birat ribon

माइग्रेन के हो ? दुखाइ कम गर्ने औषधि माइग्रेनको उपचार होइन

Neuro
माइग्रेन के हो ? दुखाइ कम गर्ने औषधि माइग्रेनको उपचार होइन

डाक्टर विवेक रौनियार, कन्सल्ट्यान्ट न्यूरोलोजिष्ट
विराटनगर / नसा तथा स्नायुसम्बन्धी समस्या हेर्ने स्पेडियामिटीलाई न्यूरोलोजी भनिन्छ । नसा तथा स्नायुसम्बन्धी, विशेषगरी माइग्रेन, पक्षघात, छारे रोग (इपिलेप्सी), अल्जाइमर, पार्किन्सन, ट्रेमर्र, निद्रासम्बन्धी समस्या (स्लिप डिसअर्डर), खुट्टा काप्ने, खुट्टा कमजोर हुने वा झमझमाउनेलगायतका सामान्य हुन् । नसा तथा स्नायुसम्बन्धी अन्य धेरै समस्याहरू छन् । यी सबै समस्या हेर्ने विधालाई न्यूरोलोजी भनिन्छ ।

cura insider

न्यूरोलोजीमा हुने अन्य समस्या सबैभन्दा सामान्य वा अधिकांशमा धेरै देखिने समस्या माइग्रेन हो । माइग्रेन एक किसिमको दीर्घकालीन टाउको दुख्ने समस्या हो । सामान्यतया माइग्रेनले टाउकोको आधा भाग दुख्छ । कसैको दाहिने त कसैको देब्रे भाग दुख्ने गर्छ । कतिलाई टाउकोको दुवैपट्टि वा पूरै टाउको पनि दुख्ने हुनसक्छ ।

माइग्रेनको कारणले दुख्ने टाउको एकदम पीडादायी हुन्छ । जुन चार घण्टा वा सोभन्दा बढी समयसम्म रहनसक्छ । माइग्रेनको समस्या दुईदेखि तीन दिनसम्म पनि रहन सक्छ । टाउको दुखाइ समय अन्तरालमा हुने, टाउको दुख्दा टाउको झट्झट् भएको हुने, वाकवाकी लाग्ने, वान्ता हुने, आँखा धमिलो देख्ने, प्रकाश हेर्न मन नलाग्ने (फोटो इरिटेसन), बोल्न मन नलाग्ने, बोली सुन्दा पनि झर्को मान्ने (साउन्ड इरिटेसन) सम्म हुन्छ । यो समस्याहरू एपिसोडिक (समय अन्तरालमा पटक–पटक हुने) हुन्छ ।

बारामबार समय अन्तरालमा हुने टाउको दुखाइलाई माइग्रेन भनिन्छ । माइग्रेनको टाउको दुखाइ नियमित रूपमा हुँदैन । केही दिन बिराएर टाउको दुख्ने हुन्छ । जसकारण यसलाई इपिसोडिक हेड्याक वा माइग्रेनको एपिसोडिक अट्याक भनिन्छ । हरेक मानिसमा हुने माइग्रेन फरक–फरक हुने गर्छ ।

कसैलाई हप्तामा एकदुई पटक, कसैलाई महिनापिच्छे वा दुई तीन महिनामा एकटपक वा कसैलाई वर्षको अन्तरमा माइग्रेन हुनसक्छ । यो हरेक मानिसमा फरक हुने हुन्छ । कसैलाई एक दिन बिराएर वा महिनामा १५ दिनभन्दा टाउको दुख्ने पनि हुनसक्छ । यसलाई क्रोनिक माइग्रेन भनिन्छ । साथै टाउको दुखाइको गम्भीरता पनि हरेक मानिसमा फरक हुन्छ ।

कसैमा माइग्रेनका कारण असाह्य दुखाई हुन्छ जसकारण उनीहरूले तत्काल दुखाइ कम गर्नका लागि अस्पताल जानुपर्ने समेत हुनसक्छ । कतिमा चाहिँ हल्का खाले टाउको दुखाइ हुन्छ, जसलाई घरमा चिया कफी खाएर, दुखाइ कम गर्ने औषधिको सेवन गरेर वा चारदेखि ६ घण्टा आराम गरेर सामान्य उपचार गरेर निको गर्न सकिन्छ ।

