birat ribon

सर्वोच्चको फैसलापछि देश कतातिर जाला ?

Neuro
सर्वोच्चको फैसलापछि देश कतातिर जाला ?
पेशल आचार्य

अन्ततः सर्वोच्च अदालतले जनताले कल्पना गरेकैतर्फ फैसलालाई मोडेको छ । सरकार गठनका सम्भावनाहरू रहँदारहँदै बहुमतको होस् या अल्पमतको जुनसुकै प्रधानमन्त्रीले पनि संसदमा सरकार गठनका सम्भावना हुँदासम्म संसद् विघटन गरेर चुनावमा जान पाउने सम्भावनालाई नकार्दै संसद् पुनर्स्थापना गर्ने ऐतिहासिक फैसला गरेको छ ।

राजनीतिमा चासो राख्ने मानिसहरूले भनेझैँ सोझो भाषामा भन्दा यो फैसलाको चुरो कामचलाउ प्रधानमन्त्री खड्गप्रसाद ओलीको हार र प्रचण्ड तथा माधव नेपाल गुटको जित पक्कै होइन । यसमा नेपालीहरूको रगत पसिनाको ७० वर्षको लगानी परेको छ ।

cura insider

केही गरी सम्मानित सर्वोच्च अदालतले संसद् पुनर्स्थापना नहुने र मध्यावधि चुनाव हुने फैसला गरेको भए यो संविधानको आयु केवल पाँच वर्षको मात्र रहन्थ्यो भने नेपाली जनताले हिजो राणा शाहीको अन्त्यको बेलादेखि नै मागिआएका संविधानसभाबाट संविधान बनाउने र त्यसका आधारमा देशमा गणतन्त्रात्मक शासन व्यवस्थालाई फलाउने फुलाउने कल्पनाको समेत समूल हत्या हुन्थ्यो ।

राम्रो कुरा सो भएन । तर फैसलाले सबै राम्रो मात्र कुरा ग¥यो भनेर भन्नु सर्वथा गल्ती हुनेछ । यस फैसलाले भोलिका दिनमा निम्त्याउने खतराहरूलाई पनि अहिलेदेखि नै हामीले चिन्नुपर्छ ।
नेपालमा जतिसुकै दह्रो बहुमतको सरकार भए पनि त्यसलाई छिन्नभिन्न बनाउनका लागि अनेक ताल तिकडमहरू सफल हुँदा रहेछन् भन्ने चित्रहरू पनि बाहिर आएका छन् ।

भोलि हुन सक्ने खतराहरू

१. मानिसहरूले अनुमान गरेँझैँ यो अहिलेको सिनेरियो एकै दिन र एकै छिनमा आएको ओइन । यदि त्यो कसैले हो भन्छ भने उसले महान् गल्ती गरेको ठहर्छ । भारतीय खुफिया एजेन्सीका मुखिया सामन्तकुमार गोयल नेपालको दुईदिने भ्रमणमा आएपछि नेपाली राजनीतिको पानी धमिलिन सुरु भएको हो ।

नेकपा ओली गुटका मानिसहरू त्यो कुरा मान्न रत्तिभर तयार छैनन् । समयले देखाएको बाटो सिधै त्यतैतर्फ मोडिएको छ । भोलिका दिनमा यसले नेपाली राजनीतिक परिदृश्यहरू अस्थिर र गतिशील रहने कुरालाई पनि देखाइदिएको छ ।

अब फेरि टेस्टेड नेताहरूले नै पालैपालो दाइँ गर्ने दिन आउने पक्का भएका छन् । हामी जनताको चाहना भने अनटेस्टेड राजनीतिज्ञको खाँचो महसुस भएको थियो तर परिवेशले फेरि उही प्रचण्ड, तिनै माधव नेपाल, यिनै झलनाथ खनालको पालो आउने देखियो ।

नेपालमा चाइनिज चासो केवल आफ्नो व्यापारिक फाइदाका लागि मात्र रहेको तर भारतीय चासो सर्वत्र अस्थिरता निम्त्याउनका लागि रहेको चुरोसमेत देखिएको छ । नेपाली राजनीतिमा भारतीयहरूको सफलतालाई यो फैसलाले समेत अझ पुष्टि गरिदिएको छ । जुन कुरा भोलिका दिनमा एकपछि अर्को गर्दै प्रमाणित भइदिनेछन् ।

२. नेपाली राजनीतिका नेताहरू यतिसम्म गिर्न र फोहोरी भाषण गर्न सक्दा रहेछन् भन्ने कुरा यसपटक भएको प्रतिनिधिसभाको विघटनपछिका आमसभाहरूमा ओली र प्रचण्डले दिएका भाषणहरूबाट देखिए । यी दुवै शीर्ष नेताहरू आफ्ना चम्चाहरूका अघि त देवता नै लाग्ने भइहाले तर आम जनता, यिनीहरूलाई भोट र अभिमत नसुम्पने लेम्यान र बाहिर बसेर यिनीहरूलाई मूल्याङ्कन गर्नेहरूका अघि भने यिनीहरू दुई कौडीका नेताहरू पनि नलाग्ने भएका छन् । यो कुरा यिनीहरूलाई कुरीकुरी हुनुपर्दथ्यो तर भएको देखिएन ।

भोलि परिस्थितिले यिनीहरूलाई फेरि एक ठाउँमा ल्याएर राख्ने/मिल्ने परिवेश खडा भयो भने यिनीहरू के गर्लान् अहिले जनता यिनै कुराहरू सोचिरहेका छन् ।

