birat ribon

बास्तोला मृत्यु प्रकरण : चर्कदैँ आन्दोलन

Neuro
बास्तोला मृत्यु प्रकरण : चर्कदैँ आन्दोलन

विराटनगर / मोरङको उर्लाबारीका एक युवाको शङ्कास्पद मृत्यु प्रकरणमा दोषीलाई उन्मुक्ति मिल्ने गरी प्रहरीले घटनालाई बङ्ग्याउन खोजेको आरोप लगाउँदै आफन्त र परिवारका सदस्यले आन्दोलन चर्काएर लगेका छन् ।

प्रहरीले भने मजवुत ढंगबाट प्रमाण संकलन गर्दै अनुसन्धान जारी राखेर घटनाकोे वास्तविकता पत्ता लगाउने प्रयास भइरहेको जानकारी दिएको छ । प्रहरीले अनुसन्धानलाई प्रभावकारी बनाइएको दाबी गरिरहँदा विश्वास गर्ने आधार नभएको भन्दै आफन्त र परिवारका सदस्य भने आन्दोलनलाई एउटा निस्कर्षमा पुर्याउने मुडमा देखिएका छन् ।

cura insider

आन्दोलन सुरु भएसँगै उर्लाबारी नगरपालिका– ५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरण थप पेचिलो बनेर गएको छ । मृतकका आफन्त र परिवारका सदस्यले मंगलबार विराटनगरमा आएर प्रदर्शन गरे । उनीहरुले आइतबार र सोमबार दुई दिनसम्म इलाका प्रहरी कार्यालय उर्लाबारी घेराउ गर्दै नाराबाजी र प्रदर्शन गरेका थिए ।

उर्लाबारीमा भएको छलफल निस्कर्षविहीन बनेपछि दुईवटा बस रिजर्ब गरेर उनीहरु विराटनगर आएका हुन् । प्रवीणका नातामा दाजु सन्तोष बास्तोलाले भाइको हत्या नै भएको दाबी गर्दै प्रहरीले फितलो अनुसन्धान गरेर घटनालाई कमजोर रुपमा प्रस्तुत गरिदिँदा दोषीहरु छुटेको बताए । हत्यामा संलग्नै प्रहरीको लापरबाहीले बिना कारबाही छुटेपछि न्याय माग्दै विराटनगर आउनु परेको उनको भनाइ छ ।

विराटनगर आएका आफन्त र परिवारका सदस्यले घटनामा मुद्दा नचल्नुको कारण बारे जिल्ला सरकारी वकिल कार्यालय, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा पुगेर बुझेका छन् । प्रहरीले हत्यामा संलग्नलाई उन्मुक्ति दिन मिसिलमा फोटो परिवर्तन गरेको आरोप आफन्तको छ । अघिल्लो रात साथीभाइसँग होटलमा खानपिन गरेर उर्लाबारी–६ का रमेश गिरीको घरमा डेरा गरेर बसेका साथीको कोठामा प्रवीण सुत्न गएका थिए । आफन्त र परिवारका सदस्यले अस्पतालमा उनको शव पाए । सुतेकै ठाउँमा बेहोस भएको भन्दै उपचारका लागि गोदावरी अस्पताल पु¥याएपछि उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

तर परिवारका सदस्यले भने हत्या भइसकेपछि उपचारको बहानामा अस्पताल लगिएको दाबी गरिरहेका छन् । प्रहरीले यसको अनुसन्धान मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले तत्काल मुद्दा चलाउन प्रमाण नपुग्ने भन्दै घटनाका बारेमा थप प्रमाण संकलन गरेर मुद्दालाई मजवुत बनाउन प्रहरीलाई निर्देशन दिएको थियो । त्यसपछि घटनामा प्रतिवादी बनाइएका उर्लाबारी–६ का ३१ वर्षीय राजेश रणपहेली, दीपेश पौडेल र शिवा भनिने मेहरमान दर्जी माघ २ गते हाजिरजमानी छुटे ।

जिल्ला न्यायाधीवक्ता मनोज आचार्यले पक्राउ परेकाहरुलाई कानुन अनुसार नै २५ दिन हिरासतमा राखेर अनुसन्धानपछि छाडिएको जानकारी दिए । अनुसन्धानको मिसिलमा मृतकको ठाउँमा अर्कै व्यक्तिको फोटो राखिएको भनेर आफन्त र परिवारका सदस्य आन्दोलित बनेको पाइए पनि वकिल कार्यालयमा रहेको मिसिलका दुईवटा फोटा भने मृतककै रहेको उनको भनाइ छ । गलत नियत राखेर अनुसन्धानलाई प्रभावित पार्ने कुनै काम नभएको निस्कर्ष वकिल कार्यालयको छ ।

आचार्यका अनुसार कुनै घटनाको अनुसन्धानको मिसिल बुझाएपछि प्रहरीले त्यसको कपि लिएर जान्छ । त्यही प्रहरीले लगेको मिसिलभित्र कुनै अर्को मृतकको फोटो च्यापिएर रहेको देखेपछि आफन्त र परिवारका सदस्य आन्दोलित बनेको पाइएको आचार्यको भनाइ छ । अहिलेसम्म अनुसन्धानबाट खुलेका विषयलाई समेटेर अभियोगपत्र तयार पार्दै वकिल कार्यालयले अदालतमा दर्ता गरेर मुद्दाको रुपमा घटनालाई अघि बढाउने तयारी गरिरहेको उनले बताए ।

