birat ribon

अब न्याय पाउने आशा पलाएको छ : सदीक्षा बास्तोला (भिडियो संवाद)

Neuro
अब न्याय पाउने आशा पलाएको छ : सदीक्षा बास्तोला (भिडियो संवाद)

विराटनगर / गएको साता मोरङको उर्लाबारीमा भएको प्रवीण बास्तोला मृत्यु प्रकरणले सञ्चार माध्यमदेखि सामाजिक सञ्जालसम्म निकै चर्चा पायो । त्यसको चर्चा अझै सेलाएको छैन । अब सायद त्यसले एउटा सही किनारा नपाएसम्म साम्य हुने अवस्था पनि छैन ।

cura insider

करिब दुई महिना अगाडि यो प्रकरण भएको थियो । तर प्रकृति, घट्नाक्रम र प्रारम्भिक अनुसन्धान हेर्दा मृत्यु सामान्य थिएन, शंकास्पद थियो ।

तर, यो मृत्युलाई सामान्यीकरण गर्ने कोसिस भयो । किन र कसरी यस्तो भयो त्यो खोजीको विषय छँदैछ । यसलाई एउटा सामान्य मृत्युको रूपमा लिँदै प्रहरी प्रशासनले अभियुक्तहरूलाई उन्मुक्ति दियो ।

आफन्तहरू यो कुरा मान्न तयार भएनन् । किनकि मृत्युको प्रकृति र घटनाक्रमले यसलाई हत्याकै संकेत गरिरहेका थिए । सुरुमा यसको अनुसन्धान अगाडि बढाउनका लागि न प्रहरी प्रशासन तयार देखियो, न सहयोग गर्न जनप्रतिनिधि नै अगाडि सरे ।

आफन्तहरूले हारगुहार गरिरहे । घटनाको सत्यतथ्य पत्ता लगाउन र अपराधीलाई कानुनबमोजिम कारबाही गर्न भनिरहे । तर उनीहरूको आवाजलाई कसैले सुनेन । न सञ्चार माध्यमले सुने न सरकारी निकायले । सञ्चार माध्यमहरू सरकारी कार्यालयहरूका बनिबनाउ रिपोर्ट छाप्न र सुनाउनमै तल्लीन भए । पीडितहरूका आवाज सरोकारवाल सरकारी कार्यालयहरूका भित्तामै सीमित रहे ।

तर, घटनाको दुई महिनापछि जब त्यसलाई फरक ढंगले प्रस्तुत गरियो तब मात्र सरोकारवाला निकायहरू आफ्ना कानमा कोचेको कपास निकाल्न बाध्य भए । किनकि अब पीडितका आवाजलाई दबाउन सक्ने उनीहरूमा ताकत थिएन । उनीहरू अहिले घटनाको अनुसन्धान अगाडि बढाउन तयार भएका छन् ।

यो न्यायको लडाइँ लड्ने प्रमुख पात्र थिइन् मृतककी बहिनी सदीक्षा बास्तोला । उनी अमेरिकामा बस्थिन् । तर, जब आफ्नै दाजुको शंकास्पद मृत्यु भएको खबर पाइन्, उनी नेपाल आइन् । यहाँ आएर उनले पनि न्यायका लागि सरोकारवाला निकायमा उसैगरी हारगुहार गरिन् जसरी यसअघि परिवारले गरेका थिए । उनको कुरा पनि ती कार्यालयले त्यसैगरी उपेक्षा गरे जसरी पहिला गरेका थिए ।

त्यसपछि सदीक्षाले यो न्यायको लडाइँलाई फरक ढंगले अगाडि बढाइन् । अहिलेको प्रविधिलाई उपयोग गर्दै उनले प्रहरी कार्यालयबाटै फेसबुक लाइभ गर्दै घटना सार्वजनिक गरिन् । उनले त्यसैमार्फत सम्पूर्ण न्यायपे्रमी जनसमुदायलाई आफ्नो आन्दोलनमा सहभागी भइदिन आग्रह गरिन् । उनको यो आग्रह तत्क्षण सामाजिक सञ्जालहरू यसरी भाइरल भयो कि मोरङ जिल्लाको एउटा गाउँमा भइरहेको आन्दोलनको पक्षमा पूरै नेपाल उत्रियो । आँखामा पट्टी र कानमा रुइ कोचेर बसेका सञ्चार माध्यमदेखि कुर्सीमा उँघेर बसेका जिम्मेवार सरकारी कर्मचारी ब्युँझिन बाध्य भए ।

अहिले सरोकारवाला निकाय घटनाको अनुसन्धान गरिरहेको छ । अहिले केही अभियुक्त पक्राउ पनि परिसकेका छन् भने अन्यको पनि खोजी कार्य चलिरहेको छ । अब पीडितहरूमा पनि न्याय पाउने कुरामा आशा पलाएको छ ।

अहिले सदीक्षाको चौतर्फी वाहवाही भइरहेको छ । आफ्नै लागि उनले सुरु गरेको न्यायको लडाइँमा उनलाई सफलता मिलोस् यो सबैको कामना त छँदैछ । थपमा उनले समाजको न्यायका लागि पनि आगामी दिनमा यस्ता लडाइँहरू लडून् भन्ने आमअपेक्षा वृद्धि भएको छ ।

यस्ता सदीक्षाहरू मोरङमा मात्र होइन, देशैभरि जन्मियून् भन्ने कामना गरिरहेछन् नेपालीहरू । उनै साहसिक युवती सदीक्षा बास्तोलालाई हामीले यसपटक कोसी अनलाइनमा प्रस्तुत गरेका छौं । प्रस्तुत छ, उनीसँग गरिएको भिडियो संवाद ।

jackson ribon