birat ribon

‘कम्फर्टेबल सत्ता’का यी एक्का ट्रायल !

Neuro
‘कम्फर्टेबल सत्ता’का यी एक्का ट्रायल !
पेशल आचार्य

फागुन १४ गतेको ‘प्राइम टाइम’ टेलिभिजनमा दिइएको एक अन्तर्वार्तामा नेकपा दाहाल–नेपाल गुटका अध्यक्ष पुष्पकमल दाहाल उर्फ प्रचण्डले ‘काङ्ग्रेस, जसपा र हाम्रो समीकरणको सरकारले भारतलाई कम्फर्टेबल फिल गराउँछ’ भन्ने भनाइ यतिखेर सामाजिक सञ्जालमा उधुमै भाइरल भएको अवस्था छ ।

cura insider

पुर्खाहरूले उहिल्यै हाल्ने गरेको सिलोक ‘धानको चिह्न परालबाट बुझियो, हुन्छन् ती ठूला केले ?’ भनेझैँ प्रचण्ड–माधवहरूका मनपेटमा आखिर के रहेछ भन्ने कुरा यतिखेर सपाटसँग बुझिन्छ ।
प्राप्त आशयलाई बझुेर कुरो नचपाई भन्दा सत्ताका यी ‘तीन बादशाहहरू’ प्रचण्ड–देउवा र बाबुराम यतिखेर ‘राजनीतिक जूवा’ का ‘एक्का ट्रायल’ बनाइएको परिस्थिति देखिन्छ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सुरतका एक्का हुन् भने प्रचण्ड, देउवा र बाबुराम क्रमशः पान, चिडी र इँटका एक्का मानिने अवस्था जो खडा भएको छ । राजनीतिमा जुनसुकै बेला भूमिका परिवर्तन हुन सक्दो रहेछ भन्ने कुरा अहिले भइरहेको सत्ताको तलरतालाई हेर्दा अवगत हुन्छ ।

को, कहाँ, कतिखेर र कस्का लागि काम लाग्छन् त्यो कहिल्यै यसै हो भनेर भन्न सकिन्न । त्यसैले बुज्रुकहरूले राजनीतिलाई सम्भावनाको खेल भनेका हुन् । यतिखेर संसदमा सबैभन्दा कान्छो र माहिलो पार्टी (भन्दा माहिलो तर गन्दा साइँलो) क्रमशः जनता समाजवादी र नेपाली काङ्ग्रेसको अचाक्ली नै भाउ बढेर गएको छ ।

निर्वाचन आयोगले कुन नेकपा सक्कली र कुन नेकपा नक्कली भनी कानुनीरूपमा नछुट्याउन्जेलसम्म काङ्ग्रेसले प्रचण्ड–नेपाललाई ‘पहिले तपाईंहरू आफ्नो आधिकारिकता मिलाउनुस् अनि हामी निर्णय गर्छौं’ भनेर परिपक्व ढङ्गले भनिदिएको छ । यसपटक नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो पार्टीको पदाधिकारी बैठक बोलाएरै आधिकारिकरूपमा यस्तो ‘म्याचोर्ड’ निर्णय गर्न काबिल भएका छन् ।

देखिएझैँ गरी काङ्ग्रेस सभापति देउवा ‘कम्फर्ट फिल’ भने गरिरहेका छैनन् । वाणीमा प्रकट नगरे पनि उनमा एक प्रकारको बेचैनी देखिन्छ । धेरै कुराहरू उनले राजनीतिक सतहमा नल्याए पनि उनको मुखमुद्राले सपाटसँग भनिरहेको छ– उनी धेरै दबाबमा छन् । उनलाई भित्री तबरमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले उनको सत्ता निरन्तरताका लागि ‘वचन मागेका’ हुन सक्छन् ।

एमसिसीका पक्षमा देउवा र ओलीको बोली संसदमा धेरै अघि पनि नमिलेको होइन तर पुस ५ गतेपछि अनायास ओलीका लागि सत्ताको घडीको सुई एकाएक उल्टो घुमेपछि ओलीका भागमा दिनदिनै केही न केही ‘राजनीतिक फन्डा’ बोलिरहने काम आयो भने उता देउवाले लोकलाई अदालतमा मुद्दा परेको देखाएर आफैँमा ‘मौन व्रत’ साँधे ।

राजनीतिमा ‘देखावा कुछ और, करावा कुछ और’ भइरहने भएकाले यस मानेमा दुवैले दुवैलाई भित्रीरूपमा सहयोग गर्दै सँगै मिलेर जाने भन्ने मौखिक सहमति पनि गरेका हुन सक्छन् । ‘आफूलाई ६÷६ पटक प्रधानमन्त्री बन्ने भनेर ज्योतिषीले भविष्यवाणी गरेको’ देउवाको भनाइलाई ओलीको नेतृत्वमा झण्डै दुई तिहाइ नजिकको बहुमतको सरकार गठन हुँदा धेरै मानिसहरूले देउवाले अन्टसन्ट बोलेको आरोपसमेत लगाएका थिए ।

