birat ribon

संसद् सचिवालयले थाल्यो प्रतिनिधिसभा बैठकको तयारी

Neuro
संसद् सचिवालयले थाल्यो प्रतिनिधिसभा बैठकको तयारी

काठमाडौँ / मन्त्रिपरिषद् बैठकले फागुन २३ गते प्रतिनिधिसभा बैठक आह्वान गरेपछि सङ्घीय संसद् सचिवालयले पनि प्रतिनिधिसभा बैठक सञ्चालनको तयारी तीव्र पारेको छ । सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सचिवालयले प्रतिनिधिसभा बैठक व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए ।

कोरोना महामारीकै बीचमा संसद् बैठक बस्ने भएकाले स्वास्थ्य सर्तकतालाई ध्यान दिएर बैठकको तयारी अगाडि बढाइएको उनले बताए । कर्मचारी व्यवस्थापन तथा प्रशासनिक कामको पनि सँगसँगै तयारी गरिएको उनको भनाइ छ ।

cura insider

‘सचिवालयका धेरै काममध्ये बैठकको व्यवस्थापन पनि एउटा महत्त्वपूर्ण काम हो,’ धमलाले भने, ‘यसलाई सचिवालयले प्राथमिकतामा राखेर काम गरिरहेको छ । थपमा अहिले अहिले पनि कोरोना महामारीको अवस्था कायमै छ । त्यसलाई पनि मध्यनजर गर्नुपर्नेछ ।’

संसद् सचिवालयले विधेयकहरूको अवस्थाका बारेमा पनि अध्ययन गरिरहेको उनको भनाइ छ । समितिको बैठक सञ्चालन गर्ने सन्दर्भमा पनि सचिवालयको तयारी रहेको भन्दै आवश्यक परे समितिहरूको बैठक सञ्चालन गर्न पनि प्रशासनिक तवरबाट तयारी अवस्थामा रहेको सहायक प्रवक्ता धमलाले बताए । बैठकको व्यवस्थापन सहज, सुरक्षित र बिनाझन्झट होस् भनेर तयारी गरिएको उनको भनाइ थियो ।

मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा बैठक फागुन २३ गते बोलाउनको निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ । हालसम्म राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा बैठक आह्वान गरिसकेको अवस्था छैन ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीबाट प्रतिनिधिसभा विघटन गरिएको थियो । यद्यपि सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा विघटनलाई बदर गरेर त्यसको १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउने फैसला गरेको थियो ।

jackson ribon