यस्तो समस्या लगातार रूपमा देखिरहेकमा एकपटक न्यूरोलोजिष्ट वा फिजिसियनलाई देखाउन आवश्यक हुन्छ । माइग्रेन धेरै कारणले गर्दा हुने गर्छ । कुनै एक कारणले गर्दा माइग्रेन हुन्छ भनेर भन्न मिल्दैन । माइग्रेन एक न्यूरो भास्कुलर अवस्था हो ।

माइग्रेनको समस्या भएको दुईतिहाइ जनसङ्ख्यामा वंशाणुगत कारणले गर्दा माइग्रेन भएको हुन्छ । पारिवारमा माइग्रेनको इतिहास भएकालाई माइग्रेन हुने सम्भावना अधिक हुन्छ । मष्तिष्कभित्र हुने स्नायु नसा र रगत सञ्चार गर्ने धमनीमा हुने कार्यमा गडबडी हुँदा या यिनीहरूले राम्रोसँग कार्य गर्न नसक्दा पनि माइग्रेन हुन्छ ।

वंशाणुगत कारणबाहेक अरू कुन कारणले माइग्रेन हुन्छ भनेर पत्ता लागिसकेको छैन । तर, विभिन्न कारणले माइग्रेनको टाउको दुखाइलाई बढावा दिने वा माइग्रेनलाई ट्रिगर गर्ने काम गर्छ । माइग्रेन हुने जोखिम भएको मानिसलाई वातावरणको कारण, तनाव बढेको कारण, निद्रा नपुगेको कारण, अत्याधिक कामको चापका कारण, अस्वस्थकर जीवनशैलीका कारण माइग्रेन ट्रिगर हुने गर्छ ।

विशेषगरी १० देखि १९ वर्षको टिनऐज उमेर समूह र ३० देखि ४० वर्षको उमेर समूहमा माइग्रेन देखिने सम्भावना धेरै हुने पाइएको छ । तर, माइग्रनको टाउको दुखाइ जुनसुकै उमेरमा देखापर्न सक्छ । माइग्रेनको समस्या पुरुषको तुलनामा महिलालाई बढी हुन्छ । विभिन्न शोध–अनुसन्धानअनुसार करिब एकसय मानिसलाई माइग्रेन हुँदा त्यसमध्येको दुईतिहाइ महिलामा यो रोग देखापर्ने हुन्छ ।

दुखाइ कम गर्ने औषधि माइग्रेनको उचपार होइन

माइग्रेनको गम्भीर एपिसोडिक अट्याक भएको बेला, दुखाइ सहन नसक्दा दुखाइ कम गर्ने औषधिले दुखाइलाई मात्र कम गर्ने हो । दुखाइ कम गर्ने औषधि माइग्रेनको सही उपचार होइन । यो दुखाइलाई नियन्त्रण गर्ने सानो पाटो मात्र हो । माइग्रेनको गम्भीरताको आधारमा यसको उपचार गर्नुपर्ने हुन्छ । यसले दिनचर्यामा कत्तिको वाधा पुर्‍याइरहेको छ, काममा पढाइमा कत्तिको असर गरिरहेको छ, माइग्रेनको फ्रिक्वेन्सी कत्ति छ (महिनामा कति पटकसम्म दुख्ने वा दुखाइ कति समयसम्म रहन्छ), व्यक्तिगत, व्यवसायिक र सामाजिक जीवनलाई पु¥याएको असरको आधारमा यसको औषधि र उपचार गर्नुपर्ने हुन्छ ।

माइग्रेनको उपचारमा दिइने औषधि पेन किलर होइनन् । यी औषधिले स्नायु नसा र रगत सञ्चार गर्ने धमनीले गर्ने कार्यमा हुने गडबडीलाई हटाउनका लागि काम गर्ने हुन्छ । माइग्रेनको औषधि ६ महिनादेखि एक वर्षको लागि खानुपर्ने हुनसक्छ ।

