birat ribon

गर्भावस्थामा भिडियो एक्स–रे कतिपल्ट गराउने ?

Neuro
गर्भावस्थामा भिडियो एक्स–रे कतिपल्ट गराउने ?

विराटनगर / गर्भावस्थामा बच्चाको स्थिति थाहा पाउनका लागि भिडियो एक्स–रे (अलट्रासाउन्ड वा युएसजी) गर्न चिकित्सकहरूले सल्लाह दिने गर्छन् ।

गर्भावस्थामा मात्र नभई शरीरको भित्री अङ्ग, रगत नली तथा टिश्युमा हुने समस्या आएमा पनि भिडियो एक्स–रे गर्न सल्लाह दिइन्छ । भिडियो एक्स–रे गर्भावस्थामा विशेष प्रयोग हुनेगर्छ । गर्भावस्थामा कम्तिमा पनि तीन पटकसम्म भिडियो एक्स–रे गर्नुपर्ने विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा कार्यरत स्त्री रोग तथा प्रसूती विशेषज्ञ सिद्धार्थकुमार यादव बताउँछन् ।

cura insider

पहिलो भिडियो एक्स–रेबाट बच्चा गर्भमा बसेको वा नबसेको हेर्न, गर्भ बसेको कति हप्ता भएको, गर्भमा कतिवटा बच्चा छ र डेलिभरी हुने अपेक्षित मिति थाहा पाउन सकिन्छ । त्यसपछि दोस्रो त्रैमासिक अर्थात् १८ देखि २२ हप्तामा गरिने भिडियो एक्स–रे (जसलाई एनोमली स्क्यान पनि भनिन्छ) बाट बच्चाको अवस्था, शारीरिक बनावटमा खराबी भए–नभएको, बच्चाको सम्पूर्ण शारीरिक र दिमागी अवस्था तथा जन्मजात रोग पत्ता लगाउनका लागि गरिन्छ ।

र, अन्तिम तीन महिना वा तेस्रो त्रैमासिकमा सालको पोजिसन हेर्न, बच्चा बसेको पोजिसन हेर्न (उल्टो बसेको वा सुल्टो), आमाको शरीरमा हुने एम्निओटिक फ्ल्युड (बच्चा हुर्किन चाहिने तरल पदार्थ)को मात्रा हेर्न र डेलिभरीको बेला हुनसक्ने जटिलता पत्ता लगाउनका लागि भिडियो एक्स–रे गरिन्छ । यी उल्लेखित कारण वा समयभन्दा अरु कारण वा आमा र बच्चामा केही समस्या भएमा पनि भिडियो एक्स–रे गरिन्छ ।

गर्भावस्थामा भिडियो एक्स–रे गर्नु नहुने भन्ने भ्रम समाजमा व्यापक रुपमा फैलिएको छ । मानिसहरूमा एक्स–रेको विकिरणका कारण धेरै गर्दा क्यान्सर हुने, बाँझोपन निम्त्याउन सक्ने भनेर सुनेका कारण समाजमा भिडियो एक्सरेसँग सम्बन्धित पनि भ्रम फैलिएको हुनसक्छ । युएसजीलाई भिडियो एक्स–रे भनिने हुँदा यसले बच्चामा असर गर्छ भन्ने भ्रम पैदा हुनु समान्य हो ।

तर, भिडियो एक्स–रेबाट अन्यको जस्तो विकिरण नआउने हुँदा यसले आमा र बच्चामा कुनै पनि प्रकारको असर गर्दैन । र, यो गर्भावस्थामा जति पटकसम्म युएसजी गराए पनि सुरक्षित नै हुने डा. यादवको भनाइ छ ।

jackson ribon