विराटनगर / जुम्लाको सदरमुकाम खलंगादेखि पूर्वी भागमा पर्ने पातारासी गाउँपालिकाको छुमचौरमा हाइअल्टिच्युट प्रशिक्षण खेल मैदान निर्माणमा ढिलासुस्ती भइरहेको छ ।
चालू आर्थिक वर्षको दोस्रो चौमासिक बित्दा पनि विनियोजित बजेट निकासा हुन नसक्दा हाइअल्टिच्युट निर्माण अगाडि नबढेको हो ।
प्रशिक्षण मैदानको निर्माणमा संघ, प्रदेश र स्थानीय तहका कुनै पनि सरकारी निकायले चासो देखाएका छैनन् । तीनवटै तहका निकायले हाइअल्टिच्युट प्रशिक्षण मैदानलाई प्राथमिकतामा नराखेपछि तोकिएको समयमै निर्माण सम्पन्न हुने अनिश्चितता बढेको छ ।
हाइअल्टिच्युट मैदानको डिपिआर भने ३२ करोड तीन लाख बजेटमा निर्माण भइसकेको छ । त्यसपछि ५५ लाख खर्चमा मैदान सम्याउने कामबाहेक अरू संरचना निर्माणमा बजेट जुटेको छैन । चालू आर्थिक वर्षमा कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालको सामाजिक विकास कार्यालय जुम्लाअन्तर्गत ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । विनियोजित बजेट चालू आर्थिक वर्षको दोस्रो चौमासिक बित्दा पनि निकासा हुन नसक्दा हाइअल्टिच्युट निर्माणको अगाडि नबढेको हो ।
गत वर्षको आर्थिक बजेटमा मन्त्रालयले ७५ लाख रुपैयाँ बजेट विनियोजन गर्यो । विनियोजित बजेटमध्ये २१ लाख खर्च भएको छ भने ५४ लाख रुपैयाँ फ्रिज भएको जिल्ला खेलकुद विकास समिति जुम्लाका कार्यालय प्रमुख बरमबहादुर महतले बताएका छन् ।
दुई हजार आठ सय मिटर उचाइमा रहेको छुमचौरस्थित मालिका मावि लोडचौरमा बनिरहेको मैदान निर्माणका लागि डिपिआर तयार भएको जिविस जुम्लाका कार्यालय प्रमुख महतले जानकारी दिए । ‘नेपालकै गौरवको आयोजना हाइअल्टिच्युट खेल मैदान निर्माणका लागि डिपिआर तयार हुँदा पनि स्थानीय तहले निर्माणका लागि कुनै चासो देखाएको छैन,’ महतले गुनासो गर्दै भने, ‘यही डिपिआरको सम्बन्धमा प्रदेशदेखि केन्द्र सरकारसँग छलफल भएको छ तर निर्माणका लागि बजेट माग गर्दा कहीँबाट पनि सुनुवाइ भएन ।’
सम्झौताअनुसार हाइअल्टिच्युट मैदानमा भलिबल, फुटबल, कराते, बक्सिङ, तेक्वान्दो, बास्केट बल, एथलेटिक्सलगायत दुई दर्जन बढीका खेल मैदान निर्माण गरिने उल्लेख छ । त्यसैगरी स्विमिङ पुल, लैंगिकमैत्री छात्रावास, सुरक्षागार्ड, पाहुनाघर, टिकट काउन्टरसमेत निर्माण गरिने भनिएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