विराटनगर / उपचार खर्च तिर्न नसक्दा विराटनगर अस्पतालमा भर्ना भएकी मोरङकी महिलाले डिस्चार्ज हुन पाएकी छैनन् । सुत्केरीका लागि भर्ना भएकी मनिषा मुखिया उपचार शुल्क तिर्न नसक्दा घर जान नपाएकी हुन् ।
१८ पुसमा भर्ना भएकी रतुवामाइ नगरपालिका–४ केशरबारीकी मुखियाको परिवारले विराटनगर अस्पताल (विराट नर्सिङ) होममा पाँच लाख ५० हजार रुपैयाँ उपचार गरेको पैसाँ तिर्न सकेकी छैनन् । उनको उपचारमा औषधि र अस्पताल शुल्क गरेर १४ लाख हाराहारी बिल उठेको छ । माछा मारेर गुजारा चलाउँदै आएको परिवारले आधा शुल्क तिरेको छ । बाँकी शुल्क तिर्नसक्ने अवस्थामा छैनन् ।
गर्भवती भएपछि मनिषा विराटमा भर्ना भएकी थिइन् । सोही दिन शल्यक्रिया गरेर उनको नवजात शिशुलाई जन्म दिएकी थिइन् । शल्यक्रिया गरेर जन्म भएको नवजात शिशुको मृत्यु भएको परिवारको भनाइ छ ।
मनिषालाई २२ दिन आइसियूमा राखेपछि जनेरेल बेडमा राखेर हस्पिटलले उपचार गरेको थियो । हस्पिटल र फार्मेसीमा गरि उनको उपचार गरेको १४ लाख रुपैयाँमध्ये पाँच लाख ५७ हजार रुपैयाँ बुझाउँदा पनि अझै पाँच लाख ५० हजार रुपेयाँ बुझाएपछि मात्र बिरामी लान दिने भन्दै छोरी दुई महिनादेखि हस्पिटलमा रहेको आमा रीनादेवी मुखियाले बताइन् ।
उनले अस्पतालमा दुई लाख ५७ हजार र फार्मेसीमा तीन लाख रुपैयाँ बुझाएका थिइन् । ‘गाउँभरिमा चन्दा सङ्कलन गरेर ६० हजार रुपैयाँ उठ्यो, त्यो पनि हस्पिटल र फार्मेसीमा ल्याएर दियौँ,’ बुबा रामसेवक मुखियाले भने, ‘हामीसँग एक कट्ठा जग्गा थियो । त्यो पनि बिक्यो, उपचारका लागि लिएको ऋण सात लाख पुगेको छ ।’
उनले छोरीलाई हस्पिटलबाट निकाल्न सहयोग गरिदिन आग्रह गरे । अस्पतालका प्रशासन प्रमुख पदम बिनारीले अस्पतालले सक्नेजति छुट दिने बताए । बिरामीले तिरेको शुल्कबाट अस्पतालबाट कर्मचारीलाई सेवा सुविधा दिनुपर्ने उल्लेख गर्दै उनले अस्पतालले सक्नेजति छुट दिने बताए ।
अस्पतालले दुई साताअघि नै मनिषालाई डिस्र्चाज दिएको छ ।