birat ribon

शिक्षकलाई तलब नदिएको भन्दै विद्यार्थी आन्दोलनमा

Neuro
शिक्षकलाई तलब नदिएको भन्दै विद्यार्थी आन्दोलनमा

लहान / आफूलाई पढाउने शिक्षकलाई तलब दिलाउन विद्यार्थी आन्दोलनमा उत्रेका छन् । विद्यार्थीहरूले शिक्षकलाई तत्काल तलब दिनुपर्ने भन्दै स्कुलमा तालाबन्दी गरिदिएका छन् ।

cura insider

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा शिक्षकको तलबका लागि विद्यार्थीले तालाबन्दी गरेका हुुन् । तालाबन्दीका कारण विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

एक वर्षदेखि आफ्ना शिक्षकले तलब नपाउँदा समस्यामा परेको भन्दै विद्यार्थीले आफ्नै विद्यालय र वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । निजी स्रोतमा कार्यरत विद्यालयका चार शिक्षकले गत चैत महिनादेखि तलब सुविधा नपाएको भन्दै शिक्षकले पठनपाठन बन्द गरेपछि विद्यार्थीले पनि शिक्षकको समर्थनमा तालाबन्दी गरेको कक्षा १० मा अध्ययनरत अन्सु यादवले जानकारी दिए ।

कोभिड–१९ का कारण गरिएको लकडाउनपछि विद्यालय खुले पनि तलब नपाएको भन्दै शिक्षकले पठनपाठन नगराउँदा आफूहरूको पठनपाठन प्रभावित भएको विद्यार्थीले बताए । विद्यार्थीले आफ्ना शिक्षकलाई तत्काल तलब उपलब्ध नगराए गाउँपालिका कार्यालयमै तालाबन्दी गर्ने चेतावनीसमेत दिएका छन् । तालाबन्दीका कारण विगत तीन दिनदेखि विद्यालयको पठनपाठन अवरुद्ध भएको छ ।

विद्यालयले लामो समयसम्म तलब नखुवाउँदा घरखर्चसमेत चलाउनै समस्या भएको विद्यालयमा निजी स्रोतबाट कार्यरत शिक्षक शिवनारायण यादवले बताए । यता विद्यालयका निमित्त प्रधानाध्यापक अरुणकुमार यादवले शिक्षकको तलबका विषयमा गाउँपालिकालाई पटक–पटक लिखित अनुरोध गर्दा पनि कुनै सम्बोधन नभएका गुनासो गरे ।

लक्ष्मीपुर पतारी–५ का वडाध्यक्ष महेन्द्र साहले शिक्षकलाई तलब खुवाउने विषयमा गाउँपालिकासँग समन्वय भइरहेको र चाँडै शिक्षकलाई तलब खुवाउने जानकारी दिए । कक्षा १ देखि १० सम्म पठनपाठन हुने सो विद्यालयमा आठ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । रासस

jackson ribon