birat ribon

भ्रष्टाचारी ठहर गर्दै फ्रान्सका पूर्वराष्ट्रपतिलाई तीन वर्षको जेल सजाय

Neuro
भ्रष्टाचारी ठहर गर्दै फ्रान्सका पूर्वराष्ट्रपतिलाई तीन वर्षको जेल सजाय

विराटनगर / न्यायाधीशलाई घुस दिएर प्रभावित पार्न खोजेको आरोप लागेका फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सार्कोजी भ्रष्टाचारी ठहर भएका छन् ।

cura insider

उनलाई त्यहाँको अदालतले तीन वर्ष जेल सजाय सुनाएको छ । उनी फ्रान्समा जेल सजायको फैसला भएका पहिलो पूर्वराष्ट्रपति हुन् । सन् २०१४ मा पदमुक्त भएपछि न्यायाधीशलाई घुस दिएर प्रभावित पार्न खोजेको आरोप उनीमाथि लगाइएको थियो । सार्कोजीले गरेको फोन प्रहरीले ट्याप गरेर न्यायाधीशलाई प्रभावित पार्न खोजेको पुष्टि गरेको हो ।

उनका दुई वकिलसमेत मुछिएपछि यो मुद्दाले फ्रान्समा निक्कै चर्चा पाएको थियो । सार्कोजी र उनका वकिलहरुले न्यायाधीशलाई प्रभावित पार्न खोजेको पाइएको अदालतको ठहर छ । तर सर्कोजीलाई फैसलाविरुद्ध अपिल गर्नसक्ने बाटो पनि खुला राखिएको छ ।

त्यसैलाई अपनाउँदै उनले फैसलाविरुद्ध अदालतमा अपिल गर्ने तयारी थालेका छन् । तर यो प्रक्रिया पूरा नहुँदासम्म सर्कोजी स्वतन्त्र भइसक्ने छन् । विभिन्न सञ्चार माध्यमका अनुसार यो प्रक्रिया सकिन केही वर्ष लाग्न सक्छ ।

पूर्वराष्ट्रपति र उनका वकिलको कार्यले न्यायालयको छवि बिगार्ने प्रयत्न गरेको ठहर गर्दै कैद सजायको फैसला सुनाइएको हो । न्यायाधीश क्रिस्टिन मीलेले सुनाएको फैसलामा सर्कोजीलाई आफूले नराम्रो काम गर्दै छु भन्ने थाहा हुँदै पनि गलत मनसायले न्यायाधीशलाई प्रभावित पार्न खोजेको उल्लेख छ ।

फ्रान्सको इतिहासमा यो मुद्दालाई निकै महत्वपूर्ण मानिएको छ । सार्कोजीले गरेको अपिल असफल भएको अवस्थामा उनलाई सुनाइएको जेल सजाय उनले आफ्नै घरमा बसेर पूरा गर्न सक्नेछन् । सार्कोजी सन् २००७ मा पाँच वर्षको लागि फ्रान्सको राष्ट्रपति बनेका थिए ।

सार्कोजीमाथि निर्वाचनमा धेरै खर्च गरेको र लिबियाका तत्कालीन शासकसँग पैसा लिएको आरोप पनि छ । फ्रान्समा सन् २०१२ को निर्वाचन प्रचार अभियानमा सीमाभन्दा धेरै रकम खर्च गरेको र सन् २००७ को निर्वाचन प्रचारको लागि लिबियाका तत्कालीन शासक मुआमार गद्दाफीबाट पैसा लिएको विषयमा पनि उनीमाथि अनुसन्धान भइरहेको जनाइएको छ ।

jackson ribon