birat ribon

केराबारीका क्रसरलाई जनप्रतिनिधिको साथ, स्थानीयलाई उठिबासको त्रास

Neuro
केराबारीका क्रसरलाई जनप्रतिनिधिको साथ, स्थानीयलाई उठिबासको त्रास

विराटनगर / क्रसर उद्योगले अनधिकृतरूपमा उत्खनन गरेपछि मोरङको केराबारी गाउँपालिका–८ आमजुङ्गीका स्थानीय हैरान छन् । आफूले जिताएर पठाएका जनप्रतिनिधि नै अनियन्त्रित उत्खननको पक्षमा उभिएपछि आमजुङ्गीका बासिन्दा हैरान भएका हुन् ।

cura insider

खदम खोलासँग जोडिएको आमजुङ्गी बस्ती सिरानमा महादेव मिनरल इन्डस्ट्रिज र शिवम क्रसर उद्योग छन् । ती उद्योगले खोलाको प्राकृतिक बाँधको रूपमा रहेको ढुङ्गागिटीको अनधिकृत उत्खनन गर्दा स्थानीय आन्दोलित बनेका छन् ।

उद्योग सञ्चालकले खोलामा भएको गिटी, बालुवा उत्खनन गरिसकेका छन् । खोला धारमा करिब १५ फिटभन्दा गहिरो खाल्डो छ । खोला बाहिरको निजी जग्गामा १० फिटभन्दा गहिरो खनेर उत्खनन गरेपछि आन्दोलित बनेको स्थानीय जीतबहादुर बस्नेतले बताए ।

बस्ती बगाउनेगरी उत्खनन सुरु भएपछि स्थानीयले केही दिनयता प्रदर्शन गरिरहेको उनले बताए । पटक–पटक उद्योग सञ्चालकलाई आग्रह गर्दा नमानेका कारण शनिबारयता प्रदर्शन गर्नुपरेको उनले बताए ।

शनिबार उद्योगअगाडि प्रदर्शन गरेका स्थानीयले आइतबार केराबारी गाउँपालिकाको कार्यालय पनि घेराउ गरेका छन् । गाउँपालिका अध्यक्ष रोहित कार्कीले भेट्न नमानेपछि पालिकाको कार्यालयमा नाराबाजी गर्दै तोडफोडको प्रयास पनि गरेका छन् ।

स्थानीय खदम खोलामा सञ्चालनमा रहेका क्रसर उद्योगको सञ्चालक गाउँकै हुँदा समस्या नभए पनि ढुङ्गागिटी कारोबारी भीम पौडेलको प्रवेशले बस्ती नै उठिबास हुने जोखिममा रहेको उनले बताए ।
पौडेल मोरङ, सुनसरीका नामी ढुङ्गागिट्टी कारोबारी हुन् । पौडेलले महादेव मिनरल इन्डस्ट्रिज सञ्चालन गर्छन् । दुई वर्षअघि केराबारी प्रवेश गरेका पौडेलका कारण आमजुङ्गीका स्थानीय विस्थापित हुनुपर्ने अवस्था रहेको गाउँलेको गुनासो छ ।

‘हामीले अनधिकृतरूपमा उत्खनन नगर्नुहोस् भनेर पटक–पटक आग्रह गर्याैं,’ स्थानीय बस्नेतले भने, ‘तर उद्योग सञ्चालक भीम पौडेलले मानेनन्, अबैध उत्खननको विरोधमा सङ्घर्ष गरिरहेका छौँ ।’
केराबारी गाउँपालिका अध्यक्ष रोहित कार्की आफैँ ढुङ्गागिटी कारोबारी हुन् । महादेव क्रसरमा पौडेल, गाउँपालिका अध्यक्ष कार्की र वडा अध्यक्ष मनोजकुमार खड्काको पनि लगानी रहेको स्थानीयको दाबी छ ।

जनप्रतिनिधि आफैँले लगानी गरेको उद्योगले गाउँ नै बगाउने अवस्था आउँदा रोक्नका लागि प्रशासनले चासो नदिएको स्थानीय गोपाल खड्काले बताए ।

‘माथिबाट मनोमानीरूपमा खन्दा बर्खामा आउने बाढीले गाउँ नै बगाएर लैजान्छ,’ स्थानीय गोपाल खड्काले भने, ‘ठेकेदारसँग सबै सरकारी संयन्त्र मिलेका छन्, हाम्रो समस्या कस्ले सुनिदिने ?’ पालिका अध्यक्ष आफैँ ढुङ्गागिटी कारोबारी रहेकाले उत्खननको विषय राख्दा वास्तै नगरेको उनको आरोप छ ।

भीम पौडेल भन्छन्– चोरी गर्न नपाएकाहरू आन्दोलनमा छन्

ढुङ्गागिटी व्यवसायी भीम पौडेल खोलाबाट ढुङ्गागिटी चोरी गर्न नपाएकाहरूको अगुवाइमा आफ्नाविरुद्ध प्रदर्शन भएको बताउँछन् । निजी जग्गा खरिद गरेर आफूले उद्योग सञ्चालन गरेको बताउँदै उनले खोलाबाट ढुङ्गागिटी निकाल्न नपाएकाहरूको अगुवाइमा आफ्नाविरुद्ध आन्दोलन गरेको बताए ।

‘हामीले निजी जग्गामा रहेको ढुङ्गागिटी निकालेर क्रसरको माटो हालेर खेती गर्ने योजना बनाएका थियौं,’ उनले भने, ‘निजी जग्गामा उत्खनन् गर्दा आन्दोलनकारीले अफिसमा तोडफोड गरे ।’
चालू आर्थिक वर्षका लागि गाउँपालिकाले २२ करोडमा ढुुङ्गागिटी ठेक्का लगाएको थियो ।

उपाध्यक्ष भन्छिन् : मनोमानी छ

केराबारी गाउँपालिकाकी उपाध्यक्ष शान्तिकुमारी लिम्बु भुजेल व्यवसायीले ज्यादति गर्दा स्थानीय सडकमा आएको बताउँछिन् । निजी जग्गाको उत्खनन गर्ने नाममा बस्ती नै जोखिममा परेपछि स्थानीयले आन्दोलन गरेको उनले बताइन् । ‘यहाँ व्यवसायीको ज्यादति बल्झिरहन्छ,’ उनले भनिन्, ‘स्थानीय आन्दोलनमा उत्रिएपछि समस्या सामधानका लागि समन्वय गरेका छौँ ।’ व्यवसायीले कानुनको परिधिमा रहेर काम नगर्दा समस्या आएको बताउँदै उनले समस्या सामधान गर्न मङ्गलबर छलफल बोलाइएको बताइन् ।

jackson ribon