birat ribon

विराटनगरको ट्राफिक व्यवस्थापन : मदिरा पसलको पार्किङ व्यस्त सडकमा

दुर्घटनको जोखिम उच्च

Neuro
विराटनगरको ट्राफिक व्यवस्थापन : मदिरा पसलको पार्किङ व्यस्त सडकमादुर्घटनको जोखिम उच्च

मोहन ढकाल

विराटनगर / प्रदेश १ को राजधानी विराटनगरको कोसी राजमार्ग र भित्री सडकको दायाँबायाँ जताततै रक्सी (मदिरा) पसल छन् । व्यस्त सडकमा रहेका मदिरा पसलमा आउने ग्राहकले सवारीको पार्किङ सडकमै गर्छन् । व्यस्त सडकमा हुने अव्यवस्थित पार्किङले ट्राफिक जामसँगै दुर्घटनाको जोखिम पनि बढाएको छ ।

cura insider

राजमार्गमा खुलेका मदिरा पसल र मेन रोडमा सञ्चालन रहेका पसलको छुट्टै पार्किङ नहुँदा पैदलयात्रीले पनि समस्या भोगिरहेका छन् ।

विराटनगरमा महानगरपालिकाले पार्किङको व्यवस्थापन गर्न सकेको छैन । जसका कारण सडकमै पार्किङ गर्नुपर्ने बाध्यता छ । विराटनगर बजार क्षेत्रमा दिउँसो र राजमार्गछेउमा खुलेका मदिरा पसलअगाडि साँझको समयमा पार्किङ बढी हुन्छ ।

पसलले पनि पार्किङमा चासो नदिँदा दुर्घटनाको जोखिम उच्च छ । अव्यवस्थित पार्किङका कारण पैदल यात्रीले सडक पेटीमा हिँड्नसमेत पाउँदैनन् । ‘पैदल यात्रा गर्दा पनि जोखिम मोलेर हिँड्नुपर्छ ।’ पैदलयात्री कृष्ण माझीले भने, ‘हिँड्नलाई सडक पेटी बनेको छैन, पार्किङका कारण सडकबाटै हिँड्नु पर्ने बाध्यता छ ।’

राजमार्गमा सवारीसाधनको अत्यधिक चाप रहेको बताउँदै उनले ओभरटेकका कारणले थप जोखिम बढाएको बताए । सडकमा हुने अव्यवस्थित पार्किङले व्यापार–व्यावसायमा पनि समस्या हुने गरेको विराटनगरका व्यापारी आरिफ इराकी बताउँछन् । ‘सडकको अव्यवस्थित पार्किङले व्यापार–व्यवसायमा समेत समस्या छ,’ उनले भने, ‘अझ मदिरा पसलअगाडि गरिने पार्किङले समस्या निम्त्याउँछ ।’

सडकमा हुने अव्यवस्थित पार्किङका कारण साइकलयात्री पनि पीडित छन् । ‘रफ्तारमा गाडी चलिरहेका हुन्छन्, त्यसमाथि ओभरटेक गर्छन्,’ साइकलयात्री पवन परियार भन्छन्, ‘सडकछेउमा पार्किङ हुन्छ, पार्किङले साइड दिन नै समस्या हुन्छ ।’ बजारका पसल र मदिरा पसलअगाडि पार्किङका लाम लाग्छ ।

पार्किङको समस्याले दुर्घटनाको जोखिम बढेको ट्राफिक प्रहरी कार्यालय मोरङका इञ्चार्ज प्रहरी निरीक्षक चन्द्र खड्का बताउँछन् । सबै सडक निर्माण सम्पन्न नभएका कारण समस्या बढेको उनले बताए ।

‘सडकमा एकतर्फी पार्किङको व्यवस्था गरेका छौँ, तर धेरैले अटेर गरेको अवस्था पनि छ,’ उनले भने, ‘व्यवसाय सञ्चालन गर्नेले पार्किङको व्यवस्था गर्नुपर्ने हो तर यसमा कसैले ध्यान दिएका छैनन् ।’

बजारको परिस्थिति हेरेर सवारी आवागमनलाई असन नपर्ने गरी पार्किङ गर्न दिइएको उनको भनाइ छ । तर पार्किङ हुने साइडका व्यापारीले व्यावसायमा असर गरेको गुनासो गर्दै आएको उनले बताए ।

विराटनगरको अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्न चुनौती रहेको खड्काले बताए । यात्रुवाहक सवारीसाधनले जताततै रोकेर यात्रु ओराल्ने र चढाउने गरेको बताउँदै खड्काले भने, ‘सडक निर्माण हुँदा नै बस पकेट क्षेत्र बनाउनु पर्ने हो तर सडक त्यसरी निर्माण भएको छैन ।’ ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्न सर्वसाधारणले पनि चासो दिनुपर्ने उनले बताए ।

jackson ribon