लिमा अधिकारी
(भरतमोहन अधिकारीकी छोरी)
नेपाली कम्युनिस्ट आन्दोलनलाई उचाईमा पुर्याउन स्वर्गीय भरतमोहन अधिकारीको योगदान ठूलो छ । उहाँ दुरदर्शी नेता हुनुहुन्छ । नेपाली कम्युनिस्ट आन्दोनलाई उहाँहरूले एउटा उचाईमा पुर्याउनु भयो । हामीले पहिले देखेको कम्युनिस्ट आन्दोलन स्पष्ट दिशामा थियो । अहिलेको आन्दोलनको विकृति भयो । यस्तो अवस्था देख्दा उहाँको पुस्ता सच्चा कम्युनिस्ट हुनुहुँदोरहेछ भन्ने अनुभूति हुन्छ । अहिलेको विकृति–विसङ्गती हाबी भएको छ ।
राजनीतिमा नयाँ पुस्ताको आवश्यकता छ । अहिले राजनीतिलाई कमाउने धन्दा बनाउनेहरू बढी छन् । राजनीतिमा सही मान्छे आउनुपर्छ । विकृति–विसङ्गती तोड्नुपर्छ । एकले अर्कालाई गालीगलौज गर्ने होडबाजी छ । यसले कम्युनिस्ट आन्दोनलाई पतनको दिशातर्फ लैजान्छ । अब कम्युनिस्ट आन्दोलनलाई जोगाउन हामीजस्ता पढेलेखेका सचेत युवाहरू आउनुपर्छ ।
म अहिले बिजनेसमा छु । परिस्थिति बन्दा हाम्रो परिवारबाट म आउँछु । किनकि हामी तीन जना दिदी–बहिनीमध्ये दुई जना काठमाडौँमा हुनुहुन्न । परिवारको बिरासत रहेकाले आउने होइन । म क्षमतामा विश्वास गर्छु । पूर्णकालीन नभएपनि अहिले पनि पार्टीको सदस्य हुँ । राजनीतिमा आउनका लागि क्षमता मसँग छ ।
अहिले राजनीतिमा लागेको जमात त्यसैबाट कमाउनतर्फ लाग्यो । अब दक्ष र शिक्षित जनशक्ति आउनुपर्छ जसलाई राजनीतिमा लागेर पैसा कमाउन महत्त्वकांक्षा नहोस् ।
ठूलो तप्का अवसरबाट गुम्यो
नेपाली जनताले नेपालमा भएका हरेक आन्दोलनलाई साथ दिएका छन् । जनताको साथका कारण ठूला–ठूला उपलब्धि हासिल भएको छ । तर हिजोदेखि आन्दोलनको उपलब्धि उपभोग गर्न ठूलो तप्का छुटेको छ । सीमित नेता र तिनका कार्यकर्ताको वरिपरि घुमिरह्यो । हिजोको त्रुटी यहीँ हो ।
आन्दोलनपछि प्राप्त उपलब्धि सीमित नेतामा केन्द्रित भएका कारण समस्या आएको हो । हिजो ठूलो जमातलाई समेटेर लैजान सकेनौँ । राज्य सञ्चालनमा सचेत नागरिकको ठूलो तप्का छुटेको छ । अब सबै क्षेत्रलाई समेटेर अघि बढ्न सक्नुपर्छ ।
अहिले राजनीतिलाई नै कमाउने भाँडो बनाइएको छ । यो ठूलो विकृति हो । यसलाई चिर्न नेतृत्त्वबाटै अभियान चाल्नुपर्छ । कमी–कमजोरीबाट सिकनौँ भने नेपाली कम्युनिस्ट आन्दोलन पतन हुँदै जान्छ ।
बुबामा दुदर्शिता थियो
भरतमोहन अधिकारीमा हिजो दुरदर्शिता थियो । बायस भएर बोलेको जस्तो देखिएला तर उहाँको एउटा सोचले देशलाई दीर्घकालीन प्रभाव पार्यो ।
त्यसबेला वृद्धभत्ता जम्मा एक सय रुपैयाँ थियो । लोकप्रिय कार्यक्रम बन्यो । सुरु भएयता कुनै सरकारले काट्न सकेन । बढाउँदै लैजानुपर्यो । तीन हजार रुपैयाँ दिइरहेको छ । अब पाँच हजारसम्म दिने कुरा छ । पाँच हजार बूढाबूढीका लागि राम्रो पकेटमनी हुन्छ ।
बुबाले ज्येष्ठ नागरिकलाई धेरै माया गर्नुहुन्थ्यो । उहाँको माया देखाउनका लागि हामीले फाउण्डेशन खोलेका छौँ । अब फाउण्डेशनमार्फत ज्येष्ठ नागरिकलाई सम्मान गर्ने अभियान सुरु गरेका छौँ । दीर्घकालीन प्रभाव पार्ने खालका कार्यक्रम गर्छाैँ । चाँडै डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्ने योजना छ ।
बुबा जीवनको अन्तिम समयमा दुई महिना अस्पतालमा बस्नुभयो । त्यसबेला पार्टी विवाद भर्खरै सुरु भएको थियो । नेपालको कम्युनिस्ट आन्दोलनलाई ठूलो अवसर आएको छ भन्नुहुन्थ्यो उहाँ । विवादका कारण धेरै चिन्तित हुनुहुन्थ्यो । उहाँको सोच बृहत् कम्युनिस्ट एकताले जनताको हकहितका लागि काम गर्नुपर्छ भन्ने थियो । दुई कम्युनिस्ट पार्टी मिल्दा उहाँ एकदम खुसी हुनुहुन्थ्यो । उहाँको इनर्जी देख्दा सच्चा कम्युनिष्ट उहाँ नै हो भन्ने लाग्छ ।
कम्युनिस्ट कार्यकर्ता भन्न लाज लाग्ने अवस्था आयो
पार्टीलाई विकृतिले गाँजेको छ । त्यसलाई चिर्न नेतृत्त्व पङ्क्तिले अगुवाई गर्नुपर्छ । होइन भने कम्युनिस्ट आन्दोलन लामो समयसम्म अघि बढ्दैन । कम्युनिस्ट पार्टीका नेताको जुन अभिव्यक्ति आइरहेको छ । त्यसले लज्जाबोध भइरहेको छ ।
म पार्टीको मेम्बर हुँ । शुभचिन्तक हुँ भन्दा पनि कहिलेकाँही लज्जाबोध हुन्छ । यस्तो अवस्था हुनुहुँदैन । अहिलेको अवस्था देख्दा नरमाइलो लाग्छ । अब हामीजस्ताले कम्युनिस्ट आन्दोलनलाई सुदृढ गर्दै अघि बढाउनुपर्छ । बुबाले पार्टी विभाजनको यो अवस्था हेर्नु परेन । हेर्नु भएको भए रोगले होइन पार्टीको छटपटीले लान्थ्यो ।
(भरतमोहन अधिकारीकी माहिली छोरी लिमासँग गरिएको कुराकानीमा आधारित)