औषधिबाहेकको अन्य उपचार

औषधिको प्रयोगले मात्रै माइग्रेन निको हुँदैन । औषधिबाहेक जीवनशैलीमा परिवर्तन, ८ घण्टा पर्याप्त निन्द्रा, समयमा सुत्ने, समय समयमा खाने, खानामा सन्तुलित आहार, सागसब्जी, फलफूललगायत स्वस्थ खानाको मात्रा समावेश गर्नाले, पर्याप्त पानी पिउने, व्यायाममा ध्यान दिने, शारीरिक रूपमा सक्रिय रहनाले माइग्रेनको समस्याबाट केही हदसम्म राहत पाउन सकिन्छ ।

त्यस्तै, माइग्रेन हुनसक्ने कारण (ट्रिगर्स) बाट सकेसम्म टाढा रहनुपर्छ । चर्को घाम, भिडभाड, अत्याधिक तनाव तथा खानपानका कारण पनि माइग्रेनलाई ट्रिगर हुने हुँदा चर्को घाम, भिडभाडमा नजाने, तनाव नलिने गर्नुहुँदैन । कसैलाई चियाकफी, जङ्कफूड, चिज, गुन्द्रुक, क्यान फूड, अमिलो वा पुरानो अचारलगायतले पनि माइग्रेनलाई ट्रिगर गर्छ । जसलाई जुन–जुन खानाले माइग्रेन ट्रिगर गर्छ उक्त व्यक्तिले ती खाना खानु हुँदैन । यी सबै कुरामा ध्यान दिएको खण्डमा माइग्रेनको एपिसोडिक अट्याकलाई नियन्त्रण गर्न सकिन्छ ।

माइग्रेनसम्बन्धी केही सामान्य भ्रम

समाजमा माइग्रेनसम्बन्धी भ्रमहरू धेरै छन् । माइग्रेन भएपछि ठीक हुँदैन भन्ने सबैभन्दा धेरै सुनिएको भ्रम हो । यो गलत हो । माइग्रेन निको नहुने भएपनि यो उपचारयोग्य हुन्छ । माइग्रेन स्नायु नसा र रक्त धमनीमा आएको आन्तरिक समस्याका कारण हुने भएकोले यो पूर्ण रूपमा निको हुनसक्दैन । तर, एक व्यक्तिको माइग्रेनको फ्रिक्वेन्सी, गम्भीरता र यसले पुर्‍याएको प्रभावको आधारमा माइग्रेनको उपचार वा यसलाई नियन्त्रण गर्न सकिन्छ ।

कसैमा माइग्रेन ५० वर्षको उमेरपछि सदाको लागि हराएर जाने हुनसक्छ । व्यक्तिगत, व्यवसायिक र सामाजिक जीवनमा माइग्रेनले असर पुर्‍याएको छ भने यसको उपचार गर्न जरुरी हुन्छ अन्यथा यसले कामको दक्षता घट्ने, पढाइलगायत अन्य धेरै कुरामा नकारात्मक असर गर्न सक्छ । त्यस्तै, माइग्रेन भएको हो भन्ने कुरा थाहा नभए पनि टाउको दुख्ने समस्या धेरैलाई हुन्छ । तर, प्रकारको टाउको दुखाइ सबै माइग्रेन हो भन्न सकिँदैन । टाउको दुख्ने विभिन्न कारण हुनसक्छन् । यसको लागि एक व्यक्तिले जाँच गराउनुपर्ने हुन्छ ।

त्यसैले, अत्याधिक टाउको दुखाइ, वाकवाकी लाग्ने, वान्ता हुने, प्रकाश हेर्न मन नलाग्ने, बोली सुन्दा पनि झर्को मान्ने समस्याहरू एपिसोडिक रूपमा देखिन थालेमा एक न्यूरिफिजिसियन, फिजिसियन वा नजिकैको स्वस्थ्य चौकीमा गएर जाँच गराउनुपर्ने हुन्छ । यसलाई नियन्त्रण गर्न सकिने हुँदा यसको कारणले आफ्नो व्यक्तिगत, व्यवसायिक र सामाजिक जीवनमा प्रभाव पारिराख्नु पर्ने हुँदैन ।

(विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा कार्यरत रौनियारसँग अङ्किता ताम्राकारले गरेको कुराकानीमा आधारित)

jackson ribon