विराटनगर / जर्मन बुन्डेसलिगामा साविक विजेता बायर्न म्युनिखले एफसी कोल्नमाथि शानदार जित दर्ता गराएको छ । शनिबार राति आफ्नै मैदानमा बायर्नले कोल्नलाई ५–१ गोलान्तरले हराएको हो ।
बायर्नको जितमा रोबर्ट लेवान्डोस्की र सर्जी ग्नाब्रीले दुई–दुई गोल गरे भने इरिक क्याक्सिम चाौपो–मोटिङले एक गोल गरे । कोल्नका इलेक शकिरीले एक गोल गरे ।
खेलको १८औँ मिनेटमा मोटिङले गोल गर्दै बार्यालाई सुरुआती अग्रता दिलाएका थिए । ३३औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए । खेलको ४९औँ मिनेटमा शकिरीले गोल गर्दै कोल्नलाई खेलमा फर्काउने प्रयास गरे ।
तर, खेलको ६५औँ मिनेटमा लेवान्डोस्कीले दोस्रो गोल गर्दै बायर्नलाई ३–१ गोलको अग्रता दिलाए । खेलको ८२औँ मिनेटमा र ८६औँ मिनेटमा ग्नाब्रीले गोल गर्दै बायर्नलाई ५–१ गोलान्तरको जित दिलाए ।
जितसँगै शीर्ष स्थानको बायर्नले २३ खेलमा ५० अङ्क जोडेको छ । कोल्न भने २१ अङ्कका साथ १४औँ स्थानमा छ ।