काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मदन भण्डारी फाउन्डेसनको गुटको नेता बताएका छन् । नेपालले ओलीलाई पूर्वएमालेको कुनै माया नभएको र उनले अहिले मदन भण्डारी फाउन्डेसनको गुट चलाएको आरोपसमेत लगाए । ‘केपी ओलीलाई एमालेको कुनै माया छैन । केपी ओली भनेको मदन भण्डारी फाउन्डेसन गुटको नेता हुन् ।’
नेता नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको टिप्पणी गरे ।
शनिबार काठमाडौँमा आयोजित नेकपा प्रचण्ड–माधव समूह निकट शिक्षकहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वामदेव गौतमले अहिले पनि केपी ओलीलाई सुधार्ने कोसिस गरिरहेको बताए ।
कुनैबेला स्थायी कमिटी बैठकमा ४० मिनेट बोलेर सबैभन्दा पहिला केपी ओलीको राजीनामा मागेका गौतमले अहिले फेरि ओलीलाई सुधार्न कोसिस गर्नु बालुवा पेलेर तेल निकाल्न खोज्नुजस्तै भएको उनको भनाइ थियो । ‘प्रधानमन्त्री हटाउने पहिलो प्रस्ताव राख्ने व्यक्ति वामदेव गौतमजी हो । केपी ओली खराब मान्छे हुन भनेर स्थायी कमिटीको बैठकमा भाषण गर्नुभएको छ वामदेवले ।
ओली जस्तो रद्दी मान्छे धर्तीमा कोही छैन भनेर ४० मिनेट भाषण गर्नुभयो । तर, दोष उहाँ (प्रचण्ड) लाई दोश गयो, जुन साँचो होइन,’ नेता नेपालले भने, ‘अहिले फेरि उहाँ वामदेव नै केपीलाई सुधार्न कोसिस गर्दै हुनुहुन्छ !’
नेपालले अब केपी ओलीसँग एकताको कुनै सम्भावना नभएको पनि स्पष्ट पारे । बरु ओली प्रवृत्तिका विरुद्ध आन्दोलनमा सहभागी भएकाहरूबीच सहकार्य गरेर अगाडि बढ्ने उनले बताए । उनले भने, ‘केपी ओलीसँग अब एकताको कुनै सम्भावना छैन । केपी ओलीका मानिसहरूले आँखामा बाम लगाएर निकालेको आँसुको कुनै अर्थ छैन । बरु हामी आन्दोलनमा सहभागी भएकाहरूलाई साथमा लिएर जाऔँ, संयुक्त सरकार बनाऔँ भनिरहेका छौँ ।’
प्रतिनिधिसभा पुनस्र्थापना भए पनि पुरै लडाइँ जित्न अझै बाँकी रहेको पनि अध्यक्ष नेपालले बताए ।
बालुवाटारमा बैठक हुँदा उपस्थित नहुने ओली अहिले फुर्तिका साथ देशभर दौडिरहेको समेत उनले बताए । यसबाट पार्टीप्रति ओलीको इमानदारिता थिएन भन्ने स्पष्ट भएको पनि अध्यक्ष नेपालको भनाइ थियो ।