३. अब फेरि टेस्टेड नेताहरूले नै पालैपालो दाइँ गर्ने दिन आउने पक्का भएका छन् । हामी जनताको चाहना भने अनटेस्टेड राजनीतिज्ञको खाँचो महसुस भएको थियो तर परिवेशले फेरि उही प्रचण्ड, तिनै माधव नेपाल, यिनै झलनाथ खनालको पालो आउने देखियो । ‘प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ,’ फैसलालाई स्वागत् गर्दै प्रचण्डले भनेका छन् । त्यसैगरी गगन थापाले अझ कडा भाषाको प्रयोग गर्दै भनेका छन्, ‘संविधानमाथि अपराध गर्नेहरूलाई दण्ड दिनुपर्छ ।’
यसरी विपक्षका नेताहरूले जेजसरी ओलीलाई आरोप लगाए पनि यिनीहरू पनि हाम्रै समाजका उपज हुन् । हामीले विगत्मा यिनीहरूले गरेका धेरै कामहरू सूक्ष्म रूपले हेरिसकेका छौँ ।

अदालतले अहिले संसद पुनर्स्थापना गर्‍यो भनेर यी नेताहरूले फूर्ती लगाउनै पर्दैन । यिनीहरूलाई नेपाली जनताले भलिभाँती चिनेका छन् ।

यिनीहरू को कति पानीमा छन् ? कसको कति हुति र ह्याउ कति छ भन्ने कुरा यिनीहरूले भन्नै पर्दैन । जनताको विशुद्ध चाहना त फेरि पनि यिनै पुरानै नेताहरूका हातमा लगाम दिने मनशाय थिएन । जनताले त नयाँ शासन व्यवस्थाका लागि नयाँ र अनटेस्टेड नेताहरूको चाहना गरेका थिए ।

पुरानाबाट पुरानै कुरा आएर जनता दिक्क भएका छन् । यद्यपि नेपाली काङ्ग्रेसका गगन थापाको सोच, विचार र प्रकल्पनाहरू चाहिँ पुरातन छैनन् । यिनी भविष्यका प्रधानमन्त्री हुन् भनेर धेरैले चित्रण गरिसकेका छन् । आगे त्यो भविष्यको जिम्मामा छाडिदिऊँ ।

४. घुमिफिरी रुम्झाटार भनेझैँ हामी फेरि २०५२ साल तिरको घिनलाग्दो संसदीय राजनीति र सांसद खरिद–बिक्रीको मोडमा आइपुगेका छौँ । यतिखेर साना पार्टीहरू थ्रेसहोल्डका कारण संसदमा निर्दलीय अनुहारमा मात्र छन् । संसदमा नेकपा, काङ्ग्रेस र जसपामात्र संसदीय पार्टीका रूपमा देखिएको यो सिनेरियोमा फेरि भारत अर्कोपटक सरकार गठन र विघटनका लागि सांसदहरूलाई किनाउन र बेचाउनका लागि लागि पर्दैन भनेर केही ग्यारेन्टी गर्न सकिँदैन । नेपाली राजनीतिज्ञहरूको कन्दनी जनताले करिब २० वर्षदेखि छामिसकेका छन् ।

त्यसैले नाक घोक्य्राउनै पर्दैन कि यो संसद् स्थापना हुने फैसलाले नेपाली जनताको मात्रै भलाइ नै भलाइ गर्छ भन्ने कुराहरू । यो त्यस्तो घटना हो जसलाई बुद्धि पु¥याइयो भने संसदीय इतिहासमै न भूतो न भविष्यति हुने क्षमता राख्छ । बुद्धि पुर्‍याउन सकिएन भने यसले नेपाली राजनीति र राजनीतिज्ञको दुर्दिनको सुरुवातसमेत गर्नेछ ।

अहिलेलाई यही एउटा भनाइलाई सापट लिएर बाँकी भविष्यकै पोल्टामा छाडिदिऊँ । चीन भनेको बहिरो बेपारी जो कानमा एयरफोन लगाएर मस्तसँग गीत सुनी आफ्नो काम गरिरहन्छ तर भारत त्यो चतुर बनियाँ हो जो आफ्नो तराजुको पल्ला भारी पार्नका लागि पल्लाको तलपट्टि चुम्बक राखेर बसेको हुन्छ ।

परिस्थिति गतिशील भएकाले यहाँभन्दा धेरै नभनौँ । ‘आगे आगे देखो होता है क्या ?’ नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भनेको कुरामा कतिको दम रहेछ ‘सम्मानित अदालतमा रहेको मुद्दाका बारेमा केही बोल्नै पर्दैन । हामीसँग आन्दोलन गर्न पैसा छैन ।’

वाह ! चतुर राजनीतिक खेलाडी देउवाजी तिम्रा व्यञ्जनापरक अभिव्यक्ति अझै पूरापूर स्पष्ट भइसकेका छैनन् । देशलाई कतातिर लैजाने हो परिस्थितिले त्यो त्यसै भन्न सकिने स्थिति छैन ।
तर एउटा कुरा भने स्पष्ट भइसक्यो ओलीले तीन महिने प्रतिगमनमा आफ्नो हातमा लिएर नेता र उनले भर्ती गरेका कर्मचारीहरूको भने झरीले भिजेको मुसाको चाल हुने भो । यो चाहिँ सारै नजाति देखिने हो कि ?

jackson ribon