birat ribon

प्रहरीलाई छलेर भागेका दुई थुनुवा अझै भेटिएनन्

Neuro
प्रहरीलाई छलेर भागेका दुई थुनुवा अझै भेटिएनन्

विराटनगर / खाजा खाने बहाना बनाएर जिल्ला अदालत मोरङको क्यान्टिन (खाजा घर) बाट फरार बनेका लागुऔषध मुद्धाका दुई थुनुवा अझै फेला परेका छैनन् ।

उनीहरु भारततिर भागेको हुनसक्ने प्रहरीको आशङ्का छ । प्रहरीले खोजी तीव्र पारिएको जनाए पनि भागेको दुई दिनसम्म उनीहरु भेटिएका छैनन् । मोरङको कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मुुराज भनिने मनराज शेख र झापाको बिर्तामोड नगरपालिका–५ का २० वर्षीय प्रकाश चौधरी सोमबार दिउँसो ३ः३० बजेतिर प्रहरीलाई छलेर भागेका थिए । लागुऔषध मुद्दामा म्याद थप गर्न अदालत लगिएका दुवै जना पाँच÷पाँच दिनको म्याद थप भइसकेपछि हतकडीसहित फरार बनेका हुन् ।

cura insider

सबैतिर नाका सिल गर्दै विभिन्न प्रहरी कार्यालयलाई जानकारी गराएर भागेका थुनुवाको खोजी तीव्र पारिएको भए पनि फेला पार्न नसकिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । उनका अनुसार भागेकामध्ये एक जनाको हातमा हतकडी थियो ।
फरार भएकामध्ये शेख ब्राउन सुगर (खैरो हेरोइन)सहित कटहरी र चौधरी अन्य प्रकृतिका लागुऔषधसहित विराटनगरको बरगाछीबाट आइतबार पक्राउ परेका थिए ।

दुवै जनाविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दामा अनुसन्धान अघि बढाउन प्रहरीले म्याद थप गर्न उनीहरुलाई सोमबार एउटै हतकडी लगाएर अदालत लगेको थियो । अदालतले म्याद थप गर्दै अनुसन्धानका लागि अनुमति दिइसकेपछि फर्काएर प्रहरी कार्यालय ल्याउने तयारी हुँदै गर्दा झुक्याएर दुवै जना फरार भएको जानकारी डीएसपी राईले दिए । म्याद थप भएपछि उनीहरुले चियानास्ता गर्ने बहाना बनाएका थिए । त्यसपछि अदालत परिषरमै रहेको क्यान्टिनमा प्रहरीले उनीहरुलाई पु¥याएको थियो ।

खाजा खाइरहेका उनीहरु केही बेरमा हेर्दा त्यहीँबाट फरार भइसकेको पाइएको स्रोतले बतायो । दुई जनामध्ये एक जनालाई खुला छाडिएको थियो भने अर्का थुनुवाको हातमा हतकडी थियो । हातमा रहेको हतकडी लिएरै थुनुवा भागेका हुन् । थुनुवालाई क्यान्टिनमा खाजा खाने व्यवस्था गरे पनि निगरानी नगर्दा प्रहरीकै लापरबाहीका कारण दुवै जनाले भाग्ने मौका पाएको बताइएको छ । गम्भीर प्रकृतिको घटनाका थुनुवा भाग्नुलाई प्रहरीको लापरबाहीका रुपमा लिएर अनुसन्धान थालिएको डीएसपी राईले बताए ।

थुनुवा भागेको घटनाको घटनास्थल मुचुल्का प्रहरीले उठाइसकेको छ । म्याद थप गर्न लिएर जाने केही प्रहरीमाथि छानबिन र अनुसन्धान भइरहेको राईले बताए । उनका अनुसार म्याद थप गर्नका लागि थुनुवा लिएर जाने र लापरबाही गर्ने केही प्रहरीलाई नियन्त्रणमा लिएर घटनाको सोधपुछ तथा छानबिन थालिएका कारण सबै वास्तविकता पछि सार्वजनिक गरिने छ ।

‘विशेष समिति नै बनाएर घटनाको छानबिन एवं अनुसन्धान अघि बढाइएको छ,’ राईले भने, ‘सबैतिर नाका सिल गरेर फरार भएकाहरुको खोजी पनि तीव्र पारिए पनि फेला पार्न सकिएको छैन ।’ डीएसपी राईका अनुसार दुवै जना कतातिर र कसरी भागे भन्ने यकिन भइसकेको छैन ।

jackson ribon