तर प्रकारान्तरमा समयले अहिले काङ्ग्रेस सभापति देउवालाई चिडीका एक्काका रूपमा उभ्याएको छ । उनलाई नबोलेरै ओलीको एकातिर गहिरो समर्थन छ भनिन्छ भने अर्कोतिर प्रचण्डले पनि बोलेरै सत्तामा सहभागी गराउने प्रस्ताव नै गरिसके । फोटोमा प्रचण्डले माधव नेपाललाई र माधव नेपालले प्रचण्डलाई किनुवा लड्डु खुवाएको देखाइए पनि वास्तविक ‘सत्ताको लड्डु’ भने अब देउवाका मुखमा पर्न जाने पक्का छ ।

शिशिर याममा रूखले पृथ्वीमा जरा मात्र अड्याएर बाँचेझैँ राजनीतिमा पनि अस्तित्व बचाएर राख्न मात्रै सक्नु पर्दो रहेछ घुमिफिरी जुवाको खाल आफैँ आउँदो रहेछ । यतिखेर मौका पर्दा देउवालाई सत्ताको चौका दाउ हान्ने अवसर प्राप्त भएको छ । त्यो हान्न सक्नु वा नसक्नु उनको ह्याउको कुरा हो । सत्तामा जानका लागि पार्टीले आधिकारिक निर्णय गर्ला या नगर्ला त्यो आफ्नो ठाउँमा छ तर दरार परेको नेकपाको चिरो क्रमशः बढ्दै गएको अवस्थामा ‘इलेभेन्थ हावर’मा पनि ती दुई एकै भएर सत्तामा टिकिरहन सकेनन् भने सत्ताको चाबी बन्ने चान्स काङ्ग्रेसकै हो ।

यति भनिरहँदा काङ्ग्रेस स्वयम् ‘कम्फर्ट जोन’मा भने रहेको छैन । उसलाई नेपाली जनताले पाँच वर्षका लागि प्रतिपक्षमा बस्ने म्यान्डेट दिएका हुन् । अब त्यो म्यान्डेट वर्तमान सरकारका कारण तोडिएपछि लोकतन्त्रको रक्षा र जनचाहनालाई मध्यनजर गर्दै भनेर काङ्ग्रेस दुवैमध्ये कुनै एक नेकपाको वा आफ्नो नेतृत्वमा दुवै नेकपामध्ये कुनै एक नेकपालाई साथ लिएर सत्तारोहणमा गयो भने अन्यथा नमाने हुन्छ ।

सम्मानित सर्वोच्च अदालतको फैसला अघिसम्म सुरतका एक्का भनिएका वर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीले बाँकी रहेका पानको एक्का (प्रचण्ड), चिडीको एक्का (देउवा) र इँटाको एक्का (बाबुराम)मध्ये कुनै दुईलाई लिएर आफ्नो हितमा एक्का ट्रायल बनाउने सम्भावना झिनो रहेको तर पहिलो प्राथमिकतामा चिडीको एक्का (देउवा) लाई साथ लिएर ‘एक्का जुटको सरकार’ उर्फ ‘ओली–देउवा सरकार’ नबन्ला भन्ने पनि छैन ।

सम्मानित सर्वोच्च अदालतको फैसला अघिसम्म सुरतका एक्का भनिएका वर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीले बाँकी रहेका पानको एक्का (प्रचण्ड), चिडीको एक्का (देउवा) र इँटाको एक्का (बाबुराम)मध्ये कुनै दुईलाई लिएर आफ्नो हितमा एक्का ट्रायल बनाउने सम्भावना झिनो रहेको तर पहिलो प्राथमिकतामा चिडीको एक्का (देउवा) लाई साथ लिएर ‘एक्का जुटको सरकार’ उर्फ ‘ओली–देउवा सरकार’ नबन्ला भन्ने पनि छैन । अहिले ओलीले नैतिकताका आधारमा राजीनामा दिइसक्नुपर्ने आवाज चौतर्फीरूपमा उठ्दा समेत उनी टस्को मस् नगरी बस्नुले सोही कुराको द्योतन गरेको छ ।

यदि यसो हुन सकेन भने मात्र संसदमा पेस हुने अविश्वास प्रस्ताव फेस गर्दा उनले हारेका स्थितिमा दाहाल–देउवा र बाबुरामको मिलिजुली सरकार बन्न सक्छ । सो अवस्था निर्माण हुन नदिने तिकडम् कथम्कदाचित् भइहालेमा देउवा–दाहाल र बाबुरामको मिलिभगत सरकारसमेत हुने स्थिति देखिन्छ । यसरी बन्दा सुरतको एक्का प्रतिपक्षमा रहेर चिडी, पान र इँटको एक्का ट्रायल हुन सक्ने प्रबल सम्भावना रहेको कुरा राजनीतिक विश्लेषकहरूले गर्न थालेका छन् ।

