भारत त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लवकुमार देवले उनी समर्थित भारतीय जनता पार्टी (भाजपा) भारतमा मात्र होइन, नेपाल र श्रीलङ्कामा समेत प्रभाव विस्तार गर्ने अभियानमा रहेको बताएपछि त्यसबाट नेपाली राजनीतिक–वृत्त तरङ्गित भएको छ । लगातार २५ वर्षदेखि जारी कम्युनिस्ट शासनको अन्त्य गर्दै त्रिपुराको सत्तामा भाजपाको झन्डा गाड्न सकेको उन्मादमा रहेका देव योसहित विभिन्न विवादास्पद अभिव्यक्तिका लागि नामुद रहँदै आएका छन् ।
देवले आइतबार अगरलतामा आयोजित पार्टीको बैठकमा दिएको भनिएको अभिव्यक्ति भाजपाको नेपाल हेर्ने दृष्टिकोणसम्बन्धी विवादास्पद शृङ्खलाका रूपमा अगाडि आएको छ । उनले भाजपाको अध्यक्ष रहेका बेला अमित शाहले नेपालमा समेत भाजपा पार्टी विस्तार गर्ने योजना सुनाएको बताएका थिए । भारतका वर्तमान गृहमन्त्री अमित साह प्रधानमन्त्री नरेन्द्र मोदीपछिका शक्तिशाली व्यक्ति मानिन्छन् । उनी भाजपाको सङ्गठन विस्तारको मुख्य जिम्मेवारीमा छन् ।
जसरी कम्युनिज्मले राज्य सञ्चालन पद्दतिका रूपमा आफूलाई संसारमा विस्तारित गर्न खोज्छ, उसैगरी हिन्दुज्मले पनि सम्भावित देशहरूमा आफ्नो पौराणिक साख फर्काउन प्रयास गर्छ भन्ने दृष्टिकोण कुनै उदेकलाग्दो र असम्भव देखिँदैन ।
भारतीय सञ्चारमाध्यममा आएको उक्त समाचारपछि नेपालमा आफूलाई ‘सच्चा कम्युनिस्ट’ भन्नेहरू चिढिएका छन् भने सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा ठुलै हल्लखल्ल मच्चिएको छ । कतिपयले यसलाई भारतीय संस्थापन पक्षले नेपालको राजनीति र सार्वभौमसत्तामाथि प्रहार गरेको अर्थमा पनि लिएका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले औपचारिक रूपमै आपत्ति प्रकट गरेका छन् । उनले ट्विटरमा आफ्नो भनाइ राख्दै देवको अभिव्यक्तिप्रति औपचारिक रूपमै भारतीय पक्षलाई असहमति सन्देश पठाएको बताएका छन् । तर राजनीतिक विश्लेषकहरू यसलाई स्वाभाविक राजनीतिक प्रतिक्रियाका रूपमा लिनुपर्ने बताउँछन् । यो विषयमा अहिलेसम्म देखापरेका अधिकतर प्रतिक्रिया र टिप्पणी चियाको कपमा आँधी आएसरह देखिएको उनीहरूको तर्क छ ।
आफ्नो मार्ग–दर्शक सिद्धान्त क्षेत्रीय वा विश्वव्यापी रूपमा विस्तार गर्ने प्रयास तथा लगानी संसारको जुनसुकै पार्टी वा समूहले गर्छ । यस अर्थमा भाजपा क्षेत्रीय रूपमा विस्तारित हुन लाग्यो भनेर होहल्ला गर्नु वा तर्सिनुको कुनै विशिष्ट अर्थ छैन । जसरी नेपाल कम्युनिस्ट पार्टी, भारतीय कम्युनिस्ट पाटी, चिनियाँ कम्युनिस्ट पार्टी हुन्छन्, मूलभूत रूपमा सहकार्य, अनुभव आदानप्रदान पनि गर्छन् उसैगरी भारतीय जनता पार्टी, नेपाली जनता पार्टी, श्रीलङ्कन जनता पार्टी गठन हुनु र आपसी सहकार्य हुनु अनौठो होइन । जसरी कम्युनिज्मले राज्य सञ्चालन पद्दतिका रूपमा आफूलाई संसारमा विस्तारित गर्न खोज्छ, उसैगरी हिन्दुज्मले पनि सम्भावित देशहरूमा आफ्नो पौराणिक साख फर्काउन प्रयास गर्छ भन्ने दृष्टिकोणबाट हेर्दा देव वा साहको भनाइ कुनै उदेकलाग्दो र असम्भव देखिँदैन ।
भाजपाले दुनियाँको जुनसुकै कुनामा आफ्नो प्रभाव विस्तार गरोस्, त्यो उसको कुरा हो । मात्र हामी कुनै पनि विदेशी दल वा नेताको पिछलग्गु हुनुभएन ।
सबैलाई थाहा छ ‘भारतीय जनता पार्टी’ नामबाट नेपाली भूमिमा कसैले कुनै गतिविधि गर्न पाउँदैन । यस्तो अवस्थामा हामी आवश्यकताभदा बढी चिन्तित, भावुक वा प्रतिक्रियावादी हुनु राजनीतिक अज्ञानता प्रस्तुत गर्नुसरह हो । दुई कार्यकालदेखि लगातार सत्तामा रहेको भारतीय जनता पार्टीको मुख्य मार्गचित्र भनेकै हिन्दु गणतन्त्र हो । त्यसबाहेक धर्मलाई अफिम मान्ने कम्युनिस्टहरूविरुद्ध निरन्तर सङ्घर्ष गर्दै आएको पार्टी पनि हो भाजपा । पछिल्लो समय यसले आफ्नो मूल सिद्धान्तसँग मिल्दोजुल्दो कुनै पार्टी नेपाली मूलधारमा देखेको छैन । जनता समाजवादी पार्टीसँग थोरै निकट मानिएको भाजपा यहाँ पनि पूर्व–कम्युनिस्टहरू बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राईहरू अग्र वरियतामा आएपछि हच्किएको छ ।
विडम्बना के छ भने अहिले नेपालमा भएका सबै प्रमुख पार्टी भारतीय जनता पार्टीनिकट हुन खोजेको आरोप खेप्दै आएका छन् । भाजपा भने कुनैलाई पनि आफ्नो ठान्दैन । यस्तो पृष्ठभूमिमा भाजपाले दुनियाँको जुनसुकै कुनामा आफ्नो प्रभाव विस्तार गरोस्, त्यो उसको कुरा हो । मात्र हामी कुनै पनि विदेशी दल वा नेताको पिछलग्गु हुनुभएन । स्वाभिमानी भएर आफ्नो ठाउँमा दह्रो गरी खुट्टा टेके कुनै विदेशी पार्टी वा कसैले नेपालीको रौँ हल्लाउन सक्दैन ।