोहनकी छोरी भन्छिन्– ‘ठूलो जमात राजनीतिबाट कमाउन लागेको छ, नयाँ पुस्ताले तोड्नुपर्छ’
लिमा अधिकारी
(भरतमोहन अधिकारीको छोरी)


नेपाली कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्‍याउन स्वर्गीय भरतमोहन अधिकारीको योगदान ठूलो छ । उहाँ दूरदर्शी नेता हुनुहुन्छ ।

cura insider

नेपाली कम्युनिस्ट आन्दोनलाई उहाँहरूले एउटा उचाइमा पुर्‍याउनुभयो । हामीले पहिले देखेको कम्युनिस्ट आन्दोलन स्पष्ट दिशामा थियो । अहिलेको आन्दोलन विकृत भयो । यस्तो अवस्था देख्दा उहाँको पुस्ता सच्चा कम्युनिस्ट हुनुहुँदो रहेछ भन्ने अनुभूति हुन्छ ।

राजनीतिमा नयाँ पुस्ताको आवश्यकता छ । अहिले राजनीतिलाई कमाउने धन्दा बनाउनेहरू बढी छन् ।

राजनीतिमा सही मान्छे आउनुपर्छ । विकृति विसङ्गति तोड्नुपर्छ । एकले अर्कालाई गालीगलौज गर्ने होडबाजी छ । यसले कम्युनिस्ट आन्दोलनलाई पतनको दिशातर्फ लैजान्छ । अब कम्युनिस्ट आन्दोलनलाई जोगाउन हामीजस्ता पढेलेखेका सचेत युवा आउनुपर्छ ।

म अहिले बिजनेसमा छु । परिस्थिति बन्दा हाम्रो परिवारबाट म राजनीतिमा आउँछु । किनकि हामी तीनजना दीदी–बहिनीमध्ये दुई जना काठमाडौँमा हुनुहुन्न । परिवारको विरासत रहेकाले आउने होइन् । म क्षमतामा विश्वास गर्छु । पूर्णकालीन नभए पनि अहिले पनि पार्टीको सदस्य हुँ । राजनीतिमा आउनका लागि क्षमता मसँग छ ।

अहिले राजनीतिमा लागेको जमात त्यसैबाट कमाउनतर्फ लाग्यो । अब दक्ष र शिक्षित जनशक्ति आउनुपर्छ, जसलाई राजनीतिमा लागेर पैसा कमाउने महत्त्वाकाङ्क्षा नहोस् ।

ठूलो तप्का अवसरबाट गुम्यो

नेपाली जनताले नेपालमा भएका हरेक आन्दोलनलाई साथ दिएका छन् । जनताको साथका कारण ठूला–ठूला उपलब्धि हासिल भएको छ । तर हिजोदेखि आन्दोलनको उपलब्धि उपभोग गर्न ठूलो तप्का छुटेको छ । सीमित नेता र तिनका कार्यकर्ताको वरिपरि राजनीति घुमिरह्यो । हिजोको त्रृटि यही हो ।

बुबाले पार्टी विभाजनको यो अवस्था हेर्नु परेन । हेर्नु भएको भए रोगले होइन, पार्टीको छट्पटीले लान्थ्यो ।

आन्दोलनपछि प्राप्त उपलब्धि सीमित नेतामा केन्द्रित भएका कारण समस्या आएको हो । हिजो ठूलो जमातलाई समेटेर लैजान सकेनौँ । राज्य सञ्चालनमा सचेत नागरिकको ठूलो तप्का छुटेको छ । अब सबै क्षेत्रलाई समेटेर अघि बढ्न सक्नुपर्छ ।

अहिले राजनीतिलाई नै कमाउने भाँडो बनाइएको छ । यो ठूलो विकृति हो । यसलाई चिर्न नेतृत्वबाटै अभियान चाल्नुपर्छ । कमी–कमजोरीबाट सिकनौँ भने नेपाली कम्युनिस्ट आन्दोलन पतन हुँदै जान्छ ।

बुबामा दूरदर्शिता थियो

भरतमोहन अधिकारीमा हिजो दूरदर्शिता थियो । बायस भएर बोलेको जस्तो देखिएला तर उहाँको एउटा सोचले देशलाई दीर्घकालीन प्रभाव पार्याे ।

त्यसबेला वृद्धभत्ता जम्मा एक सय रुपैयाँ थियो । लोकप्रिय कार्यक्रम बन्यो । सुरु भएयता कुनै सरकारले काट्न सकेनन् । बढाउँदै लैजानुपर्याे । अहिले तीन हजार रुपैयाँ दिइरहेको छ । अब पाँच हजारसम्म दिने कुरा छ । पाँच हजार बूढाबूढीका लागि राम्रो पकेट मनी हुन्छ ।

बुबाले ज्येष्ठ नागरिकलाई धेरै माया गर्नुहुन्थ्यो । उहाँको माया देखाउनका लागि हामीले फाउन्डेसन खोलेका छौँ । अब फाउन्डेसनमार्फत ज्येष्ठ नागरिकलाई सम्मान गर्ने अभियान सुरु गरेका छौँ । दीर्घकालीन प्रभाव पार्ने खालका कार्यक्रम गर्छाैं । चाँडै डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्ने योजना छ ।

बुबा जीवनको अन्तिम समयमा दुई महिना अस्पतालमा बस्नुभयो । त्यसबेला पार्टी विवाद भर्खरै सुरु भएको थियो । नेपालको कम्युनिस्ट आन्दोलनलाई ठूलो अवसर आएको छ भन्नुहुन्थ्यो उहाँ । विवादका कारण धेरै चिन्तित हुनुहुन्थ्यो । उहाँको सोच बृहत् कम्युनिस्ट एकताले जनताको हकहितका लागि काम गर्नुपर्छ भन्ने थियो । दुई कम्युनिस्ट पार्टी मिल्दा उहाँ एकदम खुसी हुनुहुन्थ्यो । उहाँको इनर्जी देख्दा सच्चा कम्युनिस्ट उहाँ नै हो भन्ने लाग्छ ।

कम्युनिस्ट कार्यकर्ता भन्न लाज लाग्ने अवस्था आयो

पार्टीलाई विकृतिले गाजेको छ । त्यसलाई चिर्न नेतृत्व तहबाट अगुवाइ गर्नुपर्छ । होइन भने कम्युनिस्ट आन्दोलन लामो समयसम्म अघि बढ्दैन । कम्युनिस्ट पार्टीका नेताको जुन अभिव्यक्ति आइरहेको छ । त्यसले लज्जाबोध भइरहेको छ ।

म पार्टीको मेम्बर हुँ । शुभचिन्तक हुँ भन्दा पनि कहिलेकाहीँ लज्जाबोध हुन्छ । यस्तो अवस्था हुनुहँुदैन् । अहिलेको अवस्था देख्दा नरमाइलो लाग्छ । अब हामीजस्ताले कम्युनिस्ट आन्दोलनलाई सुदृढ गर्दै अघि बढाउनुपर्छ । बुबाले पार्टी विभाजनको यो अवस्था हेर्नु परेन । हेर्नु भएको भए रोगले होइन, पार्टीको छट्पटीले लान्थ्यो ।
(भरतमोहन अधिकारीकी माइली छोरी लिमासँग गरिएको कुराकानीमा आधारित)

jackson ribon