जे–जसरी सत्ता साँठगाँठ भए पनि सो सत्ताको अन्तर्यमा एमसिसी रहेको देखिन्छ । भविष्यका राष्ट्रपति भनेर चित्रित गरिएका नेकपा दाहाल–नेपाल गुटका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले ‘आफू राष्ट्रपति भएमा संसदबाट मिलाएर एमसिसी पारित गराउने’ अभिव्यक्ति सञ्चार माध्यममै दिइसके । अदालतमा संसद् विघटनविरुद्ध मुद्दा चलिरहँदा सडकमा प्रतिगमनविरुद्ध आन्दोलनमा सिंहनाद गर्दै उभिएकी नेकपा दाहाल–नेपाल गुटकी अर्की नेतृ रामकुमारी झाँक्रीले ‘अब बन्ने आफूहरूको सरकारले एमसिसी पारित गराएरै छाड्ने’ आशयको भनाइ राखिसकेकी छन् ।

यी सबै तानाबाना र चियोचर्चाहरूलाई हेर्दा आमनागरिकले समेत सहजै के लख काट्न सक्छन् भने अहिलेको आन्दोलनमा दृश्य–अदृश्य भारतीयहरूले आन्दोलनकारी शक्तिलाई ‘धाप’ मारेका छन् । धेरै कसरत र तिकडमपछि मात्र भारतीय खुफिया एजेन्सीमार्फत् नेपालको सत्ता समीकरणलाई बिगार्न भारतीयहरू सफल बनिसकेका छन् । अब यो कुरा बच्चा–बच्चाले बुझिसके ।

उनीहरूले यो वा त्यो बहानामा ‘देख्यौ त हामीले नचाहने हो भने हामी जत्रोसुकै दह्रो र बहुमतको सरकारलाई हामीले चाहेकै बेलामा चाहे जसरी नै सत्ताबाट झारिदिन सक्छौँ’ भनेर खासगरी चिनियाँहरू र अझ विदेशीलाई देखाउन चाहन्थे जसमा उनीहरू सफल भइछाडे । समयको पद्चाप पछ्याउँदै दुवै छिमेकी देशका राजदूतहरू यतिखेर काङ्ग्रेस सभापति देउवासँग पालैपालो भेटवार्ता गरिरहेका छन् । यसबाटै देउवा सत्ताका ‘किङ मेकर’ बनिसकेका छन् भन्ने लख काट्न सकिन्छ ।

चौतफीरूपमा कुनै न कुनै घटनाबाट आलोचनाका पात्र बनेका यी चारैजना राजनीतिज्ञ (ओली, दाहाल, देउवा र भट्टराई)उर्फ चारवटै सत्ताका एक्काहरू नेपाली राजनीतिमा ‘अलमस्ट टेस्टेड प्राइमिनिस्टर’हरू हुन् । अहिलेको राजनीतिलाई घिसिपिटीरूपमा यिनै ६ जना प्रधानमन्त्रीहरूका बीचको ‘जुँगाको लडाइँ’ मानिएको छ । यिनीहरूमा कुनै एउटा पनि अग्रगामी छलाङ् मार्न सक्ने ह्याउ, बर्कत र हुति भएका नेता होइनन् । अझ एमसिसी मानेमा त सबैको मत मिलेको मात्र नभएर कसको पालामा पास गर्ने र ‘सत्ताका अकण्टक भोग गर्न दिने मालिक खुसी बनाउने’ भन्ने एकसूत्रीय होडबाजीसमेत हो ।

नाम उल्लेख नगर्ने सर्तमा एकजना पाका राजनीतिज्ञ मधुरो स्वरमा भन्छन्– ‘यी सबैले एउटै राजनीतिक ब्रान्ड बोकेका छन् । यिनका पसलहरूका नाम मात्र फरक छन् । यिनमा पाइने माल र यी बेपारीका रूपमा उभिएका यिनका मुखियाहरू एकै हुन् । दुःखका साथ भन्नुपर्छ– त्यसैले नेपाल आजका दिनसम्म ‘डेड लक’ भइरहेको छ । विदेशी चलखेलले न अघि जान दिन्छ न पछि सर्न ।’ यो भनाइमा गहिरो पीडा लुकेको छ ।

यस्तै–यस्तै पीडालाई समन गर्नका लागि अब देशले ‘अन टेस्टेड’ राजनीतिज्ञको खोजी गर्नै पर्छ ताकि जो सप्ठ्यारो बेलामा मात्र ‘एक्का’ बन्न नखोजोस् अप्ठ्यारो समयमा पनि ‘एक्का’ बनेर ‘मिसी बास्साका साथ मिली क्वापी’ र ‘दुकी तिर्कीका साथ मिली ल्याङ्डी’ बन्न सक्नुपर्छ । यो बेला समग्र नागरिकहरूको आम चाहना यस्तै छ ।

jackson ribon