मिसिलमा प्रहरीले समावेश गरेका दुवै फोटो मृतककै रहेको र अनुसन्धानको अन्य पाटोमा पनि कुनै लापरबाही नदेखिएको आचार्यको भनाइ छ । प्रहरी कार्यालयमा रहेको मिसिलमा तीनवटा फोटो रहेको र एउटा अर्कैको परेपछि आफन्त तथा परिवारका सदस्य आन्दोलित बनेका हुन् । आचार्यले प्रहरी कार्यालयमा रहेको भन्दा पनि वकिल कार्यालय र अदालतमा रहेको मिसिललाई आधिकारिक मान्नु पर्ने बताए ।

घटनाको छानबिन गर्नका लागि मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईको नेतृत्वमा समित बनेको छ । अर्का डीएसपी लोकदर्शन थापाले घटना अनुसन्धानमा प्रहरीले बद्मासी गरेको अहिलेसम्म नपाइएको र छानबिनबाट लापरबाही पुष्टि भएर कारबाही अघि बढाइने जानकारी दिए । पोस्टमार्टमदेखि लिएर फरेन्सिक रिपोर्टसम्मले हत्या भएको भन्ने नदेखाएको उनको भनाइ छ । प्राप्त रिपोर्टले निसास्सिएका कारण श्वास फेर्न गाह्रो भएकाले मृत्यु भएको देखाएको र अहिलेसम्म हत्या भएको कहीँबाट पनि पुष्टि नभएको जानकारी डीएसपी थापाले दिए ।

मृतककी बहिनी सदीक्षाले प्रहरीमा रहेको मिसिल हेर्दा मृतकको फोटो नै परिवर्तन भएको भेटेपछि आन्दोलन गर्नु परेको बताइन् । न्याय मार्ने काम प्रहरीबाट भएको आरोप लगाउँदै उनले जतिसक्दो चाँडो अपराधीलाई कारबाही गर्नुपर्ने माग उनले राखेकी छन् । अपराधीलाई संरक्षण गरेको लगायतका आरोप लगाएर प्रहरीविरुद्ध चर्को आवाज उठाउँदै उनले सामाजिक सञ्जालमार्फत आन्दोलनको लाइभ गरेकी थिइन् । उनले प्रहरीको भूमिकाप्रति आक्रोस पोखेकि छन् ।

तर प्रहरीले भने वास्तविकता नबुझिकन आन्दोलन गरिएको र सामाजिक सञ्जालमार्फत घटनाको अनर्गल प्रचार गरिएको भन्दै ध्यानआकर्षण भएको जनाएकोे छ । गलत हल्लाले घटना मोडिन सक्ने भन्दै प्रहरीले शान्त रहन, हुलहुज्जत नगर्न, गहन ढंगले अनुसन्धान गर्न दिन र वास्तविकता बुझ्न आफन्तलाई आग्रह गरिरहेको छ । आन्दोलनका नाममा प्रहरीमाथि तथानाम गाली गलौज गर्ने काम हुन थालेपछि प्रहरीले विज्ञप्ति सार्वजनिक गरेर ध्यानआकर्षण भएको जनाएको हो ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले अहिलेसम्म हत्या भन्ने पुष्टि नभए पनि यथार्थ पत्ता लगाउँदै दोषी उम्कन नसक्ने हिसाबले घटनाको अनुसन्धान भइरहेको बताए । प्रहरी कार्यालयमा भएको कपि मिसिलभित्र अर्कै मृतकको फोटो च्यापिएर रहेको कुरालाई आन्दोलनको विषय बनाइएको उनले स्पष्ट पारेका छन् ।

‘यदि प्रहरीको बद्मासी नै भन्ने लाग्छ भने सरकारी वकिल कार्यालयमा रहेको सक्कली मिसिल हेर्दा हुन्छ । त्यहाँ मृतकको नभइ अर्कैको फोटो रहेछ भने जे पनि कारबाही भोग्न तयार छु,’ पोखरेलले भने, ‘सबैले घटनाको यथार्थ बुझिदिएर प्रहरीलाई स्वतन्त्रपूर्वक अनुसन्धान गर्न दिँदा मात्रै वास्तविकता पत्ता लगाउन सकिन्छ । त्यसपछि मात्रै घटना हत्या हो या हैन भन्ने यकिन हुन्छ ।’ घटनामा गलत वा लापरबाही गर्ने मनसाय नरहेका कारण प्रहरीमाथि कुनै पनि शंका नगर्न उनले आग्रह गरेका छन् ।

मृतकका आफन्तसँगको भेटमा प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले यस विषयमा छानबिन सुरु भइसकेका कारण घटनामा लापरबाही देखिए प्रहरीमाथि कारबाही हुने बताए ।
‘सरकारी वकिल कार्यालय लगायत सम्बन्धित निकायमा प्रहरीले मिसिल बुझाइसकेको छ । अब अनुसन्धानको बाँकी काम पनि अघि बढ्छ,’ मृतकका आफन्तलाई उनले भने, ‘धेरै मिसिल एकै ठाउँमा राख्ने क्रममा अर्कै घटनाको फोटो च्यापिएर मृतक युवाको मिसिलमा बसेको पनि हुनसक्छ । घटनालाई सबै कोणबाट हेर्ने काम भइरहेकाले न्याय मर्छ भन्ने शंका गर्न हुँदैन ।’

jackson ribon